लहान नगरपालिका– २१ कालाबञ्जर गाउँमा पाँच दिनअघि शनिबार साँझ आएको हावाहुरी प्रभावित दलित बस्तीको घर नगरपालिकाले बनाइदिने भएको छ ।
हावाहुरीले दलित बस्तीमा कतिपयको घरको छानो उडाउनुका साथै बस्नै नसक्ने भएपछि नागरिकको सुरक्षित आवासका लागि नगरपालिकाले घर बनाइदिन लागेको हो। ह्याबिट्याट फर ह्युम्यानिटीसँगको साझेदारीमा बस्तीमा २१ वटा नयाँ घर र फुसको छाना उडेका सातवटा घरमा जस्ता हालिने नयाँ घर बनाउन लागिएको नगर प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।
नगर प्रमुख चौधरीले मंगलबार हावाहुरी प्रभावित बस्ती पुगेर निरीक्षण गर्दै केही साताभित्रै निर्माण सुरु गर्ने गरी प्राविधिकहरूले नापजाँच थालनी गरेको उनले बताए । ‘नगरवासीको सुरक्षित बसोबास, शिक्षा, स्वास्थ्यलाई नगरले मुख्य प्राथमिकता दिएको छ,’ उनले भने, ‘वातावरणमैत्री पक्की घर बनेपछि सधैँका लागि ढुक्क हुन्छ ।’
भूमिहीन तथा सुकुमवासी परिवारको दीर्घकालीन सुरक्षित बसोबास र व्यवस्थापनका लागि नगरपालिका क्षेत्रमा प्राथमिकता र आवश्यकताको आधारमा दोस्रो चरणमा पाँच सय घर निर्माण गर्ने योजना अघि बढाएको उनले बताए । ‘सुकुमवासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजनामा छौँ,’ उनले भने ।
हावाहुरीले लहान २४ मा सात र १९ मा एक घरमा क्षति पुगेको थियो । जिल्लाकै सखुवानन्कारकट्टी गाउँपालिका– २, मक्रमपुरमा घरको पर्खाल भत्किँदा करिब ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved