भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकामध्ये ट्रमा सेन्टरमा चार सिभिल अस्पतालमा दुई र काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा दुई र टिचिङ अस्पतालमा एक जना गरी ९ जना प्रदर्शनकारीको मृत्यु पुष्टि भएको हो।
सयाैं घाइते भएका छन् भने कयाैंको अवस्था चिन्ताजनक रहेको छ। मृतक सबैको रबरको गोली लागेर गम्भीर घाइते भएपछि उपचारका क्रममा ज्यान गएको अस्पताल स्रोतहरुले जनाएको छ।
सोमबार बिहान ९ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन, दिउँसो प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि हिंसात्मक बनेको थियो।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो भने पछि गोली समेत चलाएको थियो।
घटनाले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दिउँसो साढे १२ बजेदेखि नै काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। तर, कर्फ्यूका बाबजुद पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन रोकिएको छैन र अवस्था तनावग्रस्त छ।
हाल ट्रमा सेन्टर र सिभिल अस्पताल घाइतेहरूले भरिभराउ भएका छन्। घाइतेहरूको यकिन संख्या भने सार्वजनिक भइसकेको छैन।
जेन–जी प्रदर्शनका क्रममा प्रहरीकाे बल प्रयाेगबाट घाइते हुनेहरूको संख्या १३० भन्दा बढी पुगेको छ।
अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार घाइतेहरूको संख्या १३० भन्दा बढी पुगेको हो। त्यसमध्ये १० जना प्रहरी रहेका छन्।
घाइतेहरूको संख्या बढ्दो क्रममा रहेकाले सिभिल अस्पतालको अवस्था अस्तव्यस्त बनेको छ। अस्पतालले घाइतेहरू थेग्न नसकेपछि अन्य अस्पताल पठाउने तयारी गरेको छ। एम्बुलेन्ससमेत अपुग भएपछि अन्य अस्पतालहरूसँग एम्बुलेन्स मागेको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved