सिरहा, माघ २० गते । प्रतिनिधि सभा अन्तर्गत सिराहा क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ७६० मतदाता छन् । यस क्षेत्रमा आसन्न प्रतिनिधि सभा निर्वाचनमा २९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्, जसमा १४ वटा दल छन् भने बाँकी स्वतन्त्र । यहाँ प्रमुख दलहरू; नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपाल, जनमत पार्टीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
यसपटक बालेन शाहका कारण मधेसमा रास्वपाको पक्षमा लहर देखिएको छ । तर सिरहा क्षेत्र नम्बर २ मा मतदाताको रोजाई फरक ढंगबाट प्रस्तुत भईरहको छ । यस निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारको संरचना अन्य तीन वटा निर्वाचन क्षेत्र भन्दा कमजोर छ । अहिले सम्म यस क्षेत्रका मतदातालाई झुठा अश्वासन तथा प्रतिवद्धता गरेर देशका ठुला पुराना कांग्रेस र एमाले पार्टिका नेताहरु ठगेको गुनासो मतदाताका छन् ।
मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको घर पनि यसै निर्वाचन क्षेत्रमा पर्छ । २०७९ को निर्वाचनमा जसपा नेपालबाट विजय भएका उम्मेदवार पनि यस क्षेत्रका मतदातालाई ठग्न सफल भएको मतदाताका भनाई छन् । यसपालिका निर्वाचनमा यस क्षेत्रका मतदाता नयाँ पार्टि र नयाँ उम्मेदवारका परिक्षण गर्ने उम्मेदवार खोजी गरिरहकेका बताउँछन् ।
यसपालिका उम्मेदवारहरुलाई कसरी चिनिदैछन मतदाता ?
सिरहा–२ मा रास्वपाले शिव शंकर यादवलाई उम्मेदवार बनाएको छ । जेनजी आन्दोलनका अगुवा समेत रहेका शिव शंकर यस क्षेत्रमा परिचित नाम हो । विभिन्न सामाजिक संस्थामा आवद्ध भएर सामाजिक सेवामा लागेका शिव शंकर यादवले भने, ‘यहाँ जितको कुरामात्र छैन, कति मतले जित्छु भन्ने मुख्य कुरा हो ।’ मधेसी जनताले परिवर्तन र सुशासन चाहेको जिकिर गर्दै उनले यी दुवै मुद्दामा आफ्नो पार्टी सशक्त रहेको दाबी गरे । रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा मधेसकै छोरो बालेन शाहलाई प्रस्तावित गरेका कारण मधेसी जनता उत्साहित रहेको यादवले बताए।
जेनजी आन्दोलनमा सिराहाका तीन अगुवाहरूमध्ये बब्लु गुप्ता र शिवशङ्कर यादव प्रत्यक्ष उम्मेदवार हुनुभएको छ भने पुरुषोत्तम यादव समानुपातिक सूचीमा समेटिनुभएको छ । जेनजी आन्दोलनका तिनै जना अगुवाको पहलमा वर्षांैदेखि हुन नसकेका अलपत्र परेको सिराहा–धनुषा जोड्ने कमला नदीमा अस्थायी समाधानको लागि डाइभर्सन, लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसन र स्थानीय (पालिका) स्तरमा भएका अनियमितताको विरोधमा खबरदारीका कारण उहाँहरूप्रति मतदाताको झुकाव बढ्न थालेको हो ।
जसपा नेपालले सिरहा–२ मा यस पटक ३९ वर्षीय संजिव कुमार यादवलाई उम्मेदवार बनाएको छ । गत स्थानीय चुनावमा उनी धनगढीमाई नगरपालिकाको उपमेयरमा पराजित भएका थिए । स्थानीय तहमै पराजित भएका उम्मेदवारलाई जसपा नेपालले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाउँदा उत्साह घटेको कार्यकर्ताहरूको भनाइ छ । यद्यपि उम्मेदवार कमजोर भए पनि संगठन राम्रो भएका कारण जित्ने सम्भावना रहेको जसपा नेपालका विद्यार्थी नेता विवेक दासले दाबी गरे ।
उनले भने, ‘सिरहा–२ मा सबैभन्दा राम्रो संगठन जसपा नेपालको छ, संगठनको हिसाबले मात्र मत आएमा संजीवजी जित्नुहुन्छ ।’ सो क्षेत्रमा रहेका पाँच वटा पालिकामध्ये तीन वटा पालिकामा जसपा नेपालले नै जितेको छ । स्थानीय तहमा आएको मतको हिसाबले सो क्षेत्रमा जसपा नेपाल सबैभन्दा बलियो देखिएको छ ।
कांग्रेसलाई अन्तर्घातको चिन्ता
सिराहा–२ मा नेपाली कांग्रेसको पनि राम्रो संगठन छ । कांग्रेसबाट रामचन्द्र यादवले टिकट पाएका छन् । एमाले, नेकपा, जसपा नेपालको उम्मेदवार कमजोर भएका कारण त्यसको फाइदा कांग्रेसलाई हुने देखिएको छ । कांग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र यादव सो क्षेत्रका चिरपरिचित नेता हुन् । त्यसैले उनी एक सशक्त उम्मेदवार हुन्, यद्यपि उनलाई रास्वपाले कडा टक्कर दिने आकलन गरिएको छ ।
कांग्रेसका उम्मेदवार रामचन्द्र यादवलाई पार्टीभित्रको गुटबन्दीको त्रास छ । यादव आफू सभापति गगन थापा पक्षका हुन् । गत चुनावमा चित्रलेखा यादवलाई उनले सहयोग नगरेका कारण पराजित हुनुपरेको चर्चा थियो । अहिले उनलाई चित्रलेखा यादवको टिमका नेता तथा कार्यकर्ताले सहयोग गर्छन् कि गर्दैनन्, त्यसले पनि नतिजा प्रभावित हुन सक्ने देखिन्छ । कांग्रेसका स्थानीय नेता श्यामसुन्दर यादवले भने, ‘विशेष महाधिवेशनपछि बनेको कांग्रेसमा अब कुनै गुट छैन । सबै एक साथ चुनावमा होमिएका कारण रामचन्द्र यादवलाई पार्टीभित्रबाट सबै साथ रहन्छ ।’
नवीनलाई ओलीको बोलीको चिन्ता
सो क्षेत्र अन्तर्गतका दुई वटा पालिका एमालेले स्थानीय तह निर्वाचनमा जितेको छ । अन्य वडामा पनि एमालेले राम्रै मत ल्याएको छ । प्रतिनिधि सभा निर्वाचनमा एमालेले ५१ वर्षीय नवीन कुमार यादवलाई उम्मेदवार बनाएको छ । उनी लामो समयदेखि एमालेमा सक्रिय रहे पनि स्थानीयस्तरमा परिचित अनुहार नरहेको कार्यकर्ताको गुनासो छ । एमालेको संगठनले साथ दिएमा नवीन यादव पनि सशक्त प्रतिस्पर्धी हुने पत्रकार रोयण्टल मण्डल बताउँछन् ।
तर एमालेका अध्यक्ष केपी शर्मा ओली, सचिव महेश बस्नेतको अभिव्यक्तिले गर्दा मतदातामा आक्रोश छ । बालेनलाई लक्षित गरेर दुवै नेताले दिएको अभिव्यक्तिका कारण मधेसी जनता रुष्ट छन् । त्यसको असर नवीनलाई पर्न सक्ने धेरैको बुझाई छ ।एमालेभित्र गुटबन्दी पनि छ । मधेसमा उपमहासचिव रघुवीर महासेठ र मधेस प्रदेशका इन्चार्ज लिला श्रेष्ठबिच गुटबन्दी छ । नवीन कुमार यादवले लिला श्रेष्ठमार्फत टिकट पाएका हुन् । त्यस अवस्थामा रघुवीर महासेठ गुटका नेता तथा कार्यकर्ताले साथ नदिने हो कि भन्ने आशंका पनि छ ।
सिरहा–२ मा एमालेका नेता रामऔतार यादवको जनाधार राम्रो छ । दुई पटक उनी सुखिपुर नगरपालिकाको मेयरमा निर्वाचित भए । उनी रघुवीर महासेठ गुटका हुन् । उनले नवीन यादवलाई सघाउँछन् कि सघाउँदैनन्, त्यसले पनि नतिजामा धेरै प्रभाव पार्ने स्थानीय एमाले कार्यकर्ता बताउँछन् । स्थानीय चुनावमा कांग्रेसका रामचन्द्र यादवले रामऔतार यादवलाई सघाएका थिए । यसपटक रामऔतार यादवले रामचन्द्र यादवलाई सघाउने चर्चा पनि उत्तिकै छ ।
संगठनको हिसाबले नेपाली कम्युनिस्ट पार्टीको पनि यस क्षेत्रमा राम्रै प्रभाव छ । २०७४ मा तत्कालीन माओवादी केन्द्र (हाल नेकपा)ले चुनाव जितेको यहाँ कतिपय पालिका पनि हात पारेको थियो । २०७९ मा कांग्रेस र माओवादीका बिचमा गठबन्धन थियो । तत्कालीन माओवादीले कांग्रेसलाई सघाउँदा पनि कांग्रेसका उम्मेदवार पराजित भएका थिए।
यसपटक नेकपाले मुक्ति नारायण सिंहलाई उम्मेदवार बनाएको छ । उनी यस क्षेत्रका लागि नयाँ हुन् । चर्चित अनुहार नभएका कारण उनलाई मतदाताको विश्वास जित्न गाह्रो हुने विश्लेषण भइरहेको छ । यद्यपि नेकपाका नेता जिवछ यादवले भने, ‘क्षेत्रका लागि नयाँ भए पनि मुक्तिनारायण सिंह संगठनका पुराना नेता हुनुहुन्छ । माओवादीमा उहाँ भूमिगतकालदेखि लाग्नु भएको छ । उहाँ सहिद परिवारका सदस्य पनि हुनुुहुन्छ।’ माओवादीले विभिन्न दल मिलाएर नेकपा बनाएको कारण संगठन झन् बलियो भएको जिवछ यादवको दाबी छ ।
जनमत पार्टीका विनोद यादवले आफू सशक्त दाबेदार रहेको बताए । ०७९ को निर्वाचनमा उनले १६ हजार ९०२ मत ल्याएर तेस्रो भएका थिए । उनले भने, ‘गत चुनावमा यो क्षेत्रमा जनमत पार्टीको खासै संगठन थिएन । अहिले वडा वडामा संगठन छ । चुनाव हारे पनि यो बिचमा मैले एउटा सांसदले भन्दा बढी काम यस क्षेत्रमा गरेको छु ।’ त्यही भएर आफू निर्वाचित हुने उनको दाबी छ ।
राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष समेत रहेका कौशलकुमार सिंह पनि सिराहा–२ मा उम्मेदवार छन् । उनले रास्वपाको पक्षमा बाहिरी हल्ला धेरै भए पनि सिराहा–२ मा उसको ठुलो लहर नरहेको बताए । उनले भने, ‘रास्वपाको हल्ला सामाजिक सञ्जालमा मात्र धेरै छ । उसको यहाँ मत छैन । परिवर्तनका लागि हुने मतदान मेरो पक्षमा हुन्छ ।’
पत्रकार समेत रहेका उनी पिछडा वर्गका लागि काम गर्दै आइरहेका छन् । उनले क्षेत्रमा पिछडा वर्गको मुद्दालाई जोडतोडले उठाएका छन् । उनी नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी र जनता समाजवादी पार्टीको साझा उम्मेदवार हुन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved