सिरहा । सिरहा नगरपालिका मेयर डा.नवीन कुमार यादबमाथि अभद्र व्यवहारको मुदा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत सार्वजनिक शान्ति भंग गर्ने, गालीगलौज गर्ने, अश्लील व्यवहार गर्ने वा मानसिक दबाब दिने कार्य विरुद्ध उक्त मुदा मेयर यादब माथि चलाएको छ ।
कर्मचारीमाथि कुटपिट भएको आरोपपछि उत्पन्न विवाद संस्थागत रूप लिँदै गएको छ । घटनाको विरोधमा नगरपालिकाका कर्मचारीहरूले आज तेस्रो दिन पनि कार्यालयका कामकाज ठप्प पार्दै अनिश्चितकालीन आन्दोलन गरिरहेका छन् ।
आन्दोलनमा उत्रेका कर्मचारीहरुले बुधवार एक विज्ञप्ती मार्फ सम्पूर्ण सरकारी कार्यालय, गैरसरकारी संघ संस्था, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा न्यायप्रेमी जनसमुदायहरुलाई आन्दोलनमा ऐ्क्यवद्धता र सहभागिता जनाउन अपिल पनि गरेका छन् ।
कार्यालय सहयोगी रामशरण यादवमाथि कुटपिट भएको आरोप सार्वजनिक भएसँगै विवाद चर्किएको हो । कर्मचारीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै औपचारिक रूपमा अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् ।
पिडित कर्मचारीको उपचार विराटनगरमा भईरहेको छ । उनको रिडको करङ्कको हड्डी भाँचिएको परिवारिक स्रोतले जानकारी दिइएको छ । नगर प्रमुखको तर्फबाट उपचारका लागि कुनै पनि पहल नभएको पिडितका परिवारले जनाएका छन् ।
आरोप र प्रतिवाद
पीडित रामशरण यादवका अनुसार सोमबार बिहान करिब ९ बजे हाजिरी गर्न रजिस्टर पल्टाइरहेका बेला नगर प्रमुख नवीन कुमार यादव अचानक आएर गालीगलौज गर्दै लात–मुक्काले कुटपिट गरेका थिए । ५० वर्षीय यादव विगत २४ वर्षदेखि स्वास्थ्य शाखामा काजमा कार्यरत छन् भने उनको दरबन्दी सिरहा नगरपालिका–२० स्थित लगडी गदियानी स्वास्थ्य चौकीमा रहेको छ ।
उनका अनुसार विधिसम्मत प्रक्रिया नअपनाई दरबन्दी भएको स्थानमा जान दबाब दिँदै कुटपिट गरिएको हो । “सरुवाको अधिकार जनप्रतिनिधिसँग भए पनि प्रक्रिया नअपनाई कुटपिट गर्नु अन्याय हो,” उनले भने ।
यता, नगर प्रमुख यादवले आरोप अस्वीकार गर्दै घटना फरक ढंगले भएको दाबी गरेका छन् । उनका अनुसार हाजिरी तथा काज व्यवस्थापनसम्बन्धी विषयमा सोधपुछ गर्दा विवाद चर्किएको र सम्बन्धित कर्मचारी भाग्ने क्रममा लडेर घाइते भएका हुन् । उनले घटनापछि प्रहरीमार्फत घाइते कर्मचारीलाई प्रादेशिक अस्पताल सिरहामा पठाएर उपचारको व्यवस्था मिलाइएको बताएका छन्।
आन्दोलन र माग
घटनापछि नगरपालिकाका कर्मचारीहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन सुरु गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनीका अनुसार विज्ञप्तिमा जनप्रतिनिधिबाट कर्मचारीमाथि भएको व्यवहारलाई “अमानवीय र निन्दनीय” भन्दै कडा आपत्ति जनाइएको छ ।
कर्मचारीहरूले तीन बुँदे माग अघि सारेका छन्—पीडितको निःशुल्क उपचार, उचित क्षतिपूर्ति तथा दोषीमाथि कानुनी कारबाही । साथै, कार्यालयभित्र सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्नुपर्ने मागसमेत गरिएको शाखा अधिकृत तथा कर्मचारी अध्यक्ष बलिराम यादवले जानकारी दिए ।
जनस्वास्थ्य अधिकृत मो. इद्रिश राईनका अनुसार कर्मचारीहरूले मंगलबारदेखि कामकाज पूर्ण रूपमा ठप्प पार्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । यसअघि उनीहरूले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाउनुका साथै जिल्ला प्रहरी कार्यालयमा समेत निवेदन दिएका थिए ।
सेवा प्रवाहमा असर
कर्मचारी आन्दोलनका कारण नगरपालिका तथा मातहतका २२ वटै वडाबाट प्रदान हुने दैनिक सेवा प्रभावित भएको छ। नागरिकता सिफारिस, योजना कार्यान्वयन, राजस्व संकलनलगायतका सेवा अवरुद्ध हुँदा सेवाग्राही प्रत्यक्ष मारमा परेका छन् ।
प्रशासनिक संकटको संकेत
यस घटनाले स्थानीय तहभित्र जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा गम्भीर प्रश्न उठाएको छ । विवाद समाधान नहुँदा प्रशासनिक संयन्त्र नै अवरुद्ध हुने जोखिम देखिएको छ ।
हालसम्म घटनाबारे आधिकारिक छानबिन सुरु भएको पुष्टि नभए पनि दुवै पक्षका परस्पर विरोधी दाबीबीच सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिनको माग तीव्र बन्दै गएको छ ।
सिरहा नगरपालिकामा देखिएको यो विवाद केवल व्यक्तिगत झगडामा सीमित नभई समग्र स्थानीय शासन प्रणाली, कर्मचारी–जनप्रतिनिधि सम्बन्ध र प्रशासनिक उत्तरदायित्वसँग जोडिएको गम्भीर विषय बनेको छ ।
सरोकारवालाहरूका अनुसार छिटो, निष्पक्ष र पारदर्शी छानबिन गरी जिम्मेवारी निर्धारण नगरिए सेवा प्रवाह पूर्ण रूपमा ठप्प हुनुका साथै स्थानीय तहप्रतिको जनविश्वाससमेत कमजोर हुने खतरा बढ्दै गएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved