प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहाका चार वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले विजयी भएको छ । जेन–जी आन्दोलनपछि बनेको सरकारमा करिब तीन महिना युवा तथा खेलकूद मन्त्री पद चलाएपछि राजीनामा दिएर प्रतिनिधिसभासदस्य निर्वाचन लडेका बब्लु गुप्ताले सिरहा १ बाट ह्याट्रिक गरेका छन् ।
बहुदलीय व्यवस्था पुन:स्थापनापछि भएको २०७९ सम्म भएका सात वटा निर्वाचनमध्ये चार पल्ट निर्वाचित भएको नेपाली कांग्रेसका उम्मेदवारलाई ३१ हजार ५३८ मतको फराकिलो अन्तरले हराउँदै गुप्ता निर्वाचित भएका हुन् । गुप्ता कुल खसेको सदरमतको ४१ हजार ३२२ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत पाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय सिरहा १ का अनुसार निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका नेकपा एमालेका रामशंकर यादव ७ हजार ८८६ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन् भने नेकपाका रामचन्द्र यादव २ हजार ८५३, जसपा नेपालका सत्यनारायण यादव २ हजार २८५ र जनमत पार्टीका रामस्वरुप चौधरीले १ हजार ५८९ मत ल्याएका छन् ।
यो क्षेत्रमा बहुदलीय व्यवस्था पुन:स्थापनापछि २०४८, ०५१, ०७० र ०७४ मा कांग्रेस, ०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल, ०५६ र ०७९ मा नेकपा एमालेले जितेको थियो । ०५६ सालको निर्वाचनमा एमालेबाट निर्वाचित भई तत्कालीन सामान्य प्रशासन मन्त्री बनेका रामचन्द्र यादव यो पल्ट नेकपाबाट प्रत्याशी थिए।
लहान नगरपालिका २३ बथनाहा घर भएका २८ वर्षीय बब्लु गुप्ता ‘१०० ग्रुप नेपाल’ नामको सामाजिक संस्थामार्फत कारोना महामारीको समयदेखि गरिब तथा विपन्नका लागि नि:शुल्क कपडा बैंक र राहत वितरण अभियान संचालन गरेका थिए । कोरोना महामारीको समयमा नि:शुल्क खाना वितरण लगायत सामाजिक अभियानमा सक्रिय गुप्ता २७ भदौमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछिको करिब दुई महिनापछि ९ कात्तिकमा युवा तथा खेलकुद मन्त्री बनाइएका उनले दुई महिना २७ दिनपछि ५ माघमा राजीनामा दिंदै ६ माघमा सिरहा १ बाट उम्मेदवारी दिएका थिए ।
धनगढीमाई नगरपालिका १, २, लक्ष्मीपुरपतारी गाउँपालिका २ र ६, लहान नगरपालिका १ देखि २४, सखुवानन्कारकट्टी तथा भगवानपुर गाउँपालिकाको १ देखि ५ नं। सम्म गरी कुल ४१ वडा पर्ने यो क्षेत्रमा पुरुष ५८ हजार ८५५, महिला ५३ हजार ९४ गरी कुल एक लाख ११ हजार ९४९ मतदातामध्ये बिहीबार सम्पन्न मतदानमा ७० हजार ७६५ जनाले मतदान गरेका थिए । यो क्षेत्रमा विभिन्न साना ठूला दलका १४ र १८ जना स्वतन्त्र गरी ३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
लामो समय कांग्रेसको स्थानीय राजनीति गर्दै जिल्ला पार्टीको उपसभापति, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि समेत रहिसकेका विष्णु गुप्ता (बिसुन बनिया) का छोरा २८ वर्षीय बब्लु गुप्ता युवा तथा खेलकूद मन्त्रीबाट राजीनामा दिएर रास्वपाबाट उम्मेदवार रहेकाले पनि कांग्रेससहित अन्य दलको मत काट्दै युवा पुस्ताको मत तानेर जित निकाल्न सक्ने आँकलन गरिएको थियो । २०७९ को निर्वाचनमा ३०४ मत प्राप्त गरी जमानत समेत जफत भएको यो क्षेत्रमा यसअघि जित्दै आएका दलहरुमा रहेको आन्तरिक कलहको फाइदा उठाउँदै रास्वापले ह्याट्रिक गरेको हो ।
सिराहा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिवशंकर यादव निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालय २ नं. क्षेत्रका अनुसार ३० वर्षीय यादव २६ हजार ७४७ मतान्तरसहित ३९ हजार ५६१ मत ल्याएर निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र यादव १२ हजार ८१४ मतमा सीमित भएका छन्।
सिराहाको सुखीपुर नगरपालिका २ घर भएका यादव काठमाडौंमा बसेर अध्ययन गर्दै आइरहेका यादव जेन–जी आन्दोलनपछि मधेश प्रदेश संयोजकको रूपमा चर्चा पाएका व्यक्ति हुन्।
विभिन्न साना ठुला दलका १४ र १५ स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी दौडमा रहेको यो क्षेत्रबाट २०७९ को निर्वाचन जितेको जसपा नेपालले यो पल्ट उम्मेदवार बनाएका संजीवकुमार यादव ३ हजार ८७ मतसहित चौथो स्थनामा खुम्चिएका छन् भने नेकपा एमालेका नवीनकुमार यादवले ६ हजार ७१३ मत ल्याएका छन्।
अर्नमा गाउँपालिकाको ४ र ५, औरही गाउँपालिकाको १ देखि ५, गोलबजार नगरपालिका १३, धनगढीमाई नगरपालिका ३ देखि १४, नवराजपुर र बरियारपट्टी गाउँपालिकाको १ देखि ५, लक्ष्मीपुरपतारी गाउँपालिकाको १ र सुखीपुर नगरपालिका १ देखि १० नं. गरी कुल ४१ वडा पर्ने यो क्षेत्रका पुरुष ६२ हजार ६५२ र महिला ५३ हजार १०६ मतदातामध्ये बिहीबार सम्पन्न मतदानमा ७३ हजार १७५ जनाले मतदान गरेका थिए।
सिरहा क्षेत्र नं. ३ मा रास्वपाका शम्भुकुमार यादव निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय सिरहाका ३ का अनुसार रास्वपाका शम्भुकुमार यादवले राजनीतिका चतुर खेलाडी मानिने नेकपा एमालेका लिलानाथ श्रेष्ठलाई २२ हजार ९३ मतको अन्तरले हाउँदै जित निकालेका हुन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार चिकित्सक पेशाका रास्वपाका ४१ वर्षीय यादवले ३२ हजार २४९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका श्रेष्ठ १० हजार १५६ मतमा सीमित भएका छन् । घोषित मतगणना परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीका विश्वनाथ साह नाै हजार ९४२, नेपाली कांग्रेसका सुभाषचन्द्र यादव ९ हजार ८७९ र जसपा नेपालका अशेश्वर यादव ५ हजार ६७१ मतसहित पाँचौं स्थानमा खुम्चिएका छन् । २०७९ को निर्वाचनमा २८ हजार ६४ मतसहित निर्वाचित भएका एमालेका श्रेष्ठले यो पल्ट त्यतिबेला प्रत्यक्षतर्फ पाएको मतको करिब एक तिहाईभन्दा थोरै बढी मत पाएका हुन् ।
अर्नमा गाउँपालिका १, २, ३, गोलबजार नगरपालिका १ देखि १२, नरहा गाउँपालिका १ र २, विष्णुपुर गाउँपालिका १ र ५ तथा सिरहा नगरपालिकाका २२ वडा गरी कुल ४१ वडा रहेको यो क्षेत्रमा रहेका कुल एक लाख १९ हजार २५० मतदातामध्ये बिहीबार सम्पन्न मतदानमा ७६ हजार ४३० जनाले मतदान गरेका थिए । यो क्षेत्रमा विभिन्न साना ठूला दलका १२ र २९ स्वतन्त्र गरी ४१ जना प्रतिस्पर्धामा थिए ।
सिराहाको निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तपेश्वर यादव २८ हजार ९३८ मतसहित फराकिलो मतान्तरले निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ४ का अनुसार करिब आधा घण्टाअघि सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार यादव ३६ हजार २१० मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका अजयशंकर नायकले ७ हजार ९७२ मत ल्याएका छन् । नरहा गाउँपालिका ५ नरहा घर भएका ३३ वर्षीय इञ्जिनियर यादव रास्वपाका मधेश प्रदेश सभापति समेत हुन् ।
२०७९ को निर्वाचनमा जसपा नेपालबाट २४ हजार १०२ मतसहित निर्वाचित भएर वन तथा भू संरक्षण मन्त्री समेत भई निर्वाचनको मुखमा जनमत पार्टी प्रवेश गरेका वीरेन्द्रप्रसाद महतो ५ हजार ४१ मतसहित तेस्रो तथा नेकपा एमालेका धर्मनाथ प्रसाद साह ४ हजार ७२७ मतसहित चौथो स्थनामा खुम्चिएका छन् ।
उक्त क्षेत्रमा एक्ली महिला उम्मेदवार कांग्रेसकी चन्द्रकलाकुमारी यादव ४ हजार ६१ मत ल्याएकी छन् भने २०७९ को निर्वाचनमा सिराहा २ नं.मा निर्वाचित भई उक्त क्षेत्र छोडेर यो पल्ट आफ्नै गृहक्षेत्र फर्किएका जसपा नेपालका राजकिशोर यादवले ३ हजार ४८४ मत ल्याएर छैटाैँ स्थानमा चित्त बुझाउनु परेको छ ।
जिल्लाको पश्चिमी भेगमा पर्ने कल्याणपुर नगरपालिकाको १ देखि १२, नरहा गाउँपालिकाको ३, ४, ५, मिर्चैया नगपालिका १ देखि १२, विष्णपुर गाउँपालिका २, ३ ४, कर्जन्हा नगरपालिका १ देखि ११ नं. वडा गरी ४१ वडा रहेको उक्त क्षेत्रमा ५६ हजार ७१७ पुरुष, ४९ हजार ९६९महिला गरी एक लाख ६ हजार ६८६ मतदातामध्ये यो पटक ७० हजार ७७ जनाले मतदान गरेका थिए ।
विभिन्न साना ठूला दलका १५ र २२ जना स्वतन्त्र गरी कुल ३७ जनाको मनोनयन परेको भएपनि आम आदमी पार्टीका बीरेन्द्रप्रसाद साहले उम्मेदवारी फिर्ता लिएपछि ३६ जना चुनावी प्रतिस्पर्धामा थिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved