प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत २१ फागुनमा भएको मतदानमा प्रत्यक्षतर्फ सिराहाका चारवटै निर्वाचन क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत प्राप्त गरेको छ।
जिल्ला निर्वाचन कार्यालय सिराहाका अनुसार रास्वपाले समानुपातिकतर्फ जिल्लाको चारवटै क्षेत्रको कुल सदर मत (दुई लाख ७९ हजार ४२९)को ५७.५५ प्रतिशत अर्थात् एक लाख ६० हजार ८२४ मत प्राप्त गरेको छ। समानुपातिकतर्फको मतगणनाको अन्तिम परिणामअनुसार रास्वपाले क्षेत्र नं १ मा ४१ हजार ५३६, क्षेत्र नं २ मा ४१ हजार ९७२, क्षेत्र नं ३ मा ३७ हजार ९५८ र क्षेत्र नं ४ मा ३९ हजार ३५८ मत प्राप्त गरेको छ।
नेपाली कांग्रेसले कुल ३३ हजार ३८८, नेकपा (एमाले)ले २६ हजार ९१ र नेपाली कम्युनिस्ट पार्टीले १९ हजार ३६८ मत प्राप्त गरेका छन्। त्यस्तै, जनता समाजवादी पार्टी नेपालले १५ हजार ४९१, जनमत पार्टीले १० हजार ७३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ३९२ मत प्राप्त गरेका छन्।
जिल्लाका चारवटै क्षेत्रमा समानुपातिकतर्फ योपटक चार लाख ५६ हजार २१७ मतदातामध्ये दुई लाख ८९ हजार ९७७ मत खसेको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिए। उनका अनुसार समानुपातिकमा खसेको मतमध्ये दुई लाख ७९ हजार ४२९ मत सदर र १० हजार ५४८ मत बदर भएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved