रास्वपा सांसदको अभिमुखीकरण : संसद्मा काम गर्ने तत्परता, जनादेश पूरा गर्ने प्रतिबद्धता

  • चैत ४, २०८२ | १४० पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्याससम्बन्धी अभिमुखीकरण सुरु गरेको छ । संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्दै जनादेशलाई परिणाममा रूपान्तरण गर्ने लक्ष्यसहित सञ्चालन गरिएको प्रशिक्षणमा सहभागी सांसदहरूले जिम्मेवारीबोधका साथ काम गर्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । ललितपुरस्थित ग्वार्काेमा मंगलबारदेखि सुरु दुईदिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा पूर्वसचिवहरू तथा अघिल्लो कार्यकालका अनुभवी सांसदहरूले सहजीकरण गरेका छन् । रास्वपाका सांसदहरूले यसलाई संसदीय पाठशाला भनेका छन् । हालै सम्पन्न प्रतिनिधिसभामा रास्वपाले १२५ प्रत्यक्ष र ५७ समानुपातिक गरी १८२ सिटमा जित हासिल गरेको छ, जसमध्ये १३ जनाबाहेक सबै नयाँ हुन् । 

महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट बुझाइदिन अभिमुखीकरण गरिएको बताए । ‘प्रशिक्षणको उद्देश्य सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बनाउन, पार्टीको रणनीति, दृष्टिकोण तथा नीतिगत प्राथमिकता स्पष्ट गराउन र संसद्, सरकार तथा निर्वाचन क्षेत्रबिच समन्वय गर्न सक्षम बनाउनु हो,’ उनले भने । 

उपसभापति स्वर्णिम वाग्लेले निर्वाचनबाट प्राप्त जनमतलाई न्याय गर्ने जिम्मेवारी सबैले बोध गर्नुपर्ने बताए । विगतका बहुमत सरकारहरूको अस्थिरताको अनुभव स्मरण गर्दै उनले वर्तमान जनादेश अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे । ‘हामी कानुन बनाउन आएका हौँ । सत्ता पक्षमा भए पनि सरकारको निगरानी गर्नुपर्छ । ‘नो इफ, नो बट’मा काम गरेर देखाउनुपर्छ,’ उनले भने, ‘फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ, खेलको नियममा पारंगत हुनुपर्छ । संसद् पनि कलेजजस्तै हो । पदको गरिमालाई न्याय गर्न, आफूलाई त्यहाँ पुर्‍याउन मिहिनेत गर्नुपर्छ ।’

वाग्लेले अध्ययनलाई ध्यान दिन सांसदहरूलाई निर्देशन दिए । ‘पार्टीकै धारणा अध्ययन गर्ने, वाचापत्र दोहोर्‍याएर, तेहर्‍याएर पढ्नुहोला । ०७९ को वाचापत्र पनि पढ्नुहोला । सभापतिले पेस गर्नुभएको राजनीतिक प्रस्तावना र जलेश्वर बैठकको प्रतिवेदन अध्ययन गर्नुहोला,’ उनले भने । उनले सरल जीवनशैली अपनाउन पनि निर्देशन दिए । ‘पारदर्शी र अनुकरणीय हुनुपर्नेछ । पृथक् र फरक होस् । सम्पत्ति विवरण, आर्थिक स्रोतको पारदर्शिता र आचरणमा ध्यान दिनुहोला । मतदाता र आफ्नो क्षेत्र, अन्य दल, विज्ञ, मिडियासँगको बहुआयामिक सम्बन्धमा ध्यान दिनुहोला । ज्ञान र संस्कारमा आधारित परिपक्व राजनीति गर्न यहाँ आएका छौँ,’ उनले भने, ‘यसअघिको कार्यकाल असाध्यै उदाहरणीय भयो । पुरानाप्रतिको वितृष्णा र नयाँप्रतिको आशाका रूपमा यो समूहले गर्छ भनेर हामीलाई त्यो जिम्मेवारी सुम्पिएको छ, यसलाई न्याय गरौँ ।’

उपसभापति डोलप्रसाद अर्यालले ०७९ को संसद्मा रहेर सकेसम्म काम गरेको भन्दै संख्या नपुगेको बताए । ‘तर, संख्या पुगेन । अनि स्कुले केटाकेटी झोला बोकेर सडकमा निस्किए । तत्कालीन सरकार क्रूर बनेर हत्या भयो । भदौ २३ र २४ को घटना भयो । त्यसपछि निर्वाचन भयो । अहिले देशले जितेको छ,’ उनले भने, ‘अब मेरा लागि सरकार छ भनेर काम गर्नुपर्नेछ । विदेशमा रहेका नेपालीलाई फर्काउन सक्ने वातावरण बनाउने गरी काम गर्नुपर्छ,’ उनले भने । 

उपसभापति अर्यालले निर्वाचनमा प्राप्त जनादेश बालेन र रविप्रतिको विश्वास भएको बताए । ‘साथै, विगतमा दलहरूले गरेको गलत कार्य, कुशासनको परिणाम पनि हो,’ उनले भने, ‘ल अब तपाईंहरूलाई म्यान्डेट भनेर गहु्रँगो जिम्मेवारी दिएका छन् । हामीले गम्भीर रूपमा लिएर जानुपर्छ । गम्भीर समय र मोडमा बन्न लागेको सरकार महŒवपूर्ण छ । यो सदुपयोग गर्न सकेनौँ भने आफूलाई क्षमा गर्न सकिनेछैन ।’ 

अर्यालले संविधान, कानुन र विधानअनुसार काम गर्न सांसदहरूलाई निर्देशन दिए । ‘हामी आन्तरिक द्वन्द्व, खिचातानी र खुट्टा तान्ने प्रवृत्तिबाट धेरै पर पुग्नुपर्नेछ । आगामी चुनावमा हामीले विपक्षीको हैसियत पनि नआउने अवस्था नहोस्,’ उनले भने । प्रशिक्षणमा केन्द्रीय सदस्य अरनिको पाँडेले रास्वपाले तथ्यांकमा आधारित नीति निर्माण गर्ने बताए । ‘रास्वपा सांसद विलासितामा रमाउँदैनन्, जनतामाझ बस्छन् । घमन्ड गर्दैनन्, लाइन मिच्दैनन् । कुरा कम, काम धेरै गर्छन् । अनावश्यक आसनग्रहणमा समय व्यतीत गर्दैनन्,’ उनले भने । 

सभापति लामिछाने र वरिष्ठ नेता बालेन अनुपस्थित
उपसभापति डिपी अर्यालका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह स्वास्थ्य र व्यस्तताका कारण उद्घाटन सत्रमा सहभागी हुन सकेनन् । ‘दुवैजनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यस्तताको कारणले उद्घाटन सत्रमा उपस्थित हुन सक्नुभएको छैन । सम्भव भएसम्म भोलि कार्यक्रम समापन हुनुभन्दा अगाडि उपस्थित गराउने कोसिस गर्छाैँ,’ उनले भने । 

 निर्वाचित सांसदहरू भन्छन्– जिम्मेवारीबोधका साथ काम गर्न उत्साहित छौँ
मोरङ ६ मा शेखर कोइरालालाई हराउँदै निर्वाचित ३१ वर्षीया रुविना आचार्यले जिम्मेवारीबोधसहित समूहमा काम गर्न उत्सुक रहेको बताइन् । उनले शपथअगाडिको अभिमुखीकरण एकले अर्कालाई चिन्ने राम्रो अवसर भएको सुनाइन् । ‘साथीहरूलाई न्युजमा हेरिरहेका थियौँ । सबैजना प्रत्यक्ष भेट्न पाएका थिएनौँ । गफ गर्ने र बुझ्ने मौका पाएका छौँ,’ उनले भनिन्, ‘फ्रेस ऊर्जा लिएर आएका छौँ । सुशासन र भ्रष्टाचाररहित समाज निर्माणका लागि उत्सुक भएर अगाडि बढ्नुपर्छ । सुशासनको बिउ हामीले नै रोप्ने हो । जिम्मेवारीको महसुस भएको छ । जनताको जनादेश शिरोधार्य गर्दै अगाडि बढ्छौँ ।’ 

धादिङ १ बाट निर्वाचित आशिका तामाङले जनतासामु कसरी काम गर्ने, कस्तो नियम–कानुन बनाउने भनेर धेरै बुझ्ने मौका पाएको बताइन् । ‘पहिलो काम सुशासन स्थापना गरेर भ्रष्टाचार अन्त्य गर्नु छ । त्यसका लागि सदनमा भूमिका खेल्छौँ,’ उनले भनिन् । यस्तै, गुल्मी १ बाट निर्वाचित सागर ढकालले जिम्मेवारबोधका साथ प्राप्त शक्तिलाई देश रूपान्तरणका लागि प्रयोग गर्न चाहेको बताए । ‘संसदीय अभ्यासबारे अभिमुखीकरणले राम्रो सिकाइ भएको छ,’ उनले भने । 

ओखलढुंगाबाट निर्वाचित विश्वराज पोखरेलले सांसदले खेल्ने भूमिका, टिम निर्माण, आपसी क्षमता आदानप्रदानमा अभिमुखीकरणले सहयोग पुगेको बताए । उनले जनअपेक्षा पूरा गर्न इमानदारीपूर्वक धेरै मिहिनेत गर्नुपर्ने सुनाए । ‘सुरुको दिनदेखि नै डेलिभरीलाई प्रभावकारी ढंगले लान सकेनौँ भने फेरि जनताले प्रश्न उठाउन सुरु गर्छन् । प्रश्न उठ्दै गयो भने फेरि कठिन हुँदै जान्छ,’ उनले भने, ‘त्यसैले सरकार गठन भएको दिनदेखि नै एकदम स्पिडमा जनताको विश्वास र भरोसालाई जित्ने ढंगले अगाडि जानुपर्छ ।’ 

चितवन ३ बाट निर्वाचित सोविता गौतमले विगतको अनुभवले यसपटक धेरैभन्दा धेरै काम गर्न सकिन्छ भन्ने उत्साह रहेको बताइन् । ‘अघिल्लोपटक संसदीय अभ्यासबारे अनुभव थिएन । अहिले अनुभवसहित आएका छौँ । संसदीय अभ्यासलाई उच्चतम तहको नमुनाका रूपमा स्थापित गर्ने गरी काम गरौँ भन्ने हिसाबले लाग्छु,’ उनले भनिन्, ‘सरकार र मन्त्रीका कामकारबाहीलाई यसपटक संसद्ले सन्तुलनमा राख्ने गरी काम गर्छौँ । विगतको जस्तो रबरस्ट्याम्प हुँदैन, सन्तुलन हुन्छ ।’

झापा १ बाट निर्वाचित निशा डाँगीले पहिला नै संसदीय प्रक्रियाबारे परिपक्व बनाउन अभिमुखीकरण राखिएको बताइन् । समानुपातिकभन्दा प्रत्यक्ष निर्वाचित हुँदा जनअपेक्षा धेरै भएको र त्यसअनुसार काम सुरु गरिएको उनले बताइन् । ‘विगतमा संसद् सरकारको कठपुतली बन्यो । यसपटक सरकारलाई जवाफदेही बनाउने भूमिकामा संसद् रहन्छ,’ उनले भनिन् । 

गोरखा १ बाट निर्वाचित सुदन गुरुङले ठुलो जिम्मेवारीका बिच धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए । पहिला सडकमा हुँदा जनताका मुद्दामा काम गर्दै आएको उल्लेख गर्दै गुरुङले भने, ‘सिस्टमबाहिर बसेर जहिले आवाज उठाएर नहुने रहेछ भन्ने प्रस्ट बुझेँ । तर, त्यसरी हुँदो रहेनछ,’ उनले भने, ‘अब आफैँ गएर सिस्टममा बसेर सिस्टम नै चेन्ज गर्नुपर्ने भयो । बाध्यताले आयौँ । अब धेरै कुरा गर्छाैँ । चुनौती छ, तर पार लाइन्छ । जबसम्म देश बन्दैन, तबसम्म रोकिँदैन ।’

सर्लाही १ बाट निर्वाचित नीतिमा भण्डारी कार्कीले उत्साहका साथै जिम्मेवारीबोध भएको बताइन् । ‘वर्कसपले टिम बिल्डिङ र सांसदको जिम्मेवारी सिकाएको छ,’ उनले भनिन्, ‘हाम्रोमा ९९ प्रतिशत किसान हुनुहुन्छ, उहाँहरूले उत्पादनको भाउ पाउनुभएको छैन । किसानको हितमा हेरेर कानुन बनाउने इच्छा छ ।’समानुपातिक सांसद विदुषी राणाले सांसद भएर आउँदा देश बनाउने मौका पाएको बताइन् । ‘नयाँ नेपाल निर्माणको अभियानमा म पनि जोडिन पाउँदा एकदम खुसी लागेको छ,’ उनले भनिन् । राणाले सांसदको जिम्मेवारीलाई अवसरका रूपमा हेरेको र औद्योगिकीकरणमा आफ्नो विज्ञता प्रदर्शन गरेर योगदान गर्ने बताइन् । 

यौनिक तथा अल्पसंख्यक समुदायबाट सांसद बनेकी भूमिका श्रेष्ठले काम गर्न एकदमै उत्साहित रहेको बताइन् । ‘इतिहासमै पहिलोपटक ट्रान्सजेन्डर समुदायबाट संसद्मा पुग्दै छु । एकदमै उत्साहित छु । काम गर्न इच्छुक छु,’ उनले भनिन्, ‘म आफैँ उपस्थित हुँदा हाम्रो समुदायका एजेन्डा कार्यान्वयन गर्न सहज हुन्छ । सम्पूर्ण टिमले सहयोग गर्नुहुन्छ जस्तो लाग्छ । नागरिकता, स्वास्थ्य, शिक्षा र रोजगारीलगायत धेरै एजेन्डामा काम गर्छु ।’ 

पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद ज्वाला संग्रौलाले अभिमुखीकरणबाट धेरै सिकाइ भएको सुनाइन् । ‘अभिमुखीकरणले संसद्को दैलो नटेकेकाको क्युरिसिटीलाई सम्बोधन गरेको छ । एकदमै नयाँ अनुभव भएको छ । उत्साहजनक ढंगले सिकिरहेका छौँ,’ उनले भनिन्, ‘काम गर्न प्रतिबद्ध छौँ, अब द्रुत गतिमा काम हुन्छ ।’ अब बन्ने सरकारमा सुदूरपश्चिम र कर्णालीजस्ता पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुने आस पलाएको उनले बताइन् । महोत्तरी २ बाट निर्वाचित डा. दीपककुमार साहले जनताको मुहारमा हाँसो ल्याउने जिम्मेवारी पूरा गर्न आफूहरू आएको बताए ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब