सिरहामा भारतीय सुटर प्रयोग गरी हत्या

  • वैशाख २९, २०८३ | २९५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । पारिवारिक रिसइवी र मनमुटावको कारणले सिरहा नगरपालिका–७ स्थित बाँसघारीमा अज्ञात व्यक्तिहरूले हत्या गरेका व्यक्तिको हत्यामा भारतीय सुटरको प्रयोग भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत गत १६ माघमा सिरहा–१ का करिब ४२ वर्षीय प्रेमनाथ यादवको हत्यामा भारतीय सुटरको प्रयोग भएको खुलेको जनाएको छ ।

सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले हत्या भएलगत्तै प्रहरीले अनुसन्धान टोली गठन गरी थालेको सूक्ष्म अनुसन्धानको क्रममा मृतकका छिमेकी, एक भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार घटनामा संलग्न मृतककै छिमेकी पूर्वशिक्षक ५२ वर्षीय उपेन्द्र यादवलाई पक्राउ गरिएपछि प्रारम्भिक अनुसन्धानकै क्रममा उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले घटनामा संलग्न अन्य भारतीय अपराधीहरूसमेतको पहिचान भइसकेको भन्दै खोजतलास भइरहेको बताए । घटनाका मुख्य योजनाकार अभियुक्त उपेन्द्रलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीले अनुसन्धानको क्रममा बिटिएस, ८० जनाको फोन कल डिटेल्स र शंकित ६ जनाको पोलिग्राफ टेस्टसमेत गरिएको उनले बताए । घटनाको सूक्ष्म अनुसन्धानका लागि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट प्राविधिक विज्ञसहितको टोली, पर्सा वीरगन्जस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको सहयोग र मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुखको निर्देशन अनुसार विभिन्न कोणहरूबाट सूचना संकलन तथा विश्लेषणसहित अनुसन्धान गरिएको उनले बताए । उनका अनुसार प्रहरीले समकक्षी भारतीय प्रहरीको समेत सहयोग र सहकार्यमा घटनामा भारतीय अपराधीहरूको संलग्नता भएको प्रवल आशंका गरिएपछि शंकित मोबाईल नम्बरहरूको सूक्ष्म विश्लेषणपछि तत्काल एक भारतीय नागरिकसहित तीनजनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो । ‘घटनामा संलग्न मुख्य सुटरको पहिचान भइसकेकाले सम्भावित ठाउँहरूमा खोजी गरिरहेका छौं,’ उनले भने, ‘अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका भारतीय सुटरका सहयोगी रहेको खुलेको छ ।’

पारिवारिक रिसइवी र मनमुटाव मुख्य कारण
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतकका परिवारसँग अभियुक्त यादव पछिल्लो चार वर्षदेखि पारिवारिक रिसइबी र मनमुटाव रहेको पाइएको छ । त्यही कारणले अभियुक्त यादव मानसिक रूपले विक्षिप्त हुँदै बदलास्वरूप भारतीय अपराधीहरूलाई तीन लाख रूपैयाँको सुपारी डिल गरी हत्याको योजना बनाएपछि पेश्कीस्वरूप तत्काल एक लाख रूपैयाँ दिइसकेको र दुई लाख रूपैयाँ अझै दिन बाँकी खुल्न आएको प्रहरीले जनाएको छ । 

सिरहा–७ स्थित खेतबाट मृतकका सहोदर भाइ अभयनाथ यादवले चलाएको बकेट जडान गरिएको मधेश प्रदेश ०१–००१ त २९५६ नम्बरको ट्याक्टरले उठाएको माटो स. १ त ५७९४ नं. को ट्याक्टरमा हालेर चालकसहित खान घर गएका बेला प्रेमनाथमाथि अपरान्ह करिब साढे ३ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ । बकेट जडान गरिएको ट्याक्टर खेतमै छाडेर भाइ चालक सन्तोष शर्मासँगै खान घरतिर हिँडेपछि प्रेमनाथको गोली प्रहार गरी हत्या भएको हो ।

सो घटनाको १२ दिनअघि ४ माघ राति सीमावर्ती औरही गाउँपालिका–५ जितिया मन्दिरका पूजारीमाथि गोली प्रहारको घटनामा पनि ५० हजार रूपैयाँमा भारतीय सुटरलाई प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मन्दिरका पूजारी करिब ५५ वर्षीय श्यामसुन्दर शर्मा कोठाको चुकुल लगाएर सुतिरहेको अवस्थामा भारतीय सुटरमार्फत ज्यान मार्ने उद्देश्यले झ्यालबाट गोली प्रहार गरी गम्भीर घाइते बनाएको थियो । पारिवारिक रिसइवीका कारण स्थानीय ५५ वर्षीय हरि ठाकुरले भारतीय सुटर प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिरहा–७ को बाँसघारी र मन्दिरका पूजारीमाथि गोली प्रहार गर्ने भारतीय सुटर संयोगले एकै व्यक्ति रहेको खुलिसकेको र घटनामा सुटरसँग सम्पर्क गराउने व्यक्तिको पनि पहिचान भइसकेकाले खोजी भइरहेको छ । 

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब