सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि त्यसको प्रभाव पूर्वी नेपालका विभिन्न जिल्लामा फैलिएको छ ।
घटनापछि सुनसरीमा कफ्र्यु आदेश जारी गरिएको छ भने सिरहा, धनुषा, सप्तरी, धनुषालगायत मधेश प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन, सुरक्षा सतर्कता र सर्वपक्षीय छलफल भएका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कोशी ब्यारेजदेखि इटहरीको पकलीचोकसम्म कफ्र्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जारी गरेको आदेशअनुसार मंगलबार अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु लागू गरिएको छ । कफ्र्यु क्षेत्र पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा इटहरीको पकलीचोकदेखि पश्चिममा कोशी ब्यारेजसम्म तथा राजमार्गको उत्तर– दक्षिण २०० मिटर क्षेत्रभित्र तोकिएको छ ।
उक्त क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ । प्रशासनले जनाए अनुसार सार्वजनिक शान्ति–सुरक्षा कायम राख्न, थप हिंसा रोक्न तथा जनधनको क्षति हुन नदिन कफ्र्यु जारी गरिएको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र कफ्र्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरिएको छ । साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३ मा पर्ने कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो । गोली लागेर देवानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा नौ जना स्थानीय घाइते भएका छन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी एक दर्जनभन्दा बढी सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
घटनापछि सुनसरीको दक्षिणी क्षेत्रमा सोमबार दिनभर निषेधाज्ञा तथा कफ्र्यु लागू गरिएको थियो । सरकारले घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको जनाएको छ । सुनसरी घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै सिरहाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । गोलबजार नगरपालिका–८ पुरानो चोक -चोहर्वा) मा प्रदर्शनकारीले केहीबेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । प्रदर्शनका क्रममा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको मागसमेत गरिएको थियो । त्यस्तै धनगढीमाई नगरपालिका–८ मा पर्ने कसहामा पनि केहीबेर सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक -एसपी) बासुदेव पाठकका अनुसार आन्दोलनकारीसँगको छलफलपछि करिब आधा घण्टापछि सडक सञ्चालनमा आएको थियो ।
प्रहरीले प्रदर्शनका क्रममा कुनै अप्रिय घटना हुन नदिन तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । सुनसरी घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाम, सप्तरीको राजविराज, वीरगञ्जलगायत अन्य स्थानमा पनि विरोध प्रदर्शन भएका छन् । यता देवानगञ्ज घटनाले उग्ररुप लिएपछि मधेशसहित देशव्यापी रुपमा प्रदर्शनहरु हुन थालेपछि सो घटनाको प्रभाव जनकपुरधामसहितको क्षेत्रमा समेत पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले सर्वपक्षीय सद्भाव बैठक आयोजना गरेको छ । बैठकले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र साम्प्रदायिक एकता कायम राख्न सबै पक्षले संयमता अपनाउने प्रतिबद्धता जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनाए अनुसार विभिन्न धर्म, जातजाति, भाषाभाषी तथा समुदायबीच आपसी भाइचारा कायम राख्न समुदायका अगुवा, नागरिक समाज, राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाले सक्रिय भूमिका निर्वाह गर्ने सहमति भएको छ । बैठकले विरोध प्रदर्शनका नाममा तोडफोड, आगजनी वा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पु¥याउनेमाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णय गरेको छ । त्यसैगरी फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमार्फत धार्मिक विद्वेष, घृणा वा सामाजिक सद्भाव खलबल्याउने सामग्री प्रसारण तथा प्रचारप्रसार गर्ने गतिविधिमाथि निगरानी बढाउने निर्णय पनि गरिएको छ ।
प्रशासनले मुलुकी अपराध संहिता, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुनबमोजिम आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कारबाही गरिने स्पष्ट पारेको छ । सुनसरीको देवानगञ्ज घटनापछि सुरक्षा निकायले पूर्वी तथा मधेश प्रदेशका संवेदनशील जिल्लामा निगरानी बढाएको छ ।
प्रशासनले कुनै पनि अपुष्ट सूचना वा भ्रामक सामग्री सामाजिक सञ्जालमा साझा नगर्न, कानुन हातमा नलिन तथा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै नागरि कसंग आग्रह गरेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved