गोलबजारका सामुदायिक वन क्षेत्रबाट अनियन्त्रित उत्खनन्

  • जेठ १५, २०८३ | १७५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ स्थित त्रिनेत्र सामुदायिक वन क्षेत्रमा अनुमति विना बालुवा–गिट्टी उत्खनन् र भण्डारण गरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । वन उपभोक्ता समितिको स्वीकृति नै नलिई ठेकेदार कम्पनीले वनभित्रै ग्राभेल थुपारेपछि स्थानीयले गिट्टी–बालुवा उठाउन रोक लगाएका हुन् ।

स्थानीयका अनुसार गोलबजार नगरपालिकाले वडा नं. १ र २ हुँदै बग्ने गागान खोलाबाट बालुवा–गिट्टी उत्खनन गर्न सिरहाकै धनगढीमाई नगरपालिकामा रहेको तिरुपति कन्ट्रक्सनलाई करिब ७१ लाख रुपैयाँमा ठेक्का दिएको थियो । कम्पनीले खोलाबाट सामग्री निकाल्ने अनुमति लिएको भए पनि सामुदायिक वन क्षेत्रमा चोरी पैठारी गर्दै ग्राभेल उत्खनन तथा भण्डारण गरेको आरोप स्थानीयले लगाएका छन् ।

स्थानीय महेन्द्र पूर्वेका अनुसार वन उपभोक्ता समितिले पटक–पटक वन क्षेत्रमा सामग्री नराख्न आग्रह गरे पनि ठेकेदार पक्षले बेवास्ता गरेको थियो । ‘समितिका पदाधिकारीले धेरै पटक सम्झाउँदा पनि नमानेपछि गाउँले नै रोक्न बाध्य भए,’ उनले भने ।

स्थानीय सजन पूर्वेका अनुसार वन समितिलाई जानकारी नै नदिई ठूलो परिमाणमा बालुवा–गिट्टी भण्डारण गरिएको छ । स्थानीयले अवरोध गरेपछि त्यहाँ रहेका ट्याक्टर र ट्रक हतारमै हटाइएको उनको दाबी छ ।

अनियन्त्रित उत्खननका कारण वन क्षेत्रका बुट्यान नष्ट हुनुका साथै चरिचरण क्षेत्र समेत प्रभावित भएको स्थानीयवासीको गुनासो छ । ‘पहिला थोरै होला भन्ने लागेको थियो, तर वनै विनाश हुने गरी उत्खनन र वन ढाक्ने गरी गिट्टी–बालुवा थुपारिएको रहेछ,’ उनले भने ।

यता डिभिजन वन कार्यालय लहानले वन क्षेत्रभित्र अनुमति विना कुनै पनि सामग्री भण्डारण गर्न नपाइने स्पष्ट पारेको छ । डिभिजन वन अधिकृत बेचन शर्माले सामुदायिक वन समितिसँग समेत अनुमति नलिएको देखिएकाले घटनाबारे जानकारी संकलन गरी आवश्यक परे कारबाही प्रक्रिया अघि बढाइने बताएका छन् ।

तर स्थानीयका अनुसार सोमबार दिनभर भण्डारण गरिएको बालुवा–गिट्टी ओसारपसार भइरहँदा पनि वन कार्यालय तथा सम्बन्धित निकायले कुनै सक्रियता देखाएनन् । अनियन्त्रित उत्खनन भइरहँदा समेत जनप्रतिनिधि मौन बसेको भन्दै स्थानीयले मिलेमतोको आशंका गरेका छन् । पटक–पटक जानकारी गराउँदा पनि जनप्रतिनिधि र कर्मचारीहरुले बेवास्ता गरेको उनीहरूको आरोप छ ।

सिरहाको धनगढीमाई, कर्जन्हा, गोलबजार, नरहा लगायतका स्थानमा अवैध उत्खनन् भइरहेको स्थानीयको भनाइ छ । कतिपय नगरपालिका र गाउँपालिकाले उत्खनन् गर्ने अनुमति दिए पनि मापदण्ड विपरीत उत्खनन् गर्ने गरेको स्थानीयहरु बताउँछन् । यस विषयमा पटक–पटक सम्वन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको स्थानीयको भनाइ छ ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब