७९ वर्षमा देउवाको अवकाश पार्टी नेतृत्व हस्तान्तरणको घोषणा, पूर्णबहादुर खड्का कार्यवाहक सभापति

  • असोज २९, २०८२ | ३६८ पटक पढिएको | सीमा संदेश
alt

कांग्रेस सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट विश्राम लिँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । आगामी १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व हस्तान्तरण गर्ने लिखित घोषणा गरेका ७९ वर्षीय देउवाले राष्ट्रपति, प्रधानमन्त्री र सांसदजस्ता संवैधानिक पद लिने–नलिनेबारे भने स्पष्ट गरेका छैनन् । कांग्रेसको आन्तरिक राजनीति र जेन–जी आन्दोलनपछि विकसित मुद्दामा देउवाको अवकाश घोषणा अर्थपूर्ण छ ।

जेन–जी आन्दोलनमा भौतिक आक्रमणमा परेर उपचार र आरामपछि मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित देउवाले आफ्नो लिखित सम्बोधनमा जेन–जी आन्दोलन, राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनबारे महत्वपूर्ण सन्देश दिएका छन् । कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको मुद्दा जोडतोडले उठिरहेका वेला देउवाले बाध्यात्मक नभई वैधानिक प्रक्रियाबाट आफू बाहिरिने प्रतिबद्धता जनाएका हुन् । यद्यपि, महाधिवेशनको मितिलाई लिएर कांग्रेसमा विवाद छ ।

सभापति देउवाले आगामी १५औँ महाधिवेशनमा आफूबाहेक अन्य नेता सभापति बन्ने लिखित घोषणा गरेर पार्टीपंक्तिमा नेतृत्व हस्तान्तरणको स्पष्ट सन्देश प्रवाह गरेका छन् । देउवाले वैधानिक व्यवस्थाले र आफ्नो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्ने भनिसकेको स्मरण पनि गराएका छन् ।

‘पार्टीको आन्तरिक जीवन, आगामी १५औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरू उठेका छन् । म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने, ‘घरमा सधैँ एकैजना मूली रहँदैन,’ पार्टीमा पनि हमेसा एकैजना सभापति रहिरहँदैन,’ लिखित सम्बोधनमा देउवाले भनेका छन्, ‘जहाँसम्म मेरो विषय छ– मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आगामी १५औँ महाधिवेशनबाट मबाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन ।’

देउवाले पार्टीको विधानअनुसार तोकिएको समयमा १५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिने विश्वाससहित खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका छन् । ‘मेरो स्वास्थ्यका कारणले मैले पार्टीका उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ,’ देउवाले भनेका छन् ।

सभापति देउवाले देशलाई पुन: संवैधानिक बाटोमा फर्काउने आधार निष्पक्ष निर्वाचन नै भएको बताएका छन् । असंवैधानिक संसद् विघटन र शान्ति–सुरक्षाको अभावले लोकतन्त्र जोखिममा परेको बताउँदै उनले दलहरूबिच संवाद, कांग्रेसभित्र एकता र देशप्रतिको साझा उत्तरदायित्वलाई अहिलेको पहिलो आवश्यकता औँल्याएका छन् । सरकारले चुनावको मिति तोके पनि आवश्यक वातावरण बन्न नसकेको देउवाको भनाइ छ ।

‘संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ । सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन । निर्वाचनको पूर्वसर्तका रूपमा रहेको शान्ति–सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन्,’ सभापति देउवाले भनेका छन्, ‘तसर्थ निर्वाचनका लागि शान्ति–सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतस्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो । यसतर्फ सरकारको ध्यान जाओस् । सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुन: संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ ।’ 

देशको वर्तमान विषम परिस्थितिमा कांग्रेसले आफूलाई एकताबद्ध र सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य गर्नुपर्ने देउवाको जोड छ । ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थाका वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन । यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ,’ देउवाको सम्बोधनमा छ, ‘मुलुकमा संकट आएका वेला त्यसको निकास पनि कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढौँ ।’

सभापति देउवाले ८० वर्षे इतिहासमा कांग्रेसले राष्ट्रियता र लोकतन्त्रका निम्ति कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको भन्दै देउवाले विद्यमान अवस्थामा कांग्रेसले उचित मार्गदर्शन दिनुपर्ने औँल्याएका छन् । ‘हामीले समसामयिक राजनीतिको सही विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ । यस बैठकबाट हामीले कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वसनीयतालाई पुनर्पुष्टि गर्नुपर्दछ,’ उनले भनेका छन्, ‘विद्यमान अवस्थामा मुख्य रूपले हामीले आफ्नै पार्टीका विषयमा र राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा उचित मार्गदर्शन गर्नुपर्नेछ ।’ 

देउवाले कांग्रेसको आन्तरिक एकतामा पनि जोड दिएका छन् । ‘देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्रा बिचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाती राखेर देशलाई साक्षी राखेर एकताबद्ध हुनुपर्दछ,’ उनले भनेका छन्, ‘अहिले हाम्रा बिचमा व्यक्तिगत वा समूहगत रुचि–अरुचि, हित–अहित वा लाभहानिका सबै विषय गौण हुन् । विषयवस्तुमा व्यापक छलफल गरौँ, एकमतका साथ निर्णयमा पुगौँ र ठोस ढंगले निर्णयको कार्यान्वयन गरौँ ।’

सभापति देउवाले जेन–जी आन्दोलनका जायज माग सम्बोधन गर्दै सुशासन र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । ‘जेन–जीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्छ भन्ने मेरो धारणा छ । उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ,’ उनले भनेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले अकल्पनीय एवं अमानवीय र त्रासदीपूर्ण रूपमा भएको घटना आकस्मिक वा स्वत:स्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने घटनापछि बाहिर आइरहेका तथ्यहरूले पुष्टि गर्न थालेको बताएका छन् । यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्नेमा देउवाको माग छ । ‘यो अनुसन्धान कसैलाई तात्कालिक नाफा–घाटाभन्दा पनि मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,’ उनले भनेका छन् । कठिन अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलको परिपक्व भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकिएको देउवाको विश्लेषण छ ।

सभापति देउवाले देशमा सबै महत्वपूर्ण अंगहरूको मनोबल गिरेको भन्दै मनोबल बढाउने काम गर्न माग गरेका छन् । ‘हामीले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गर्नुपर्दछ र अदालत, सुरक्षा निकायलगायत सबै निकायलाई उच्च मनोबलका साथ काम गर्न आह्वान पनि गर्नुपर्दछ,’ देउवाले भनेका छन् । सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी गरिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले माग गरेका छन् ।

जीवन रहँदासम्म देश र जनताप्रति समर्पित रहने

किशोर अवस्थादेखि नै राष्ट्रियता, लोकतन्त्र र विधिको शासनका लागि निरन्तर संघर्ष गरेको स्मरण गर्दै देउवाले अनेकौँ कठिनाइ, कष्ट र जेल–नेल सहेको बताएका छन् । उनले जीवनका बाँकी दिन पनि देश र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘सांसद, मन्त्री, प्रधानमन्त्री वा कांग्रेसको सभापति हुने ध्येयका साथ राजनीतिमा लागेको पनि होइन । मन, वचन र कर्ममा एकै उद्देश्य थियो– राष्ट्र, राष्ट्रियता र लोकतन्त्र । मुलुकमा लोकतन्त्र स्थापना भएका कारण साथीहरूको स्नेह र समर्थनले विभिन्न राजकीय पद प्राप्त गरेको हुँ,’ उनले भनेका छन्, ‘मैले राजनीतिमा निकै आरोह अवरोह व्यहोरेको छु । देशमा संकट उत्पन्न हुँदा सदैव देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको छु, अझै जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहनेछु ।’

छोटो–छोटो समयका लागि भए पनि पाँचपटक प्रधानमन्त्री हुने अवसर पाएको भन्दै उनले आफ्नो कार्यकालमा भएका केही महत्वपूर्ण कामको विवरण पनि संक्षेपमा स्मरण गराएका छन् । ‘पाँचपटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ । तर पनि मैले कतिपय क्षेत्रको सुधारमा कोशेढुंगाको काम गरेको तपार्इंहरूलाई अवगत नै छ,’ देउवाले आफ्नो कार्यकालबारे भने, ‘सामाजिक कुरीतिको रूपमा रहेको कमैया मुक्ति, छुवाछुतमुक्त नेपालदेखि सामाजिक रूपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाई गर्व महसुस हुन्छ । नेपालमा भ्रष्टाचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ जारी गरेको हुँ । नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य गरेर वैज्ञानिक भूमिसुधार लागू गरेको हुँ । यसकै जगमा अहिले हदबन्दी लागू हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो ।’

सभापति देउवाले आफू प्रधानमन्त्री हुँदा गरेका कामबारे थप भने, ‘सम्पत्तिमा महिलाहरूको स्वामित्व स्थापित गर्न मैले मुलुकी ऐनको ११औँ संशोधन गरेर पैतृक सम्पत्तिमाथि महिला र पुरुषको हक स्थापित गरेको हुँ । दलित, महिला, जनजातिलगायतका समुदायको उत्थानका लागि आयोग बनाएर संरचनागत सुधार गरेको हुँ । मुलुकको आर्थिक रूपान्तरणमा डिपार्चरको रूपमा रहेको मूल्य अभिवृद्धि कर लागू गरेर कर प्रणालीलाई वैज्ञानिक र आधुनिक बनाउने काम पनि मेरै प्रधानमन्त्रीत्वकालमा सुरु भएको हो । प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा काम गर्दा केही कमी–कमजोरी पनि भए होला, तर मैले सकभर नेपाली जनतालाई र पार्टीलाई केन्द्रमा राखेर नै काम गरेँ ।’

ज्यानै लिने मनसायले सांघातिक हमला भयो, त्यसपछि सुनियोजित रूपमा झुटा प्रचार गरियो
देउवाले घरमा तोडफोड, लुटपाट, आगजनी र त्रासदीपूर्ण भौतिक आक्रमणले नपुगेर आफ्नो प्रतिष्ठा र छवि गिराउन सुनियोजित रूपमा झुटा प्रचार गरिएको दाबी देउवाको छ । ‘यो घटनाक्रम झट्ट हेर्दा म र मजस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरूमाथिको व्यक्तिगत आक्रमणजस्तो देखिए तापनि समग्रमा हेर्दा देश, पद्धति र पार्टीमाथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ,’ उनले भनेका छन् । 

भदौ २४ मा सिंगो मुलुक जलेका वेला आफू र आफ्नो परिवारमाथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला भएको उनको दाबी छ । ‘घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घन्टौँको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो । म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्‍यो तपार्इंहरू जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनियोजित रूपमा झुटा प्रचार गरियो,’ उनले भनेका छन्, ‘तपाईंहरूको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु । मेरा राजनीतिक जीवनयात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै वेला पनि आउन सक्छन्, केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।’ 

उनले आक्रमणकारीहरूको कब्जाबाट बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई धन्यवाद दिँदै देउवाले जीवनभर स्मरण गरिरहनेसमेत बताएका छन् । जेन–जीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएर अर्कै रूप लिँदा निर्दोष युवाहरूको ज्यान गएको घटनाले मर्माहित बनाएको उनले बताएका छन् । 

बिहीबार केन्द्रीय कार्यसमिति बैठक 
सभापति शेरबहादुर देउवाको सम्बोधनपछि केन्द्रीय कार्यसमिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । बैठकअघि देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए । देउवासँगको भेटमा थापा र शर्माले मंसिरमा महाधिवेशन गर्ने गरी अघि बढ्न प्रस्ताव गरेका थिए । मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाविधेशनमा जानुपर्ने प्रस्ताव थापा र शर्माको थियो । तर, देउवाले आवश्यक छलफलपछि मात्र निर्णयमा पुग्नुपर्ने बताएका थिए । एजेन्डाको विषयमा बुधबार पनि छलफल हुने भएको छ ।

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब