डाइभर्सन भासिँदा आवतजावत ठप्प

  • असार ६, २०८३ | २१० पटक पढिएको | सीमा संदेश
alt

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा–धनुषा जोड्ने कमला नदीमा आवागमन सहजताका लागि बनाइएको अस्थायी डाइभर्सन बाढीले क्षतिग्रस्त भएपछि आवागमन प्रभावित भएको छ ।

पुलको पुनर्निर्माण गर्न सामान ओसार–पोसार र आवत–जावत सहजताका लागि गत माघमा टेन्डरमार्फत ह्युमपाइप, क्रेटिङ र बालुवा हालेर बनाइएको अस्थायी डाइभर्सन बिहीबार साँझदेखि परेको वर्षापछि आएको बाढीले क्षतिग्रस्त भएपछि आवागमन प्रभावित भएको हो ।

निर्माणाधीन पुलभन्दा करिब एक सय मिटर पूर्वतिरबाट बगेको कमलाको मूल भँगालोमा बनाइएको डाइभर्सन क्षतिग्रस्त भएपछि वर्षातमा थप समस्या हुने स्थानीय बताउँछन् । पछिल्लो वैशाखको तेस्रो साता आएको बाढीले मूल भँगालोमा बनाइएको डाइभर्सनमा क्षति नपुगे पनि पुलको दक्षिणतर्फको बालुवाको डाइभर्सन बगाउँदा पनि समस्या भएको स्थानीय बद्री यादवले बताए । 

आवत–जावत गर्न डुंगाको भर 

हिउँदलाई लक्षित गरी बनाइएको मूल भँगालोको डाइभर्सन वर्षातमा झिक्नैपर्ने हुलाकी राजमार्ग निर्देशनालयका साइट इन्जिनियर सूर्यनारायण मण्डलले जानकारी दिए । उनका अनुसार धनुषातर्फबाट भासिएको तेस्रो पाया भारतको दिल्लीबाट झिकाइएका प्राविधिकसहितको उपकरणमार्फत बिहीबारसम्म १.१६ मिटर उठाइएको छ । ‘बाँकी ८४ सेन्टिमिटर उठाइएपछि तल कंक्रिट हालेर फिक्स गरिनेछ,’ उनले भने, ‘पुलको पश्चिमतर्फको एप्रोच सडक निर्माणका लागि माटो भर्ने काम भइरहेको छ । त्यसबाहेक पूर्वतर्फको गटर बिमको काम पनि जारी रहेको उनले बताए । 

त्यो काम सकिँदासम्म मध्य वर्षा लागिसक्ने भएकाले सम्भवतः आगामी तीन महिनासम्म फेरि डुंगाकै भर पर्नुपर्ने स्थानीयको चिन्ता छ । जिल्ला र प्रदेशबाट पटक–पटक सांसद र मन्त्री बनेका नेताहरूको कारणले सर्वसाधारणले दुःख झेलिरहेको सिराहा नगरपालिका– ६ का वडाध्यक्ष इन्द्रजित यादवले गुनासो गरे । ‘करिब १५ वर्षअघि नदीको स्वरूपअनुसारको डिजाइन गरिएको पुल अहिलेको अवस्थाअनुसार टिकाउ हुन सक्दैन भन्ने हाम्रो ठम्याइ हो,’ उनले भने, ‘कमलामा नयाँ पुल नबनाएसम्म हुँदैन, पुलको टालटुले पुनर्निर्माणले हुँदैन, दुःख पाउने जनताले नै हो ।’

कमला पुलको पुनर्निर्माण सम्पन्न नहुँदा धनुषातर्फका कमला र विदेह नगरपालिका तथा जनकनन्दनी गाउँपालिकाअन्तर्गत पर्ने सघारा, टडिया, लक्कड, बडेर्वा, लगमा, पतनुका, बनरझुला, फूलबरिया तथा सिराहा नगरपालिकाअन्तर्गत बसबिट्टा, बडेर्वा, मानपुर, खरसलवाका बासिन्दालाई वस्तुभाउ चराउन, घाँसपात गर्न, दैनिक किनमेल, हाटबजार, आर्थिक कारोबारका लागि ठुलो कष्ट भइरहेको स्थानीय शिवराम यादवले गुनासो गरे ।

पछिल्लो ५ मंसिरमा स्थलगत अनुगमनमा आएका तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले कमला पुलबारे प्राविधिक, व्यवस्थापकीय र ठेकेदार कसको कारणले समस्या भएको भन्ने खोजी गरिने बताएका थिए । त्यसलगत्तै हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले पुलको पुनर्निर्माण नहुन्जेल आवागमन सहजताका लागि अस्थायी डाइभर्सन बनाएको थियो ।  

क्षतिग्रस्त पुलको सुस्त पुनर्निर्माण

तराई–मधेशको विकासको मेरुदण्ड मानिने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माणका लागि ३१ जेठ ०६८ मा पप्पु लुम्बिनी जेभीले भ्याटसहित २४ करोड ९० लाख ९७ हजार दुई सय रुपैयाँमा ठेक्का लिएको थियो।

सम्झौताअनुसार ०७१ को मंसिरमा निर्माण सम्पन्न हुनुपर्ने पुल तोकिएको समयमा नबनेपछि गत असारसम्मका लागि आठौँपठक म्याद थपिएको थियो । कमलामा पुल नहुँदा करिब ३० किलोमिटर दूरीमा रहेको प्रादेशिक राजधानी जनकपुरधाम पुग्न वर्षातकाे वेला पूर्व–पश्चिम लोकमार्गको ढल्केबर हुँदै करिब ९० किलोमिटर दूरी छिचोल्नुपर्ने बाध्यता छ । 

निर्देशनालयका अनुसार कुल ४६९.२ मिटर लामो पुलको निर्माण व्यवयासीले नै डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ एक हजार तीन सय मिटर नदी नियन्त्रण र दुई  सय मिटर पहुँच सडक निर्माण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

१७ असार ०७८ मा कमला नदीमा आएको बाढीले पुलको सिराहातर्फ दुईवटा जग भासिएर चारवटा स्ल्याब क्षति पुगेपछि क्षति पुगेको थियो । पुल भासिनु अघिसम्म निर्माण व्यवसायीले २० करोड ४३ लाख (भ्याटसहित) भुक्तानी लिइसकेको निर्देशनालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब