काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा अनुसन्धान अगाडि बढाउन सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्दै बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा थप अनुसन्धान अघि बढाउन भनेको हो।
जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले लेखेको पत्रमा ‘प्रतिवादी बस्नेतलाई कागज गराई खुलाउन लगाउने’ भनिएको छ।
सरकारी वकिलको कार्यालयले शोभा पाठक भनिने जानुका पाठकले दिएको जाहेरीको आधारमा बस्नेतमाथि अनुसन्धान अगाडि बढाउन प्रहरीलाई भनेको हो।
यसअघि साइबर ब्युरोले बस्नेतमाथि परेको जाहेरीमा दरखास्त लगायतका कागजातहरूको सम्बन्ध थप अनुसन्धान गर्न निरर्थक देखिएको हुँदा कानून बमोजिम तामेलीमा राख्न पाउँ भनी ३१ भदौ २०८२ मा पत्रर पठाएको थियो।
‘..प्रतिवादी महेश बस्नेतले आफ्नो फेसबुक वालमा नेपालको राजनीतिमा एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपष्ट बौलाउँदै हिडिरहेको छ भन्दै अमूर्त ढंगले अमर्यादित ‘भालु’ शब्द विद्युतीय साधनको प्रयोग गरी गाली बेइज्जती गरेको देखिँदा उक्त शब्द कसलाई, कुन प्रयोजनका लागि पोष्ट गरेको हो ? प्रतिवादीबाट कागज गराई खुलाउन लगाउने’ पत्रमा लेखिएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved