राजविराज नगरपालिकाका ग्रामीण बस्तीमा सडक ढलान तथा कालोपत्रे भएपछि आवतजावत सहज हुने अपेक्षा गरिएको थियो। तर, सडक निर्माणसँगै बढेको अतिक्रमण तथा सडकलाई नै गाईवस्तु बाँध्ने र घरेलु प्रयोजनमा प्रयोग गर्ने प्रवृत्तिले स्थानीयवासी तथा सवारी चालकलाई समस्या पर्न थालेको छ।
नगरपालिकाका विभिन्न ग्रामीण वडामा सडकको दायाँ–बायाँ मात्र होइन, कतिपय स्थानमा सडकको मुख्य भागमै गाईभैँसी, बाख्रा तथा पाठापाठी बाँध्ने गरिएको छ। सडकमा गाईवस्तुलाई खुवाउन नाद (कुँडा) राख्ने, घुर बाल्ने तथा अन्य सामग्री थुपार्ने क्रमसमेत बढेको स्थानीयको भनाइ छ।
राजविराज नगरपालिका–९ विषहरिया बस्तीको सडक यसको उदाहरण हो। त्यहाँ सडकको छेउ तथा सडकसँग जोडिएको भागमा स्थानीयवासीले गाईभैँसी र बाख्रा बाँध्ने गरेका छन्। सडकको क्षेत्र साँघुरिँदा मोटरसाइकल, साइकल, इ–रिक्सा तथा चारपाङ्ग्रे सवारीसाधनलाई आवतजावतमा कठिनाइ हुने गरेको छ।
इ–रिक्सा चालक केशव झाले नगरपालिकाका ग्रामीण वडाका धेरै सडकको अवस्था यस्तै रहेको बताउनुभयो। “सडक बनेपछि आवतजावत सहज भएको छ, तर सडक नै गाईवस्तु बाँध्ने ठाउँ बनेपछि सवारी चलाउन अप्ठ्यारो हुन्छ,” उहाँले भन्नुभयो।
चारपाङ्ग्रे सवारी चालक वीरेन्द्र यादवका अनुसार सडकमा बाँधिएका गाईवस्तु अचानक सडकतर्फ आउँदा दुर्घटनाको जोखिमसमेत हुने गरेको छ। विशेषगरी साँघुरा सडकमा अगाडिबाट अर्को सवारी आएपछि सडकमा बाँधिएका पशुका कारण सवारी पास गराउन समस्या हुने गरेको उहाँको भनाइ छ।
स्थानीय बलराम यादवले सडकमा गाईवस्तु बाँध्दा दुर्घटनाको जोखिम बढ्नुका साथै दुर्घटना भएमा विवादसमेत उत्पन्न हुने गरेको बताउनुभयो। “गाईवस्तु सवारीमा ठोक्किएर घाइते भएमा वा मरेमा कतिपय अवस्थामा चालकलाई नै क्षतिपूर्ति दिन दबाब दिने गरिन्छ,” उहाँले भन्नुभयो।
सडक सार्वजनिक आवागमनका लागि निर्माण गरिए पनि ग्रामीण क्षेत्रमा सडकलाई घरायसी प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको स्थानीयको भनाइ छ। सडकमा नाद राख्ने, घुर बाल्ने, निर्माण सामग्री तथा अन्य सामान थुपार्ने गर्दा सडकको उपयोगी क्षेत्र साँघुरिँदै गएको छ।
स्थानीयवासीका अनुसार सडक निर्माणका क्रममा सडकको चौडाइ कायम गरिए पनि पछि घरधनी तथा पशुपालकले सडक क्षेत्र अतिक्रमण गर्दा समस्या बढेको हो। कतिपय स्थानमा सडकपेटीसमेत निजी प्रयोजनमा प्रयोग भइरहेका छन्।
राजविराज नगरपालिकाले सडक तथा सडकपेटी अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिएको जनाएको छ। नगरपालिकाका योजना शाखा प्रमुख शाखा अधिकृत मनोजकुमार यादवका अनुसार नगर क्षेत्रभित्रका हुलाकी सडकमा रहेका तरकारी हटिया तथा सडकपेटी अतिक्रमण हटाउने काम गरिएको छ।
“सडकपेटी अतिक्रमण हटाउने कार्य जारी छ। हुलाकी सडकमा तरकारी हटिया र अन्य अतिक्रमण हटाएका छौँ। नगरका अन्य वडामा पनि क्रमशः अतिक्रमण हटाउँदै जाने योजना छ,” उहाँले भन्नुभयो।
नगरपालिकाले सडक अतिक्रमण हटाउने अभियानलाई ग्रामीण वडासम्म प्रभावकारी रूपमा विस्तार गर्न सके सडकको उपयोगिता बढ्ने स्थानीयको अपेक्षा छ। सडकमा गाईवस्तु बाँध्ने, नाद राख्ने तथा घुर बाल्नेजस्ता गतिविधि नियन्त्रण गर्न नगरपालिकाले स्थानीयवासीसँग समन्वय र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।
सडक निर्माण गरेर मात्र आवतजावत सुरक्षित नहुने भएकाले सडकको नियमित संरक्षण, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक सडक प्रयोगसम्बन्धी नियमको पालना गराउन आवश्यक देखिन्छ। ग्रामीण बस्तीमा सडक विस्तारसँगै बढ्दै गएको यस्तो प्रवृत्ति समयमै नियन्त्रण गर्न नसके सडक साँघुरिँदै जाने र दुर्घटनाको जोखिम थप बढ्ने स्थानीयको चिन्ता छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved