नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा पत्रकार शम्भुकुमार यादवको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
अधिवेशनको बन्दसत्रले दुई उपाध्यक्षहरूमा एलिना हिंमाङ चौधरी र एम. महतो, सचिव सविनबाबु यादव, सहसचिव चन्द्रु चौधरी, कोषाध्यक्ष सञ्जय विश्वकर्मा निर्वाचित गरेको मुख्य निर्वाचन अधिकृत वसन्तकुमार चौधरीले जानकारी दिए।
चौधरीका अनुसार कार्यसमिति सदस्यहरूमा श्रीकान्त झा, दिलीप सहनी, श्यामकुमार ठाकुर, वीरेन्द्रकुमार यादव, विजयकुमार यादव र मेनुका गौतम यादव निर्वाचित भएका छन्। त्यस्तै, महाधिवेशन प्रतिनिधिहरू सन्तोषकुमार सुवेदी, रामबाबु यादव, भरत जर्घामगर, परमेश्वर साह र सञ्जीय उपाध्याय निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नवनिर्वाचित अध्यक्ष यादवले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र पत्रकारिताको विश्वसनीयता कायम गर्न पत्रकारसम्बन्धी अन्य पेसागत संगठनहरूसँगको सहकार्यमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
पत्रकारितामाथिको आक्रमण बन्द गर्न आग्रह
लहानस्थित उद्योग वाणिज्य संघको सभाकक्षामा आयोजित अधिवेशनको उद्घाटन सत्रमा अतिथि वक्ताहरूले पछिल्लो समय सरकारले नै पत्रकारको धरपकड, दबाब, धम्की र हस्तक्षेप गरिरहेको आरोप लगाउँदै यस्ता कार्य तत्काल बन्द गरिनुपर्ने माग गरे।
वक्ताहरूले पत्रकारले पनि पेसागत आचारसंहिता पालना गर्दै सत्य, तथ्य, सन्तुलित र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने औँल्याए। कार्यक्रममा संविधानसभा सदस्यसमेत रहेका नेपाली कांग्रेस सिराहाका जिल्ला सभापति रामचन्द्र यादवले प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताए। युनियनका महासचिव दिलीप पौडेलले पत्रकारिताको बदलिँदो स्वरूपसँगै हरेक पत्रकारले डिजिटल पत्रकारितासम्बन्धी क्षमता विकास नगरी नहुने बताए।
उद्घाटन सत्रमा प्रेस चौतारी नेपाल सिराहाका अध्यक्ष शिवकुमार साह, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य आशिष विश्वकर्मा, जिल्ला अध्यक्ष रामभरोसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकिन्द्र पासवान, जिल्ला शाखा सहसचिव धर्मेन्द्र पासवान, युनियनका संस्थापक जिल्ला अध्यक्ष उद्धव हमाल, मधेश प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठलगायतले पत्रकारको पेसागत सुरक्षा, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved