गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई छड्के अनुगमन गरेपछि सुरक्षा निकायमा तरंग फैलिएको छ ।
रास्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनस्थल चितवनबाट शुक्रबार राति करिब ९ बजे सोझै पथलैया आइपुगेका उनी त्यहाँबाट पूर्व–पश्चिम राजमार्गको पिलुवा हुँदै जीतपुर सिमरा उपमहानगरपालिकाको बडहर्वासम्म पुगेका थिए । त्यहाँबाट उनी सिमरा पुगेका थिए । त्यस क्रममा उनले केही स्थानीयसँग संवाद पनि गरेका थिए ।
शुक्रबार राति सिमराको एक सामान्य होटेलमा बास बसेका उनले शनिबार वीरगन्जस्थित सहायक सीमा नाकाहरुको अनुगमन गरेका थिए । वीरगन्जबाट सबैभन्दा बढी तस्करी हुने नाकाको रुपमा परिचित अलौं र पनटोक्का नाका पुगेका र उनले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका थिए ।
पर्सा र बाराका स्थानीय सुरक्षा निकायसँग समन्वय नगरी उनले आफ्ना पिएसओसँग निजी गाडीमा शनिबार दिनभर छड्के अनुगमन गरेको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ । यस क्रममा उनले ५ वटा गाडी परिवर्तन गरेको र स्थानीय सुरक्षा निकाय प्रमुख तथा प्रमुख जिल्ला अधिकारीहरुसँग पनि कुनै समन्वय गरेका थिएनन् । स्थानीय सुरक्षा निकायले भने सडक तथा सार्वजनिक स्थलहरुमा रहेका सीसीटीभी क्यामेराबाट उनको यात्रालाई ‘ट्रयास’ गरी रहेको थियो । उनका पिएसओकोसमेत मोबाइल अफ रहेको थियो ।
क्याप, मास्क र कालो चश्मा लगाएका गृहमन्त्री गुरुङले टिसर्ट र हाफ पाइन्ट लगाएका थिए । सीमा क्षेत्रमा उनले स्थानीयसँग विशेष गरी साइकलमा, मोटरसाइकल र मानिसले टाउकोमा बोकेर गरिने तस्करीको शैलीबारे विस्तृत जानकारी लिएका थिए । त्यसक्रममा स्थानीयले सुरक्षाकर्मीकै मिलेमतो र संरक्षणमा दिनदहाडै तस्करी हुने गरेको जानकारी गृहमन्त्री गुरुङलाई गराएका थिए ।
नाकामा जडान गरिएको सिसी क्यामराको पोल देखाउँदै त्यसकै आडमा तस्करी गराउने गरिएको गुनासो स्थानीयले गृहमन्त्रीलाई गराएको भिडियोमा सुनिन्छ । स्थानीयको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले, ‘सिसी क्यामराको निगरानी कहाँबाट हुन्छ ?’ भनी प्रश्न गरेका थिए । जवाफमा स्थानीयले जिल्ला प्रशासन कार्यालयबाट यसको निगरानी हुने बताएको भिडियोमा सुनिन्छ ।
शनिबार दिनभरी नाकाहरुको छड्के अनुगमनपछि उनी साझ साढे ५ बजेको अन्तिम फ्लाइटबाट सिमरा हुँदै काठमाडौं पुगेका छन् । सिमरा विमानस्थलमै उनले पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी, नेपाल र सशस्त्र प्रहरीका उपरीक्षकहरुलाई बोलाई सीमाबाट भइरहेको तस्करी नियन्त्रणका लागि कडा निर्देशन दिएका थिए ।
सरकारले भन्सार बिन्दुमा सर्वसाधारणलाई १ सय रुपैयाँभन्दा बढी सामान किनमेल नगर्न कडाई गरे पनि सीमाबाट भइरहेको तस्करी भने निर्वाध रुपमा चलीरहेको गुनासो पर्सा र बाराका सीमाबासीहरुले सामाजिक सञ्जालबाटै पोख्दै आएका थिए । तस्करीको सम्बन्धमा स्थानीयको व्यापक असन्तुष्टि रहेको छ । जिल्लामा रहेका सुरक्षा निकायको सहमति र मिलेमतोबिना यसरी संगठित तस्करी सम्भव नरहेको आरोप पनि स्थानीयको रहँदै आएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved