सिरहाको विष्णुपुर गाउँपालिका– ५, लक्ष्मीपुर गाउँकी करिब १६ वर्षीया दिपासा सदायको सर्पदंशले मृत्यु भएको छ । सिरहा नगरपालिका– १०, नरहैया गाउँ बस्ने फुपू भुट्की सदायको घर गएकी सदायलाई दसैँको अष्टमीको दिन १४ असोजको राति बसेकै ठाउँमा सर्पले डसेको चार दिनपछि शुक्रबार साँझ मृत्यु भएको हो ।
सर्पले डसेलगत्तै चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याएकी उनलाई अवस्था गम्भीर बन्दै गएपछि त्यही राति सिराहाको कर्जन्हा नगरपालिका– ११ कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल पुर्याइएको नातामा काकी पर्ने उषा सदायले बताइन् । ‘चार दिनसम्म भेन्टिलेटरमा राखेर गरेको उपचार खर्चमध्ये आधा रकम गाउँलेले चन्दा सहयोग उठाएर बुझाएपछि बिरामीलाई लिएर आयौँ,’ उनले भनिन्, ‘आर्थिक अभावको कारणले त्यहीँ राखेर उपचार गराउन सक्ने अवस्थामा थिएनौँ।’
‘अस्पतालका चिकित्सकले रेफर गरिदिन्छौँ, अर्को ठाउँमा लैजानुस् भनेका थिए,’ उनले भनिन्, ‘बिहान–बेलुका दुईछाक खान पनि मजदुरी गर्नुपर्ने बाबुआमाले अन्यत्र लगेर उपचार गराउन नसक्ने भएकाले त्यहाँबाट लिएर आयौँ, बाटोमै निधन भइसकेको रहेछ ।’ मृतकको शनिबार बिहान स्थानीय गाउँलेहरूले पुनः चन्दा सहयोग संकलन गरी दाहसंस्कार गरिएको छ । मृतक स्थानीय हरिलाल सदायकी चार बहिनी छोरीमध्ये जेठी रहेको गाउँलेहरूले बताए ।
अस्पताल छोडेर धामीको भर
अस्पतालले अवस्था गम्भीर छ भन्दाभन्दै खर्च तिर्न सक्दैनौँ भन्दै लगिएकी किशोरीलाई आफन्तले सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका– १, रामपुर पिप्रा बस्ने धामीकोमा पुर्याएको उनले बताइन् । ‘चार दिनसम्म अस्पतालमा उपचार गराउँदा पनि सन्चाे नभएपछि केही होला कि भन्ने आसमा धामीकोमा लगेका थियौँ,’ उनले भनिन्, ‘चिकित्सक र औषधिले सन्चाे नभएको बिरामीलाई धामीले पनि केही गर्न सकेनन् र लिएर घर फर्कियौँ ।’
अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएकी किशोरीलाई खर्च तिर्न सक्दैनौँ भन्दै आफन्तले घर लैजान खोजेपछि अस्पताल प्रशासनले उपचारमा लागेको आधा खर्च मिनाहा गरिदिएको जनाएको छ । आफन्तले अस्पताल प्रशासनलाई ४६ हजार रुपैयाँ बुझाएर बाँकी तिर्न सक्दैनौँ भन्दै निवेदन दिएपछि ४६ हजार ४५० रुपैयाँ मिनाहा गरिएको अस्पताल प्रशासन प्रमुख प्रदीप बस्नेतले बताए । ‘भेन्टिलेटरमा राखिएको बिरामीको अवस्था गम्भीर हुँदाहुँदै आफन्तले लैजान्छौँ भनेर जोड गरे,’ उनले भने, ‘हामीले बाहिर लैजान सुझाएको भए पनि घर लैजान्छौँ भन्दै लिएर जानुभयो ।’
स्थानीय समाजसेवी मुरली माझी र विष्णुपुर गाउँपालिकाका जेन–जी समूहका अगुवा सन्तोषकुमार यादवले सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरी अस्पताललाई रकम बुझाइएको हो । अस्पतालबाट बिरामीलाई घरसम्म पुर्याउन मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादवले निःशुल्क एम्बुलेन्स उपलब्ध गराएका थिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved