जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन् । उनले सबै कमिटीहरू भंग गरी विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने र त्यसैको जिम्मेवारीमा पार्टी सञ्चालन गर्ने योजना अघि सारेका हुन् । यस्तो प्रक्रियाले विशेष गरी युवाहरूको प्रतिनिधित्व र भूमिकालाई पार्टीको केन्द्रीय तहमा सुदृढ बनाउन मद्दत गर्ने प्रचण्डको भनाइ छ ।
आइतबार कोटेश्वरस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । यसका लागि केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने र पदाधिकारीसहित सबै सदस्य आयोजक समिति सदस्यका रूपमा रहने उनले प्रस्ताव गरेका हुन् ।
‘केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति समिति बनाउने प्रस्ताव भएको छ । महाधिवेशन आयोजक समितिको संयोजक अध्यक्ष हुनुुहुन्छ र बाँकी सबै सदस्य रहनुहुनेछ ।’ माओवादी प्रवक्ता अग्नि सापकोटाले भने । यसमाथि औपचारिक निर्णय केन्द्रीय कमिटीले लिने प्रवक्ता सापकोटाले बताए ।
महाधिवेशनबाट विचारको संश्लेषण गर्दै नीति र नेतृत्व चयन गरेर अगाडि बढ्ने उनले बताए । ‘अहिले जुन परिस्थिति सिर्जना भएको छ । यस्तो वेला औपचारिक–संस्थागत निर्णय गर्न महाधिवेशनमा जानुपर्ने भयो । त्यसैले, महाधिवेशन आयोजक समिति बनाएर जाने प्रस्ताव अध्यक्षबाट आएको हो,’ बैठकपछि प्रवक्ता सापकोटाले भने । पदाधिकारीमा पेस प्रस्ताव ८ असोजमा स्थायी समितिमा त्यसपछि ९ असोजमा केन्द्रीय समिति बैठकमा छलफल हुनेछ । केन्द्रीय कमिटी बैठकले निर्णय गरेपछि माओवादी महाधिवेशनमा होमिनेछ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचन गरेर अध्यक्षसहित पदाधिकारी छानिनेछन् ।
अब बन्ने केन्द्रीय कमिटीमा युवा, महिला, मधेसी, दलित, अल्पसंख्यक, जनजातिको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव प्रचण्डको छ । ‘जेन–जी पुस्ताको भावना समेट्दै कमिटी समिति बनाऔँ । जेन–जी पुस्ताले उठाएका मुद्दा र हामीले उठाएका मुद्दा समान छन् । विचारको संश्लेषण गर्दै सशक्त पार्टी निर्माण गरौँ । तलैदेखि पार्टी पुनर्गठन गर्दै आगामी मंसिरमा महाधिवेशन गरौँ,’ प्रचण्डले भनेका छन् ।
महाधिवेशन र चुनावको तयारी सँगसँगै थाल्नुपर्नेमा उनले जोड दिएका छन् । तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचनमा सम्पन्न हुने वातावरण बनाउन लाग्नुपर्नेमा पनि उनले जोड दिएका छन् । ‘चुनाव हुन नदिने चलखेल पनि हुन थालिसकेको छ, हामी सचेत हुनुपर्छ । चुनावी माहोल सिर्जना पनि गर्नुपर्नेछ । महाधिवेशन र चुनावको तयारी सँगसँगै गरौँ,’ प्रचण्डको प्रस्ताव छ । परिस्थिति जटिल र चुनौतीपूर्ण भए पनि पहलकदमी बढाउँदा सम्हाल्न सकिने प्रचण्डको विश्लेषण छ । ‘परिस्थिति जटिल र चुनौतीपूर्ण छ । हामीले पहलकदमी बढाउनुपर्छ, स्थिति सम्हालिन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी प्रवक्ता सापकोटाले भने ।
निर्वाचनमा प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहितका एजेन्डा माओवादीले लिने भएको छ । ‘माओवादीले उठाउँदै आएको माग अहिले जेन–जीले उठाएका हुन् । माओवादी र जेन–जीका माग समान छन् । जेन–जीसँग संवाद गरेर जानुपर्छ,’ प्रचण्डले भनेका छन्, ‘घोषित मितिमै चुनाव हुनुपर्छ । हाम्रो पार्टीको तर्फबाट सकारात्मक वातावरण बनाउन सकेको भूमिका निर्वाह गर्नुपर्छ ।’
जेन–जी आन्दोलनपछि कांग्रेस–एमालेको सत्ता ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । नयाँ सरकारले आगामी २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।गत २०७८ पुसमा भएको महाधिवेशनले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशनको माग गर्दै आएका छन् । उनले आइतबारको बैठकमा पनि नेतृत्व हस्तान्तरण गरेर जानुपर्नेमा जोड दिएका थिए । बैठकमा धारणा राख्ने अन्य सदस्यले भने अध्यक्षको प्रस्तावमा समर्थन जनाएको एक नेताले बताए ।
जनार्दन शर्माले भनेका थिए– अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिऔँ, वरिष्ठ नेताको नेतृत्वमा महाधिवेशन गरौँ
बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको माग जेन–जी आन्दोलनले सही साबित गरेको बताएका छन् । उनले पार्टी पुनर्गठनको प्रक्रिया अगाडि बढाउन अध्यक्षसहित सबै पदाधिकारीले पदबाट राजीनामा दिनुपर्ने र महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने गरी वरिष्ठ नेतालाई कार्यभार दिनुपर्ने माग गरेका छन् ।
‘पार्टी पुनर्गठनको प्रक्रिया अगाडि बढाउन यही बैठकबाट अध्यक्षसहित सबै पदाधिकारीले पदबाट राजीनामा दिनुपर्छ । महाधिवेशनसम्म पार्टीलाई संयोजन गर्ने गरी वरिष्ठ नेतालाई कार्यभार दिऔँ,’ उनले भनेका छन्, ‘महाधिवेशनमा युवाहरूको प्रतिनिधित्व र नेतृत्वसमेत सुनिश्चित गर्न अहिले नै अध्यक्षसहित सबै पदाधिकारी राजनीतिक–वैचारिक काम गर्ने गरी निर्देशक कमिटीको अन्तरिम विधानमा व्यवस्था गरी अगाडि बढ्नुपर्छ ।’
उनले अहिलेको परिस्थितिलाई पार्टी पुनर्गठनको अवसरको रूपमा लिनुपर्ने बताए । ‘पार्टीमा आमूल परिवर्तन गर्न नयाँ पुस्ताको बाहुल्यता र नेतृत्वबारे सोच्नुपर्छ । आफैँलाई सच्याउने र सुधार्ने, रूपान्तरण गर्ने, पुनर्गठन गर्ने एउटा अवसरको रूपमा लिनुपर्छ,’ उनले भने । उनले जेन–जी आन्दोलनले दलतन्त्र, नेतातन्त्र, दलालीतन्त्र र कमिसनतन्त्रलाई राम्रोसँग उजागर गरिदिएको बताएका छन् ।
तत्काल महाधिवेशन गर्ने गगन–विश्वको प्रस्तावमा संस्थापन पक्षको प्रतिवाद
जेन–जी आन्दोलनमा घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा अस्पतालमै उपचाररत रहँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी पुनर्गठनको प्रस्ताव उठाएपछि कांग्रेसभित्र हलचल देखिएको छ । संस्थापन पक्ष र पूर्वपदाधिकारीहरूले संकटको समयमा संवेदना र परिपक्वता नदेखाएको आरोप लगाउँदै महामन्त्रीद्वयको प्रस्तावको प्रतिवाद गरेका छन् ।
आइतबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सशांक कोइराला, पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी थिए । उनीहरूले दुई महामन्त्रीको प्रस्तावले पार्टीमा विवाद सिर्जना गर्ने भन्दै त्यसलाई अस्वीकार गरेका हुन् ।
दुईजना महामन्त्री मात्र किन हतारिनुभयो भन्ने अहिले स्वाभाविक प्रश्न उठिरहेको छ
कृष्ण सिटौलापूर्वमहामन्त्री
देशै खरानीबाट उठिरहेका वेला पार्टी सम्हाल्ने दुईजना महामन्त्री मात्र किन हतारिनुभयो भन्ने पार्टीपंक्तिमा अहिले स्वाभाविक प्रश्न उठिरहेको छ । यस्तो संकटका वेला झगडा होइन, मिलेर अगाडि बढ्नुपर्छ, उहाँहरूले उठाएको विषय नियमित महाधिवेशनबाट सम्बोधन गर्नुपर्छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved