प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत २१ फागुनमा भएको मतदानको प्रत्यक्ष र समानुपातितर्फको अन्तिम परिणामअनुसार सिराहामा ठुला र पुराना दलबाट उम्मेदवार रहेका सात पूर्वमन्त्रीहरूमध्ये पाँचजनाको जमानत जफत भएको छ।
निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत पनि मत ल्याउन नसकेर जमानत जोगाउन नसकेका पूर्वमन्त्रीहरूमा सिराहाका ४ नं. क्षेत्रमा सबैभन्दा बढी छ। उक्त क्षेत्रमा नेकपा एमालेका धर्मनाथप्रसाद साह, जसपा नेपालका राजकिशोर यादव, जनमत पार्टीका वीरेन्द्रप्रसाद महतो र बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले जमानत जोगाउन सकेनन्।
सोही क्षेत्रबाट नेकपाका उम्मेदवार तथा पूर्वमन्त्री अजयशंकर नायकले निकटतम् प्रतिद्वन्द्वीको रूपमा जमानत जोगाएका छन् भने ३ नं. क्षेत्रमा पूर्वमन्त्री रहेका एमाले उम्मेदवार लीलानाथ श्रेष्ठको पनि जमानत जोगिएको छ। सिराहा १ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहेका पूर्वमन्त्री रामचन्द्र यादव पनि जमानत जोगाउन नसकेका पूर्वमन्त्रीहरूको सूचीमा परेका छन्।
कुन क्षेत्रमा कसको जफत?
सिराहा १ बाट विगतमा आलोपालो निर्वाचन जित्दै आएका कांग्रेस, एमालेलाई पछि पार्दै योपटक रास्वपाबाट निवर्तमान युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बाजी मार्दा कांग्रेसका रामसुन्दर चौधरी र एमाले उम्मेदवार तथा विर्तमान सांसद रामशंकर यादवले मात्र सदर मतको १० प्रतिशत कटाउन सफल भए। निर्वाचनको दौडमा रहेकामध्ये तीन जनाबाहेक ११ जना विभिन्न दल तथा १८ जना स्वतन्त्र गरी २९ जना उम्मेदवारको जमानत जफत भएको छ।
यो क्षेत्रमा कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वी हुँदा निवर्तमान प्रतिनिधिसभा सदस्य रामशंकर ७ हजार ८८६ मतसहित तेस्रो स्थानमा खुम्चिए। २०६३ सालमा भएको मधेश विद्रोहको बिरासत बोकेको जसपा नेपालका सत्यनारायण यादव दुई हजार २८५, जनमत पार्टीका रामस्वरूप चौधरीले मत मात्र पाएका छन्। यो क्षेत्रमा रहेका एक लाख ११ हजार ९४९ मतदातामध्ये प्रत्यक्षतर्फ खसेको ७१ हजार ५२ मतमध्ये ६७ हजार ३५२ मत सदर भएको थियो।
त्यस्तै, सिराहा क्षेत्र नं. २ मा विभिन्न दलका १४ र १५ स्वतन्त्र गरी २९ जना उम्मेदबारमध्ये रास्वपाका शिवशंकर यादव ३९ हजार ५६१ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति र संविधानसभा सदस्यसमेत रहेका रामचन्द्र यादवले १२ हजार ८१४ मतमा सीमित हुँदा पनि जमानत भने जोगाएका छन्। त्यसबाहेक एमालेका नवीनकुमार यादव ६ हजार ७१३, नेकपाका मुक्तिनारायण सिंह ३ हजार ६८०, जनमत पार्टीका विनोदकुमार यादवले २ हजार ३६० मत ल्याएको यो क्षेत्रमा जसपा नेपालका उम्मेदवार संजीवकुमार यादव ३ हजार ८७ ल्याए पनि उनीसहित २७ जनाले जमानत जोगाउन सकेनन्। यो क्षेत्रमा खसेको ७३ हजार ७९ मतमध्ये ६९ हजार ६४३ मत सदर भएको थियो।
जिल्लामै सबैभन्दा बढी एक लाख १९ हजार २५० मतदाता रहेको क्षेत्र नं. ३ मा खसेको ७५ हजार ५०० मत खस्दा सदर मत ७० हजार ६४१ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यो क्षेत्रमा रास्वपाका शम्भुकुमार यादव ३२ हजार २४९ मत ल्याउँदा निवर्तमान सांसदमेत रहेका एमालेका लीलानाथ श्रेष्ठ १० हजार १५६ मतमा सीमित भए।
नेकपाका विश्वनाथ साह ९ हजार ९४२, नेपाली कांग्रेसका सुभाषचन्द्र यादव ९ हजार ८७९ ल्याएर जमानत जोगाए, तर २०७४ को निर्वाचनमा श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी रहेका जसपाका अशेश्वर यादव ५ हजार ६७१ मतसहित पाँचौँ स्थानमा खुम्चिएनन् मात्र, जमानतसमेत जोगिएन । यो क्षेत्रमा जनमतका रोहित महतो, उज्यालो नेपाल पार्टीका श्रवणकुमार पासवान, राप्रपाका देवदयाल सिंह, प्रलोपाका पूजनकुमार सिंह, आम आदमी पार्टीकी ज्ञानुदेवी दनुवारसहित आठजना दलीय र २९ जना स्वतन्त्र गरी ३७ जनाको जमानत जफत भएको छ।
पाँचजना पूर्वमन्त्रीहरूको उम्मेदवारी परेपछि चर्चामा रहेको क्षेत्र नं. ४ मा रास्वपाका तपेश्वर यादव ३६ हजार २१० मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी पूर्वमन्त्रीसमेत रहेका नेकपाका अजयशंकर नायकले ७ हजार ९७२ मत ल्याएर जमानत जोगाए। त्यसबाहेक २०७९ मा निर्वाचित भएपछि वन तथा भूसंरक्षणमन्त्री बनेका जनमतका वीरेन्द्रप्रसाद महतो ५ हजार ४१, एमालेका धर्मनाथप्रसाद साह ४ हजार ७२७, क्षेत्रमै एक्ली महिला उम्मेदवार कांग्रेसकी चन्द्रकलाकुमारी यादव ४ हजार ६१ मत ल्याइन्, तर जमानत जोगाउन सकिनन्।
जमानत जोेगाउन नसक्नेमा २०७९ को निर्वाचनमा सिराहा २ बाट निर्वाचित भएका जसपा नेपालका राजकिशोर यादव पनि हुन्, जसले योपल्ट आफ्नै गृहक्षेत्र फर्किंदा ३ हजार ४८४ मत ल्याएर छैटाैँ स्थानमा चित्त बुझाउनुपर्यो। यो क्षेत्रमा प्रतिस्पर्धी रहेका ३६ मध्ये ११ जना दलीय र २३ स्वतन्त्र गरी ३४ जनाको जमानत जफत भएको छ। जिल्लाको चार क्षेत्रमा विभिन्न साना-ठुला दलका ५३ मध्ये ४२ र स्वतन्त्र ८५ गरी एक सय २७ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved