सिरहा, माघ २७ गते । २०७९ को निर्वाचनमा सिरहामा खासै उपस्थिति जनाउन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक त्यहाँ पनि चर्चामा छ । काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन)लाई वरिष्ठ नेताको रूपमा भित्र्याएर प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेसँगै सिरहामा रास्वपाको ‘क्रेज’ ह्वात्तै बढेको हो । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले सिरहामा सबैभन्दा धेरै कुन पार्टीको कत काट्ला भन्ने अड्कलबाजी पनि सुरू भएको छ ।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेर एउटा नारा दिएको छ, ‘मधेसको छोरा प्रधानमन्त्री बन्दैछन् ।’ त्यसले सिरहामा एकखालको लहर त ल्याएको छ नै, देशभरका नागरिक बालेनसँग झुम्मिरहेका छन् । चाहे सिरहा होस् या दार्चुला, सबैतिर बालेनको एकनासको क्रेज देखिएको छ ।
अन्य ठाउँभन्दा अहिले बालेन र रास्वपाको चर्चा तराई–मधेसमा धेरै छ । राजनीतिक मामिलाका जानकारहरू रास्वपाको मधेसमा प्रदेशमा कमजोर संगठन रहेकाले मधेसी मूलका बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेर मत तान्ने रणनीति बनाएको देखिन्छ ।
सिरहामा कांग्रेसलाई अन्तर्घातको चिन्ता
सिराहामा नेपाली कांग्रेसको पनि राम्रो संगठन छ । एमाले र नेकपा पुरानै उम्मेदवार र जसपा नेपालको उम्मेदवार कमजोर भएका कारण त्यसको फाइदा कांग्रेसलाई हुने देखिएको छ । यद्यपि कांग्रेसलाई रास्वपाले कडा टक्कर दिने आकलन गरिएको छ । कांग्रेसका उम्मेदवारलाई पार्टीभित्रको गुटबन्दीको त्रास छ । त्यसले पनि नतिजा प्रभावित हुन सक्ने देखिन्छ ।
एमालेलाई ओलीको बोलीको चिन्ता
सिरहाका चारै अन्तर्गतका दश वटा पालिका एमालेले स्थानीय तह निर्वाचनमा जितेको छ । अन्य वडामा पनि एमालेले राम्रै मत ल्याएको छ । प्रतिनिधि सभा निर्वाचनमा एमालेले सबै क्षेत्रमा पुरानै अनुहारलाई उम्मेदवार बनाएको छ । देशमा भर्खरै जेनजी आन्दोलन भएकोले उम्मेदवार पनि परिवर्तन नभएकोे कार्यकर्ताको गुनासो छ । तर एमालेका अध्यक्ष केपी शर्मा ओली, सचिव महेश बस्नेतको अभिव्यक्तिले गर्दा मतदातामा आक्रोश छ । बालेनलाई लक्षित गरेर दुवै नेताले दिएको अभिव्यक्तिका कारण मधेसी जनता रुष्ट छन् । त्यसको असर सिरहामा पर्न सक्ने धेरैको बुझाई छ ।
एमालेभित्र गुटबन्दी पनि छ । मधेसमा उपमहासचिव रघुवीर महासेठ र मधेस प्रदेशका इन्चार्ज लिला श्रेष्ठबिच गुटबन्दी छ । सिरहामा लिला श्रेष्ठमा निकटकाले टिकट पाएका छ । त्यस अवस्थामा रघुवीर महासेठ गुटका नेता तथा कार्यकर्ताले साथ नदिने हो कि भन्ने आशंका पनि छ।
यत रास्वपा मधेसले साथ दिएमा एक नम्बर पार्टी बन्ने दाबी गरिरहेको छ । राजनीतिक विश्लेषक श्रीमन नारायण भन्छन्, ‘देशमा एमालेको जुन खालको क्रियाकलाप रह्यो । बालेन शाहले झापा–५ मा उम्मेदवारी दिनुभएको छ । त्यसले प्रष्ट हुन्छ रास्वपाले सबभन्दा बढी मत एमालेको काट्छ ।’
एमालेकै कारण देशमा जेनजी आन्दोलन भएको, ७५ जना जेनजीले सहादत दिएको, दुई पटक संसद् विघटन भएकाले उसको मत रास्वपालाई जान सक्ने उनको विश्लेषण छ ।
मधेसमा हाल सबैभन्दा ठुलो पार्टी एमाले हो । हरेक क्षेत्रमा बलियो संगठन छ । तर पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतले मधेसबारे दिएको अभिव्यक्तिका कारण मधेसी मतदाता क्रुद्ध बनेको राजनीतिक विश्लेषक नारायण बताउँछन् ।
जनकपुरका नागरिक अगुवा सत्यनारायण साह लोकतान्त्रिक र वामपन्थी दुवैको मत रास्वपातिर आकर्षित हुन सक्ने बताउँछन् । ‘मलाई लाग्छ मिश्रित किसिमको हुनेछ । लोकतान्त्रिक र वामपन्थी दुवैको मत रास्वपातिर आकर्षित हुन्छ । तर मधेस केन्द्रित दलको मत सबभन्दा बढी आकर्षित हुने अनुमान गर्न सकिन्छ,’ उनी भन्छन्।
मधेस केन्द्रित दलहरूको रवैयाबाट आजित भएका मतदाता पनि रास्वपातिर सर्न सक्ने उनको बुझाइ छ ।
मधेस राजनीतिमा लामो समय काम गरेका भरतविमल यादव रास्वपाले कुनै एक दलको भन्दा सबैको काट्न सक्ने बताउँछन् । ‘मधेसमा रास्वपाको लहर हेर्दा कुनै पार्टी विशेषभन्दा पनि हरेक पार्टीको थोरै थोरै मत काट्न सक्छ,’ उनी भन्छन्, ‘शीर्ष नेता बाहेकका अन्य हरेक उम्मेदवारको मत रास्वपाले तान्छ । त्यसमा मुख्य फ्याक्टर बालेन देखिएका छन् ।‘
पत्रकार पंकज दास रास्वपाले सबैभन्दा बढी मधेस केन्द्रित दलको मत काट्ने बताउँछन् । ‘मधेसीको छोरा प्रधानमन्त्री बन्ने भाष्य निर्माण हुँदा मधेस केन्द्रित दलका समर्थक अहिले रास्वपाको समर्थनमा लागेका छन् । एमालेको क्याडर मत कतै जाँदैन, कांग्रेसको असन्तुष्ट मत रास्वपातिर जाने सम्भावना देखिन्छ,’ उनी भन्छन् ।
सिरहाका पत्रकार रोयन्टल मण्डल रास्वपामा लहर देखिँदा जनमत र जसपा नेपालको मतमा बढी असर गर्ने आकलन गर्छन् । ‘जनमत पार्टीमा अधिकांश युवा जमात छन्, जेनजीको पार्टी जस्तो लाग्छ । अहिले रास्वपाको लहर हेर्दा त्यो मत कन्भर्ट हुने देखिन्छ,’ उनी भन्छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved