सिरहा । सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवले नगरपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई कुटपिट गरेको छ ।
बिहान ९ बजे लेखा शाखामा हाजिरी गर्न रजिस्टार पल्टाउँदै गर्दा मेयर यादव अचानक आएर गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेको रामशरणले बताए । उनी नगरपालिकाको स्वास्थ्य शाखामा २४ वर्षदेखि काजमा कार्यरत छन् ।
कुटपिटको घटना प्रति घोर भत्र्सना गर्दै तीन बुदेँ माग राखि नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु एकजुट भई चैत्र २४ गतेबाट नगरपालिकाको कामकाज ठप्प पारी अनिश्चितकालीन तालाबन्दी गरी आन्दोलनका घोषणा गरेका छन्।
पिडितलाई निःशुल्क उपचार र उचित क्षतिपूर्ती, नगर प्रमुखमाथि प्रचलित कानून बमोजिम कडा करवाही र कर्मचारीको शान्ति सुरक्षा र आत्मसम्मनपूर्वक काम गर्ने वातावरणको माग राखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन्।
किन भयो घटना ?
सिरहा नगरपालिका–१५ सुकचेनाका स्थायी बासिन्दा उनको दरबन्दी भने सिरहा नगरपालिका–२० लगडी गदियानीस्थित स्वास्थ्य चौकीमा छ । नगरपालिकाले विधि प्रक्रिया पु¥याएर कर्मचारीलाई जहाँ पनि पठाउन सक्ने बाटो हुँदाहुँदै पनि कुटपिट गर्दै आफूलाई यहाँबाट दरबन्दी भएको ठाउँमा जान भनेको पीडित कार्यालय सहयोगीले बताए ।
’हामी कर्मचारीलाई सरुवा गर्ने अधिकार त उहाँहरूसँग छँदैछ नि, मलाई आधिकारिक रूपमा सरुवा गरेको भए र मैले नमानेको भए एउटा कुरा हुन्थ्यो,’ उनले भने, ’तर, म हाजिरी गर्न लागिरहँदा अचानक आएर तिमी दरबन्दी भएको ठाउँमा जाउ भन्दै एक्कासी कुटपिट गर्न थाल्नुभयो।’
पिडित यादबलाई सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर रेफर गरेको छ । यता मेयर यादवले भने आफूले ती कर्मचारीलाई कुटपिट गरेको कुरा गलत भएको दाबी गरेका छन् । आफूले हाजिरी गर्न रोक्दा उनी आफैं रुन र कराउन थालेको मेयर यादवको दाबी छ ।
’मैले कुटपिट गरेको होइन, काजको कर्मचारीले अहिले हाजिरी नगर्नु भनेर रोक्न खोज्दा त्यतिकैमा उनी आफैं रुन कराउन थाले,’ उनले भने, ’यसलाई थुन्न लगाउनुपर्छ भनेर मैले नै बोलाएको प्रहरीले उनलाई अस्पताल लगेको रहेछ, यो सबै नौटंकी हो ।’
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved