सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– २ तुलसीपुरस्थित वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नवीकरणवापत् भन्दै बिचौलियामार्फत रकम असुली गरेको पाइएको छ।
शारीरिक रुपले आर्थिक उपार्जन गर्न असमर्थ ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा तथा पाँच वर्षमुनिका बालबालिकाको बाल पोषण आहार भत्ता प्राप्तिका लागि सरकारले उपलब्ध गराएको परिचय पत्र नवीकरण निःशुल्क हुन्छ। तर वडा कार्यालय परिसरमा बिचौलियामार्फत जनही एक सय रुपैयाँ असुली गरेको पाइएको हो। संचारकर्मीहरुको टोली बुधबार दिउँसो वडा कार्यालय पुग्दा स्थानीयसमेत रहेका बिचौलिया रामबाबु यादवले वडाध्यक्ष तथा वडा सचिवको कार्यकक्षकै अगाडि बरण्डामा हाकाहाकी सेवाग्राहीहरुबाट रकम उठाइरहेको भेटिएको छ।
निःशुल्क नवीकरण गरिनुपर्ने सामाजिक सुरक्षा परिचयपत्रको नवीकरणका लागि कसको निर्देशनमा रकम असुल गरिरहनु भएको हो, यो भ्रष्टाचार भएन र ? भन्ने प्रश्नमा उनले भने ‘नवीकरण फारम ल्याएर भरेर पनि दिन्छु, त्यहीवापत् लिएको हो।’ त्यसरी असुल गरेको रकम वडा कार्यालयमा क–कसलाई दिनुहुन्छ भन्ने प्रश्नमा उनले केही खुलाउन चाहेनन्। बरु अन्य वडाहरुमा पनि यसरी नै रकम लिइरहेको छ भन्दै आफूले लिएको अवैध असुलीको बचाउ गर्न खोजे।
सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नवीकरण गराउन श्रीमान बृजलालसहित वडा कार्यालय आएकी करिब ६५ वर्षीया कारीवती यादवले दुईजनाको एक सय रुपैयाँ लिएपछि मात्र फारम भरेर दिएको बताइन्। ‘वडा सचिवकोमा जाँदा फुर्सद नै छैन भनेर फर्काए’ उनले भनिन् ‘बाध्यतावश वडा कार्यालयमै टेबुल कुर्सी लगाएर बसेका अनधिकृत व्यक्तिलाई दुई बूढाबूढीको दुई सय रुपैयाँ तिर्नुपर्यो।’ आफ्नो छोराको बाल पोषण आहार भत्ताको परिचयपत्र नवीकरणका लागि वडा कार्यालय आएकी करिब ३१ वर्षीया अनितादेवी यादवले भनिन् ‘एक सय रुपैयाँ तिरेपछि नवीकरणको फारम भराएर बुझाएँ।’
स्थानीय सेवाग्राहीहरुका अनुसार बिचौलिया यादवले साउनको पहिलो सातादेखि नै परिचय पत्र नवीकरणका लागि रकम असुल गर्दै आएका छन्। त्यसरी असुल गरिएको रकमको केही हिस्सा वडाध्यक्षसम्म पुग्ने गरेको स्थानीयको आरोप छ।
वडा कार्यालयका सचिव विनोद मुखियाले आफू पछिल्लो नौ महिनादेखि कार्यरत रहेको जानकारी दिंदै सामाजिक सुरक्षा भत्तासम्बन्धी परिचय पत्र नवीकरणका लागि सेवाग्राहीबाट रकम लिन हुँदैन भन्दै पटक पटक सचेत गराएको भए पनि नटेरेको बताए। ‘वडाध्यक्षलाई पनि रोक्न आग्रह गरें, तर बेवास्ता गरियो,’ उनले भने।
वडाध्यक्ष रामअयोधी यादवले भने वडामा कर्मचारीको अभाव हुँदा स्थानीयसमेत रहेकाले सेवाग्रहीको सहजीकरणका लागि काम गरेको हुन सक्ने बताए। तर रकम लिएको विषयमा आफूलाई थाहा नभएको भन्दै पन्छिए। ‘आगामी दिनमा ढिलो भए पनि वडा सचिवले नै सेवाग्राहीका लागि सबै काम गर्छन्,’ उनले भने।
बिचौलियामार्फत सेवाग्राहीबाट अनधिकृत रुपले असुल गरिएको रकमबाट केही हिस्सा लिने गरेको आरोप अस्वीकार गर्दै उनले भने, ‘मैले त्यस्तो गलत काम गरेको छैन।’ उनका अनुसार वडा क्षेत्रमा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक र बालपोषण भत्ता पाउने पाँच वर्षमुनिका बालबालिका गरी करिब चार सय सेवाग्राही छन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved