आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि आजै

  • भदौ ७, २०८२ | ५५३ पटक पढिएको | सीमा संदेश
alt

 प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ । 

पितृसम्मान 
यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो छ ।

मन्दिरमा लाग्ने मेलाका सबै तयारी गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिए । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्ने गर्छ । बेत्रावतीमा पनि पिता दिवङ्गत भएका तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् ।

‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । अरू दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।


 
 

‘स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।’

धर्मशास्त्रमा भनिएको छ कि नुहाउँदा, जप गर्दा, स्नान गर्दा, दान, स्वाध्याय, पाठ–पूजा र पितृकार्य जस्ता सबै धार्मिक कर्महरू कुशको प्रयोगबिना अपूर्ण वा निष्फल मानिन्छन् ।

 

यस वर्ष भाद्र कृष्ण अमावस्यामा पर्ने कुशेऔंशी यही २०८२ साल भाद्र ८ गते शनिबार परेको छ । यसै दिन मोतीराम भट्टको जयन्ती पितृ सम्मान दिवस (बुबाको मुख हेर्ने दिन) पनि परेको छ ।

कुशको औषधीय र आध्यात्मिक लाभ

 

‘नास्य केशान् प्रवपन्ति, नोरसि ताऽमानते ।’ (देवीभागवत १९-३२)
कुशको माला शिरमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ ।

उच्च रक्तचाप (बीपी) पनि नियन्त्रणमा रहन्छ भन्ने शास्त्रीय मान्यता छ ।

कुशको औंठी (पवित्र) को प्रयोग

धार्मिक कार्य गर्दा अनामिका (साइँली) औंलामा कुशको औंठी लगाउने परम्परा छ । यस औंला सूर्यको स्थान मानिन्छ— जसबाट तेज, शक्ति र यश प्राप्त हुन्छ । पूजा गर्दा अन्य औंलाले व्यवधान नपु¥याओस भनेर पवित्रको प्रयोग गरिन्छ ।

‘यथा बज्रं सुरेन्द्रस्य यथा चक्रं हरेस्तथा ।
त्रिशूलं च त्रिनेत्रस्य तथा विप्र पवित्रकम् ।।

जसरी इन्द्रको रक्षा बज्रले, विष्णुको सुदर्शन चक्रले र शिवको त्रिशूलले गर्छ, त्यसरी नै ब्राह्मणको रक्षा पवित्रक (कुशको औंठी) ले गर्छ भन्ने विश्वास छ ।

अशुभ शक्तिबाट सुरक्षा

शुभ कार्यको शुरुआत गर्दा अनेक प्रकारका बाधा वा असुर शक्तिको प्रभाव हुनसक्छ । त्यसैले ः ब्राह्मणद्वारा अभिमन्त्रित कुशको औंठी लगाउँदा धार्मिक कार्यमा हुने सम्भावित बिघ्न र अनिष्ट शक्तिबाट सुरक्षा मिल्दछ ।

कुश उखाल्ने विधि

‘विरञ्चिन सहोत्पन्न परमेष्टि निसर्जन ।
नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव ।।’
ॐ हूँ फट् ।

अर्थात् हे कुश! तिमी ब्रह्मासँगै यज्ञ–अनुष्ठानका लागि उत्पन्न भएका हौं । तिमीले कर्ताका सबै पाप हरण गर र यजमानको घरमा स्वस्ति र शान्तिको वातावरण बनाऊ ।

कुश सजगता र मन्त्रसहित ब्राह्मणद्वारा उखाल्नु पर्दछ । त्यसपछि कुशलाई घरको पवित्र स्थानमा राखिन्छ, जसले समस्त अनिष्ट टार्छ र शान्ति ल्याउँछ ।

मृत्युकालमा कुशको प्रयोग

धर्मशास्त्र अनुसार रणासन्न व्यक्तिलाई तुलसीको मठमा, गाईको गोबरले लिपिएको स्थानमा तामाको भाँडामा गंगाजल राखी कुश ओछ्याएर गंगाजल पिलाएमा मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ ।

कुश केवल एक घाँस होइन, यो वैदिक परम्परामा पवित्रता, शक्ति र सुरक्षाको प्रतीक हो ।

धार्मिक दृष्टिकोणले मात्र होइन, शारीरिक र मानसिक स्वास्थ्यका लागि पनि यसको प्रयोग लाभदायक मानिन्छ । शुभ कार्यमा यसको प्रयोगले धर्मशास्त्र र परम्पराको पालन गर्दछ ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब