सिरहा, माघ ०८ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सिरहामा चारै क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने भएको छ । चारै निर्वाचन क्षेत्रमा १४ राजनीतिक दलहरुबाट जम्मा ५४ जनाको उम्मेदवारी परेको छ भने स्वत्नत्र उम्मेदवारी ८५ जना गरी कुल १३९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचनको चारै क्षेत्रमा २४ युवा, ८ महिला, अन्य उमेरका एक सय १५ गरी एक सय १० पुरुष उम्मेदवार छन् । उम्मेदवारी दर्तासँगै सिरहाका सबै निर्वाचन क्षेत्रमा चुनावी माहोल तातेको छ । उम्मेदवारहरू प्रचार–प्रसार र रणनीतिमा व्यस्त देखिएका छन् ।
जेनजी अभियन्तादेखि पूर्व मन्त्रीहरूको भविष्य जोडिएको सिरहामा रोचक प्रतिस्पर्धा
सिरहा–१ मा अन्तरिम चुनावी सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएर रास्वपाबाट उम्मेदवारी दिएपछि उक्त क्षेत्र पनि चर्चाको विषय बनेको छ । त्यहाँ एमालेका रामशंकर यादव, कांग्रेसका रामसुन्दर चौधरी, जसपा नेपालका सत्य नारायण यादव र जनमतका रामस्वरूप चौधरीले उम्मेदवारी दिएका छन्।
२०७९ मा उक्त क्षेत्रबाट एमालेका रामशंकर यादव २९ हजार ४६२ मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका पदम नारायण चौधरीले २७ हजार ३७९ मत ल्याएका थिए ।
सिरहा–२ मा एमालेका नवीन कुमार यादव, कांग्रेसका रामचन्द्र यादव, जसपा नेपालका सञ्जीव कुमार यादव, जनमत पार्टीका बिनोदकुमार यादव र रास्वपाबाट जेनजी अभियन्ता शिव शंकर यादवसहित विभिन्न उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
२०७९ को निर्वाचनमा त्यस क्षेत्रबाट जसपा नेपालका राजकिशोर यादवले कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गरेका थिए । तर यसपटक ती दुईमध्ये कोही पनि उम्मेदवार छैनन् । चित्रलेखा अस्ट्रेलियाका लागि राजदूत छिन् भने राजकिशोरले क्षेत्र फेरेका छन् ।
सिरहा–३ मा एमालेबाट लिलानाथ श्रेष्ठ, कांग्रेसबाट सुभाषचन्द्र यादव, जसपा नेपालबाट असेश्वर यादव, रास्वपाबाट शम्भु कुमार यादव र नेपाली कम्युनिस्ट पार्टीबाट विश्वनाथ साहसहित विभिन्न उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् ।
२०७९ मा त्यस क्षेत्रमा एमालेका लिलानाथ श्रेष्ठले २८ हजार ६४ मत ल्याएर विजयी हुँदा तत्कालीन माओवादीका विश्वनाथ साहले २६ हजार ८८२ र जनमतका दिनेशकुमार यादवले ११ हजार १४६ मत ल्याएका थिए ।
सिरहा–४ मा जसपा नेपालबाट पूर्वमन्त्री राजकिशोर यादव, एमालेका धर्मनाथ प्रसाद साह, कांग्रेसका चन्द्रकला कुमारी यादव, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्व मन्त्री अजय शंकर नायक र जनमत पार्टीबाट पूर्व मन्त्री वीरेन्द्रप्रसाद महतोसहित विभिन्न उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् ।
२०७९ सालमा त्यस क्षेत्रबाट जसपा नेपालका वीरेन्द्रप्रसाद महतो निर्वाचित भएका थिए, तर यसपटक उनी जनमत पार्टीबाट उम्मेदवार बनेका छन् । जसपाका राजकिशोरले क्षेत्र सारेकोमा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट नपाएपछि एमालेबाट धर्मनाथ उम्मेदवार बन्नुका साथै पूर्वमन्त्री नायक पनि उम्मेदवार रहेकाले त्यहाँ रोचक प्रतिस्पर्धा हुने निश्चित छ ।
यहाँका नागरिकले पुराना अभ्यास तोड्दै नयाँ दिशा तय गर्ने अवसरका रूपमा यो निर्वाचनलाई लिएका छन् । सिरहा–२ का मतदाताहरूको मुख्य चासो विकास निर्माण, रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा सुधार रहेको छ । लामो समयदेखि उही समस्या दोहोरिँदै आएको भन्दै धेरै मतदाताले यसपटक बोल्ने होइन, काम गरेर देखाउने प्रतिनिधि छान्ने बताएका छन् ।
स्थानीय सूर्यनारायण यादव भन्छन्, ‘हामीले धेरैलाई जितायौँ, धेरै दल र नेताहरूलाई मौका दियौँ। तर समस्या ज्यूँका त्यूँ रह्यो । यसपटक बोल्ने होइन, काम गर्ने मान्छे चाहिएको छ ।’
बरियारपट्टी गाउँपालिकाकी गेनादेवी सदायले विगतका चुनावमा जितेर गएका जनप्रतिनिधिहरूप्रति असन्तुष्टि व्यक्त गरिन् । विगतको अनुभव सम्झिँदै उनले भनिन्, ‘निर्वाचनको बेला नेताहरू घरदैलोमा आएर अनेक वाचा गर्छन् । तर जितेपछि सबै बिर्सिन्छन् । गरिब र अति विपन्न परिवारलाई फर्केर पनि हेर्दैनन् । यसपालि जनताको हकहितमा काम गर्ने व्यक्ति छानेर मतदान गर्छौँ ।’
सिरहा–२ का युवा मतदातामा पनि पुराना नेताप्रति निराशा स्पष्ट देखिन्छ । उनीहरू पुराना नेताले चुनावका बेला ठूलाठूला आश्वासन दिने तर जितेर फर्केर नआउने गरेको भन्दै आक्रोश व्यक्त गर्छन् । सुखीपुरका युवा मतदाता किसुनदेव यादव भन्छन्, ‘करिब २० वर्षदेखि देशमा परिवर्तन हुने आशामा विभिन्न पार्टीका नेताहरूलाई जिताउँदै आयौँ । तर ती उनीहरूले ठोस परिवर्तन गर्न सकेनन् । यसपालि हामीलाई परिवर्तन चाहिएको छ । सोच–विचार गरेर मात्रै मतदान गर्छौं ।’
गरिब समुदायका पीडामा कुनै पनि नेताले मल्हम लगाउन नसकेको भन्दै मतदाताले चिन्ता व्यक्त गरेका छन् । गरिबका पीडा नबुझ्ने मान्छेलाई यसपटक मत नदिने उनीहरू बताउँछन् । बरियारपट्टि गाउँपालिकाकी जहरी सदाय भन्छिन्, ‘नेताहरू चुनावको बेला घर नहुनेलाई घर, जग्गा नहुनेलाई जग्गा दिन्छु भन्छन् ।
तर जितिसकेपछि फर्केर पनि आउँदैनन् । आफ्ना आफन्तलाई रोजगारी दिन्छन्, हामी गरिब भने सडकमा बस्न बाध्य छौँ ।’ रोजगारीको सवालमा पनि सिरहा–२ का मतदाता यसपटक निकै संवेदनशील देखिन्छन् । वैदेशिक रोजगारी बाध्यता नभई विकल्प बन्नुपर्ने उनीहरूको माग छ । देशमै पर्याप्त रोजगारीको अवसर नहुँदा युवाहरू विदेशिन बाध्य भएको भन्दै दीर्घकालीन रोजगार नीति आवश्यक रहेको मतदाताहरूको भनाइ छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक सिरहा–२ मा मतदाताको निर्णय उम्मेदवारको पार्टीभन्दा पनि व्यक्तित्व, विगतको काम र प्रतिबद्धतामा आधारित हुने सम्भावना देखिन्छ । विकास निर्माण, सामाजिक न्याय र गरिबी न्यूनीकरणमा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नसक्ने उम्मेदवारलाई मतदाताले प्राथमिकता दिने संकेत देखिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved