सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर मारिएका चारजना युवाहरूको सम्झनामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले भड्काउपूर्ण अभिव्यक्ति दिएपछि हो–हल्ला हुँदा केही बेर तनावपर्ण अवस्था बन्यो।
गोलबजारस्थित उद्योग व्यापार संघको सभाकक्षमा सुनसरी सिराहा घटनाका मृतकहरूको सम्झनामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा रास्वपाबाट निर्वाचित सिराहा ४ का सांसद तपेश्वर यादवले आफ्नो पार्टी नेतृत्वको सरकार र आगामी निर्वाचनमा आफूहरूको उपस्थिति कमजोर बनाउने षड्यन्त्र भइरहेको दाबी गरेपछि हो–हल्लासँगै केहीबेर तनावपूर्ण अवस्था बनेको हो। ‘यो घटना कसले गराएको हो?’ आक्रोशित हुँदै उनले भने, ‘करिब १५ दिनअगावै छिमेकीको सामान्य झगडामा हिन्दु महिलालाई कुट्यो भनेर प्रचार गर्ने को हुन्?’
गोलबजारको घटनापछि स्थानीय बजार पसल सामान्य रूपले खुल्न नसकिरहेको सन्दर्भमा विभिन्न समुदायका अगुवाहरूको पहलमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम गर्ने प्रयासस्वरूप गरिएको कार्यक्रममा सांसद यादव त्यतिमै रोकिएनन्। ‘हिन्दु-मुस्लिम, पहाडी-मधेशीको नाममा लडाइँ कसले गराएको हो?’ उनले भने, ‘विगतमा देश जलाउने परिपाटीको थालनी कसले गरेको हो? देशलाई यो अवस्थामा पुर्याउने मुख्य दोषी को हो?’ जेन–जी आन्दोलन भ्रष्टाचार, बेथिति, कुशासन, आलोपालो सत्तामा बस्नेहरूको विरुद्धमा भएको बताउँदै उनले आफूहरूको सरकार निलो क्रान्तिको पक्षमा मात्र रहेको भन्दै पार्टीगत कार्यक्रममा जसरी बोलेपछि अन्य दलका प्रतिनिधिहरूले आपत्ति जनाएको बताए।
प्रहरी निरीक्षकको नाम नै लिएर दोषी करार
गोलबजार घटनापछि संघीय सरकारको गृह मन्त्रालय, प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेर छानबिन गरिरहेका वेला उनले प्रहरी निरीक्षकको नाम नै लिएर गोली चलाएको दाबीसहित दोषी करार गर्दै प्रमुख जिल्ला अधिकारी, प्रहरीका जिल्ला प्रमुखलाई पनि अनुसन्धानको दायरामा ल्याइसकेको जिकिर गरे। ‘दोषी जोसुकै भए पनि उम्किन पाउने छैनन्,’ उनले भने।
मृतकप्रति श्रद्धाञ्जली, मृतकका परिवारलाई राहत क्षतिपूर्ति, रोजगारी, घाइतेको उपचारलगायतका विषयमा सरकारी पक्षबाट भइरहेको कामलगायतका बारेमा केन्द्रित नरही स्थानीय राजनीतिक दल, जनप्रतिनिधिहरूविरुद्ध खनिएपछि अन्य दलका स्थानीय अगुवाहरूले प्रतिवाद गरेका थिए। सत्तारूढ दलका सांसदको अभिव्यक्तिका कारणले दिउँसो करिब १ बजेतिर हो–हल्ला भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर मत्थर पार्ने प्रयास गर्दै उनलाई सुरक्षित बाहिर निकाले।
श्रद्धाञ्जली कार्यक्रममा रास्वपाकी समानुपातिक सांसद समिमा मियाँले हिन्दु- मुस्लिम लडिरहेको नभई लडाइएको बताइन्। ‘सदियौँदेखि हिन्दु-मुस्लिम मिलेर बसिरहेको समाजलाई भड्काउन खोज्नेहरूलाई चिन्न जरुरी छ,’ उनले भनिन्, ‘यो दुःखद घडीमा राज्य, सरकार पीडितहरूको घाउमा मलमपट्टि गर्न तयार छ।’
खुल्दै छन् स्थानीय बजार
कार्यक्रममा सहभागी अन्य वक्ताले सुनसरी र गोलबजारमा राज्य संयन्त्रको कमजोरीको कारणले दुःखद घटना भएको बताए। उनीहरूले शान्तिपूर्ण प्रदर्शनको नाममा भएको धार्मिक विखण्डन, साम्प्रदायिक सद्भाव बिथोल्नेहरूविरुद्ध प्रभावकारी सुरक्षा व्यवस्था, समन्वय र संवेदनशीलता नअपनाइँदा जनधनको क्षति हुन पुगेको औँल्याए।
कार्यक्रममा सहभागी स्थानीय मुस्लिम अगुवा तथा व्यापारीहरूले सामाजिक सद्भाव भड्काउन खोज्ने, हिन्दु-मुस्लिमलाई फुटाउन खोज्नेहरूविरुद्ध सजग रहनुपर्नेमा जोड दिँदै भाइचारा, सहिष्णुता पूर्ववत् अवस्थामै फर्काउन सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए।
उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय साहले गोलबजारमा प्रदर्शनको नाममा निजी घर, पसल र व्यवसायलाई लक्षित गरी भएको तोडफोड, आगजनीमा परेकाहरूलाई उचित क्षतिपूर्ति राहतका लागि पहल गर्ने प्रतिबद्धतासहित बन्द रहेका बजार पसल खोल्ने सहमति भएको बताए। १४ साउनको हिंसात्मक घटनापछि बन्द रहेको गोलबजार क्षेत्र सामान्य हुँदै गएको छ भने स्थानीय बजार पसलहरू खुल्न थालेका छन्।
गोलबजारमा सात दिनअघि १४ साउनको दिउँसो सिरहााको औरही गाउँपालिका २ तुलसीपुरका करिब १५ वर्षीय किशोर गणेश यादवको प्रहरीको गोली लागेर दुःखद् निधन भएपछि भड्किएको प्रदर्शनको क्रममा करिब एक दर्जन घर पसलमा तोडफोड आगजनी भएसँगै स्थानीय प्रशासनले लगाएको कर्फ्यु तीन दिनपछि १७ साउनमा हटाएको थियो।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved