मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा नयाँ कमला पुलको विषय समावेश नगरेपछि प्रदेश सभाअगाडि आन्दोलन गरिएको छ ।
नीति तथा कार्यक्रममा समावेश नभएपछि आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने माग गर्दै स्थानीयले दबाबमूलक आन्दोलन गरेका हुन् । सिराहा र धनुषाका स्थानीयले मधेश प्रदेश सभाअगाडि टायर बालेरसमेत प्रदर्शन गरेका छन् ।
हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणमा बजेट विनियोजन हुनुपर्ने माग गर्दै दुवै जिल्लाका स्थानीयले प्रदेश सभा सदस्य तथा मधेश सरकारलाई दबाब दिँदै आन्दोलन गर्दै आएका छन् ।
प्रदर्शनका क्रममा उनीहरूले ‘झुटा आश्वासन चाहिँदैन, मनोमानी चल्दैन’, ‘नयाँ कमला पुल निर्माण गर्न बजेट विनियोजन गर’ जस्ता नारा लगाएका थिए ।
आन्दोलनमा सहभागी इन्जिनियर प्रवीण यादवले कमला पुल निर्माण गर्ने विषयमा प्रदेश सरकारले लिखित सम्झौतासमेत गरिसकेको भन्दै त्यसको कार्यान्वयन हुनुपर्ने बताए । आन्दोलनकारीहरूले मुख्यमन्त्री, अर्थमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीलाई बजेट विनियोजनका लागि ध्यानाकर्षण गराइसकेको जनाएका छन् ।
कमला नदीमा बनाइएको अस्थायी डाइभर्सन बगाएको छ । डाइभर्सन बगाएपछि नदी वारपार गर्न स्थानीयलाई डुंगा (बोट) को सहारा लिनुपर्ने बाध्यता भएको छ ।
कमला नदीमा पानीको बहाव बढेसँगै भासिएर पुनः निर्माण भइरहेको कमला पुलको छेउमा दुईवटा बोट सञ्चालनमा आएका छन् । सिराहा र धनुषाका स्थानीय अहिले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved