नेतृत्व चयनको विषयमा विवादसहित झडप भएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी सिरहाको जिल्ला स्थगित अधिवेशन केन्द्रीय आयोगको पत्रअनुसार अधिवेशनको निर्वाचन प्रकृया (आज) मंगलबार बिहान ९ बजेदेखि पुनः संचालन हुने छ। सिरहाको धनगढीमाई नगरपालिका– १० जिरोमाइलमा आयोजित अधिवेशनस्थलमा विवाद र झडप हुन थालेसँगै पार्टीको केन्द्रीय निर्वाचन आयोगले जिल्ला अधिवेशनको निर्वाचन प्रकृया तत्कालका लागि स्थगन गर्न जिल्ला निर्वाचन संयोजकलाई पत्राचार गरेपछि (आज) मंगलबार बिहानसम्मका लागि स्थगन भएको थियो।
पत्रमा अधिवेशनको वस्तुस्थितिलाई सहज बनाउन निवर्तमान जिल्ला सभापति हरिप्रसाद मैनाली, प्रतिनिधिसभा सदस्यहरु पुरुषोत्तम यादव, बब्लु गुप्ता र शिव यादवसँग भिडियो कल संवादपछि जिम्मेबार पदाधिकारीहरुको सहमति तथा प्रतिबद्धताबमोजिम स्थगित गरिएको उल्लेख छ।
स्थानीय बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था परिसरमा आइतबार साँझदेखि शुरु भएको निर्वाचन प्रकृयामा जिल्ला सभापति पदमा निवर्तमान सभापति मैनालीसहित तीनजनाको उम्मेदबारी परेको र सिरहाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरुले हस्तक्षेप गरेपछि विवाद झडपमा परिणत भएको अधिवेशनमा सहभागीहरुले बताए।
सांसद्हरुको गोप्य सहमतिपछि विवाद
आइतबार जिरोमाइलमा अधिवेशनको उद्घाटन सत्रपछि रास्वपाको मधेश प्रदेश सभापतिसमेत रहेका सिरहा क्षेत्र नं. ४ का सांसद तपेश्वर यादव, क्षेत्र नं १ का सांसद बब्लु गुप्ता, क्षेत्र नं २ का सांसद शिव यादव, क्षेत्र नं ३ का सांसद शम्भु यादव र समानुपातिक सांसद पुरुषोत्तम यादवले तीन आकांक्षीमध्ये एकजनाको नाममा सहमति जुटाउन छलफल गरेका बताइएको छ। छलफलमा सांसद र जिल्ला सभापतिका आकांक्षीहरुले आ–आफ्नो अडान नछोडेपछि जिल्ला अधिवेशन निर्वाचन समितिले सोमबार बिहान १० बजेदेखि नेतृत्व चयनको प्रक्रिया थालिने सूचना जारी गरेको थियो।
निर्वाचन प्रकृया थालिने सूचना जारी भएपछि आइतबार राती गोप्य रुपमा आफूहरु अनुकूल हुनेगरी बहुमत सांसदले रामसोगारथ यादवको नेतृत्वमा कार्यसमिति चयन गरी मान्यता दिन निर्वाचन समितिलाई पत्र पठाएको भन्दै विवाद भएको निवर्तमान सभापति मैनालीसहित अर्का आकांक्षी पक्षको आरोप छ। लाकतान्त्रिक प्रकृयाबाट नेतृत्व छनौट गर्ने भन्दै उद्घाटन अगावै उम्मेदारी दर्ता गर्न लगाएर बन्दसत्र नै नगरी सहमतिको प्रयासको नाममा आफू अनुकूलको नेतृत्व चयन गर्न खोजिएपछि विवाद भएको उनीहरुको आरोप छ। जिल्ला सभापतिका लागि मैनालीसहित सुभाष यादव र रामसोगारथ आकांक्षी थिए।
नेतृत्व चयनको प्रकृया नै उल्टो
अधिवेशनमा सहभागी एक पालिका सभापतिका अनुसार अधिवेशनको उद्घाटन सत्रपछि बन्द सत्र संचालन गर्ने, त्यसमा पार्टीको संगठनात्मक प्रगतिसहित आगामी योजनाको विषयमा छलफल र सहमतिपछि मात्र भावी नेतृत्वको विषयमा छलफल गरिनुपर्ने सामान्य प्रकृया उल्टाएर उद्घाटन अगावै उम्मेदवारी दर्ता गराएपछि विवाद भएको हो। ‘उद्घाटन सत्र नहुँदै उम्मेदवारी दर्ता गरियो, नयाँ दल त्यसमा पनि सत्तारुढ पार्टी भएकाले स्वाभाविक रुपमा आकांक्षीहरु बढ्न पुगे’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने ‘उम्मेदवारी दर्ता गरेको आकांक्षीले बन्द सत्र नै नगरी फिर्ता लिन मान्छन् त ?’
रास्वपाको विधानअनुसार जिल्ला कार्यसमितिमा सभापति, उपसभापति, सचिव र सहसचिव एक÷एक जना तथा पाँच जना समावेशी सदस्य रहन्छन्। एक कोषाध्यक्ष र थप दुई सदस्य जिल्ला सभापतिले मनोनित गर्न पाउने व्यवस्था छ। रास्वपाको सिरहा जिल्ला कार्यसमितिका लागि सभापतिमा तीन, उपसभापति र सचिवमा चार÷चार, सहसचिवमा ६ तथा सदस्यमा २७ आकांक्षीहरुको उममेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved