सुखीपुर नगरपालिका- ९ बैसखा गाउँ घर भई सर्लाहीको जिल्ला सदरमुकाम मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत रहेकै वेला हत्या गरिएका करिब ३७ वर्षीय सब–इन्जिनियर प्रमोदकुमार यादवलाई सहिद घोषणा र मृतकका परिवारलाई क्षतिपूर्ति माग्दै आफन्त र स्थानीय बासिन्दा आन्दोलित भएका छन्।
आन्दोलनको क्रममा पीडित आफन्त र स्थानीय बासिन्दाले बिहीबार दिउँसो करिब दुई बजेसम्म दुई घण्टा पूर्व–पश्चिम लोकमार्गअन्तर्गत धनगढीमाई नगरपालिका- १०, धनगढी बजार खण्ड अवरुद्ध गरे। उनीहरूले सडकमा टायर बालेर मृतक सब–इन्जिनियर यादवलाई सहिद घोषणा, मृतक परिवारलाई क्षतिपूर्ति, नाबालिका छोरीको निःशुल्क शिक्षा, पीडित परिवारबाट एकजनालाई रोजगारीसहित हत्यारालाई कारबाही र गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेका हुन्।
सडक अवरोधले पूर्व–पश्चिम जानुपर्ने सयौँ सवारीसाधन रोकिएपछि पीडित परिवारले उठाएका मागहरू माथिल्लो निकायमा पठाउने प्रतिबद्धता जनाएपछि सडक अवरोध खोलिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए। ‘घटना भएको जिल्लामा पनि प्रहरीले अनुसन्धान गरिरहेकाले अपराधी छिट्टै पक्राउ पर्ने कुरामा शंका उपशंका नगर्न आग्रह गर्यौं,’ उनले भने ‘त्यसपछि अवरुद्ध सडक खुलाइएको हो।’
कर्मथलो फर्किएकै दिन हत्या
गत १४ माघमा वैसखा गाउँमा दाजुसँग बस्दै आएका ७१ वर्षको उमेरमा वृद्ध बाबु लक्ष्मी यादवको निधन भएपछि गाउँ आएका प्रमोद २५ माघमा काजकिरिया सकेर ३ फागुनको दिउँसो बुहारी पुनम र दुई वर्षीया छोरी अनायासहित कर्मथलो मलंगवा फर्किएको दाजु मनोजकुमार यादवले बताए। ‘भाइले शुद्धि भोजपछि घरमा पूजा गरेर फर्किन्छु भन्दै थियो,’ उनले भने, ‘तर कार्यालयमा हाजिर हुन तारन्तार फोन आउनुका साथै आफन्तकोमा सुतक परेपछि कर्मथलो फर्किएको भाइको त्यही दिन निमर्मतापूर्वक हत्या भयो।’
आफन्तकोमा सुतक परेपछि ३ फागुनको बिहान भाडाको स्कर्पियो चढेर सिराहाको नवराजपुर गाउँपालिका- ३, मझौरा गाउँमा रहेको ससुरालीमै बिहानको खाना खाइवरी भाइबुहारी मलंगवा फर्किएको उनले बताए। ‘देशमा मेरो भाइजस्ता हजारौँ सब–इन्जिनियरहरू छन्,’ उनले भने ‘प्रहरीले अपराधी पत्ता लगाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दछु ।’
दुई दिदी र बहिनीपछिको कान्छो भाइ प्रमोदलाई छोरासरह हुर्काएको सुनाउँदै उनले भने, ‘मोबाइलमा नम्बरसमेत सेभ रहेको व्यक्तिले फोन गरेको भन्ने सुनेको छु, भाइले नजिकबाट चिनेकै व्यक्तिले नै हत्या गरेको हुन सक्छ।’ करिब चार वर्षको उमेरमा आमा गुलावदेवी गुमाएका प्रमोद दाजुभाउजुकै लालनपालन र रेखदेखमा हुर्किएका थिए।
चार बहिनी छोरी रहेका दाजु मनोजले पनि भाइलाई नै छोरासरह मानेर दुःख झेल्दै पढाएर निजामती कर्माचारी बनाए, तर परिवारका लागि केही गर्नै नपाई उनको हत्या भएकोमा गाउँलेहरू पनि स्तब्ध छन्। ‘मेरो भाइले ज्यान नै गुमाउनुपर्ने गरी के गरेको थियो?’ उनले भने, ‘प्रहरीले घटनाको यथार्थ छानबिन गरी तत्काल अपराधीलाई सार्वजनिक गरी कानुनी कारबाही गरोस् ।
अनुसन्धान नतिजा उन्मुख : प्रहरी
घटनालगत्तै, स्थानीय प्रशासनले तत्काल सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान तीव्र बनाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल चढेर आएका दुईजनाको समूहले यादवलाई फोनमार्फत कोठाबाहिर बोलाएर नजिकैबाट छातीको बायाँ भागमा गोली प्रहार गरेर फरार भएका थिए।
मलंगवा नेपाल–भारत सीमासँग नजिक भएकाले घटनामा संलग्न व्यक्ति भारततर्फ फरार भएको आशंका गरिएको भए पनि घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलनसहित विभिन्न कोणबाट अनुसन्धान तीव्र बनाइएको मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। उनका अनुसार सब–इन्जिनियर यादवको हत्याको विषयमा प्रदेश, जिल्लाबाट खटिएको प्राविधिकसहितको विशेष टोलीले अनुसन्धान गरिरहेको छ। ‘अनुसन्धान सकारात्मक र नतिजा उन्मुख छ,’ उनले भने, ‘प्रहरीले छिट्टै अपराधी पक्राउ गरी कानुनी कठघरामा ल्याउँछ।’
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved