मधेशभर लम्पी स्किनको संक्रमण, २१ चौपाया मरे

  • भदौ ४, २०८३ | १२१ पटक पढिएको | सीमा संदेश
alt

 मधेश प्रदेशमा चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ। समयमै रोग पहिचान भए पनि समुचित उपचार, खोप तथा नियन्त्रणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा प्रदेशका सात जिल्लाका ७६ वडा संक्रमणको चपेटामा परेका छन्। संक्रमणका कारण हालसम्म २१ चौपायाको मृत्यु भइसकेको छ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार पर्साबाहेक प्रदेशका सातवटै जिल्लामा लम्पी स्किनको संक्रमण फैलिएको छ। हालसम्म आठ गाई, चार गोरु र ३०८ बाछाबाछी गरी ३२० चौपाया संक्रमित भएको तथ्याङ्क निर्देशनालयले सार्वजनिक गरेको छ। प्रभावित जिल्लामा तथ्याङ्क अद्यावधिक गर्ने काम भइरहेकाले संक्रमित चौपायाको संख्या अझ बढ्न सक्ने निर्देशनालयले जनाएको छ।

निर्देशनालयका निर्देशक जागेश्वर यादवले लम्पी स्किनका कारण रौतहटमा १२, महोत्तरीमा सात र बारामा दुई बाछाबाछी गरी २१ चौपायाको मृत्यु भएको जानकारी दिनुभयो।

वरिष्ठ पशु विकास अधिकृत डा। राजकुमार साहका अनुसार रौतहटमा लम्पी स्किनको संक्रमण उच्च छ। जिल्लाको चन्द्रपुर नगरपालिकासहित गढीमाई, ईशनाथ, राजपुर, दुर्गाभगवती र यमुनामाईलगायत स्थानीय तहमा संक्रमण फैलिएको छ।

निर्देशनालयका अनुसार सप्तरीका १८, सिरहाका नौ, धनुषाका १६, महोत्तरीका सात, सर्लाहीका दुई, रौतहटका छ र बाराका ११ गरी सात जिल्लाका ७६ वडा प्रभावित भएका छन्।

महोत्तरीमा भने असारदेखि नै संक्रमण बढ्न थालेको पशु चिकित्सकहरूले बताएका छन्। निर्देशनालयका अनुसार जिल्लाको बर्दिबास, भङ्गाहा, सोनमा, मनरासिसवा, पिपरा, जलेश्वर र लोहरपट्टी नगरपालिकामा १२० भन्दा बढी चौपाया संक्रमित छन्। साउनदेखि बर्दिबास नगरपालिकाका १४ वटै वडामा संक्रमण फैलिएको जनाइएको छ।

बर्दिबास नगरपालिकास्थित पशु सेवा शाखाका अधिकृत मोहनकुमार खड्काका अनुसार यसपटक एकदेखि डेढ वर्ष उमेर समूहका बाछाबाछी, बहर तथा कोरलीमा संक्रमण बढी देखिएको छ। भर्खरै वडा नम्बर १४ मा ११ महिनाको एउटा कोरलीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो।

लम्पी स्किनको संक्रमण नियन्त्रणका लागि समयमै खोप, संक्रमित चौपायाको उपचार तथा रोग फैलिन नदिन आवश्यक जैविक सुरक्षा र व्यवस्थापनका उपाय तत्काल विस्तार हुन नसक्दा किसानका चौपाया थप जोखिममा परेका छन्।

नयाँ आर्थिक वर्ष सुरु भएको महिनादिन बितिसक्दा पनि प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरूको खाता अझै रोक्का राखेकाले भ्याक्सिनेटर नियुक्तिसहित आवश्यक व्यवस्थापन गर्न नसकिएको केन्द्रहरूले जनाएका छन्। यसले संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन थप चुनौती सिर्जना गरेको छ।

पशु विज्ञका अनुसार ‘पक्स’ समूहको भाइरसबाट लाग्ने लम्पी स्किनबाट संक्रमित चौपायामा उच्च ज्वरो आउने, अत्यधिक ¥याल झर्ने, आँखामा समस्या देखिने तथा नाकबाट पानी बग्ने जस्ता लक्षण देखिन्छन्। शरीरमा दुईदेखि पाँच सेन्टिमिटरसम्मका कडा गाँठा आउने, चिलाउने र पीप भरिएर फुट्ने समस्या पनि देखिन्छ।

संक्रमणका कारण गर्भिणी गाईमा गर्भपतन हुने, दूध उत्पादन घट्ने वा पूर्ण रूपमा बन्द हुने तथा चौपाया कमजोर हुँदै संक्रमित चौपायाको मृत्युसमेत हुन सक्छ।

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

कार्तिक १२ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल कार्तिक १२ गते । बिहीबार । ईश्वी सन् २०२ ...

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब