सिरहा । सिरहा नगरपालिकामा पछिल्लो समय जनप्रतिनिधि र कर्मचारी प्रशासनबीचको विवाद उत्कर्षमा पुगेको छ। कर्मचारीहरुले विवाद बारे एकथरीको गुनासो व्यक्त गरिरहेको छ भने जनप्रतिनिधिहरु अर्कोथरीको कुरा बताउँछन् ।
तर उक्त विवाद सामाधानका लागि नेपाल सरकारकै कुनै निकाय र नागरिक समाजबाट कुनै पहल नहुदाँ विवादको प्रभाव सिधा नगरवासीहरुका दैनिकी माथि परिरहेका छन् । जनप्रतिनिधिहरुका आक्रोस बिल भरपाईको भुत्तानी नगरेको भन्दै छ भने कर्मचारीले भुत्तानी प्रक्रिया नमिलेको बताईरहेका छन् । तर सत्य तथ्य के हो ? भने कुरा बाहिर नआउँदा नगरवासीका सम्पूर्ण सेवामै असर परिरहेका छन् ।
विवाद बारे नगरवासीहरुका चासो बढेका छन् । कानुन बमोजिम कार्य सम्पादन गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृतलाई राजनीतिक तथा व्यक्तिगत प्रभाव र दबाबमा पार्न खोजिएको सामाजिक सञ्जालहरुमा चलिरहेको भिडियोहरुबाट स्पष्ट भईरहेको भन्दै स्थानीय स्तरमा आक्रोश बढ्न थालेको छ।
विवादको सुरवात कहाँबाट भयो ?
शाखा प्रमुखको जिम्मेवारी र दरबन्दी विवाद नगरपालिकामा दरबन्दी बमोजिमका सिनियर स्थायी कर्मचारीहरू हुँदाहुँदै उनीहरूलाई शाखा प्रमुखको जिम्मेवारी दिनबाट रोकिएको बुझिएको छ। नगरप्रमुख तथा केही वडा अध्यक्षहरूले सिनियर र स्थायी कर्मचारीलाई जिम्मेवारी नदिन् र अस्थायी करार कर्मचारीलाई दिन माग राख्दै दबाब दिँदै आन्दोलन समेत गरिरहेका छन्।
दरबन्दी अनुसारका योग्य स्थायी कर्मचारीलाई पाखा लगाएर आफ्ना निकटका व्यक्तिहरूलाई स्थापित गर्न खोजिएको भन्दै जनताले यसको कारण माग गर्न थालेका छन्।
पुराना भुक्तानी र विकास निर्माणमा प्रश्न
विवादको अर्को मुख्य कडी विगत ३ वर्षदेखिको पुरानो भुक्तानीको विषय बनेको छ। स्थानीयवासीका अनुसार क्षेत्रमा कुनै ठोस विकास निर्माणका कार्यहरू भएका छैनन्। “विकास नै नभएको ठाउँमा विगत ३ वर्षदेखिको भुक्तानी किन र केका लागि गर्नुप¥यो?“ भन्दै स्थानीयले प्रश्न उठाएका छन्। विना काम रकम फस्र्यौट गर्न खोजिएको आशंका गर्दै सर्वसाधारणले यस्ता शङ्कास्पद रकमहरू सरकारले जफत गर्नुपर्ने माग समेत राखेका छन्।
जनप्रतिनिधिहरूको व्यवहार र स्थानीयको आक्रोश
आन्दोलनरत केही वडा अध्यक्षहरूको व्यवहार र सञ्चारमाध्यममा उनीहरूले प्रस्तुत गर्ने अभिव्यक्तिलाई लिएर पनि गम्भीर प्रश्न उठेको छ। मिडिया र सार्वजनिक मञ्चहरूमा मर्यादित भएर बोल्न समेत नसक्ने व्यक्तिहरू कसरी वडा अध्यक्षमा निर्वाचित भए भन्दै निर्वाचन प्रक्रियामाथि नै कतिपयले आशङ्का व्यक्त गरेका छन्।
स्थानीयको आक्रोशः “यी जनप्रतिनिधिहरू जनताको र नगरको विकासभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ र विकासमा मात्र केन्द्रित भएका छन्। अब जनता मौन बस्नु हुँदैन, विसंगतिका विरुद्ध सजग भई यस्ता गलत प्रवृत्तिका नाइकेहरूलाई लखेट्ने बेला आएको छ।“
कर्मचारी प्रशासनलाई स्वतन्त्र रूपमा काम गर्न नदिने, पुराना शङ्कास्पद भुक्तानीका लागि दबाब दिने र सस्तो लोकप्रियताका लागि आन्दोलन गर्ने जनप्रतिनिधिहरूको रवैया विरुद्ध अहिले सिरहाका स्थानीय जनतामा तीव्र असन्तोष फैलिएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved