नेपालमा आएको विनाशकारी बाढीपछि अमेरिकाले पाँच लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेश विभागले बुधबार सहयोग घोषणा गर्दै विपद् सहायता प्रतिक्रिया सल्लाहकारसमेत पठाउने जनाएको छ।
पछिल्लो जानकारी अनुसार नेपालमा बाढी तथा पहिरोका कारण १६२ जनाको मृत्यु भएको छ भने चीनमा तीन जनाको ज्यान गएको छ।
अमेरिकी विदेश विभागका अनुसार मानवीय सहायता क्याथोलिक राहत सेवामार्फत उपलब्ध गराइनेछ। उक्त सहयोग बाढी प्रभावित समुदायलाई आपत्कालीन आश्रय, राहत सामग्री तथा पानी, सरसफाइ र स्वच्छता सेवाका लागि प्रयोग गरिनेछ।
विपद् सहायता प्रतिक्रिया सल्लाहकार कहाँ पठाइने हो भन्नेबारे विदेश विभागले स्पष्ट पारेको छैन। प्राकृतिक विपद्का बेला अमेरिकाले प्रभावित क्षेत्रमा सहयोग गर्न विशेषज्ञ टोली पठाउने गरेको छ।
अमेरिकी विदेश विभागले काठमाडौंस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजी तथा सहयोगका लागि स्थानीय अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ।
यसअघि विदेश विभागका प्रवक्ताले नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकबारे आफूहरू जानकार रहेको बताएका थिए। तर उनीहरूको संख्या र अवस्थाबारे विस्तृत जानकारी दिइएको थिएन।
नेपाल पर्यटन बोर्डका अधिकारीका अनुसार नेपालमा कम्तीमा ४७ अमेरिकी नागरिक बेपत्ता छन्। बाढी तथा पहिरोका कारण नेपालमा सयौं मानिस बेपत्ता भएको अनुमान गरिएको छ। बेपत्ता हुनेमा ३४१ विदेशी नागरिकसमेत रहेको बताइएको छ।
कुन देशका कति नागरिक बेपत्ता ?
अमेरिका: नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनील शर्माका अनुसार कम्तीमा ४७ अमेरिकी नागरिक बेपत्ता छन्। अमेरिकी विदेश विभागले प्रभावित अमेरिकी नागरिकको अवस्थाबारे नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
भारत: पर्यटन बोर्डका अधिकारीका अनुसार कैलाश पर्वतको तीर्थयात्राका लागि आएका कम्तीमा १३३ भारतीय नागरिक बेपत्ता छन्।
रुस: नेपालस्थित रुसी दूतावासले कम्तीमा चार रुसी नागरिकसँग सम्पर्क हुन नसकेको जनाएको छ। उनीहरूको खोजी तथा उद्धार भइरहेको भए पनि खराब मौसम र सञ्चार अवरोधका कारण समस्या भइरहेको दूतावासले बताएको छ।
पोर्चुगल: नेपालका पोर्चुगलका मानार्थ वाणिज्यदूत राजेन्द्रकुमार खेतानका अनुसार दुई पोर्चुगिज नागरिक बेपत्ता भएको जानकारी आएको छ।
दक्षिण कोरिया: दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार कम्तीमा नौ दक्षिण कोरियाली नागरिक बेपत्ता छन्।
इटाली: इटालीको विदेश मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा कम्तीमा ९० इटालियन नागरिक बेपत्ता छन्।
युक्रेन: युक्रेनको विदेश मन्त्रालयका अनुसार कम्तीमा ५३ युक्रेनी नागरिक बेपत्ता छन्। तीमध्ये ४६ जना युक्रेनी पर्यटकको समूहसँग सम्पर्क टुटेको बताइएको छ।
बेल्जियम: बेल्जियमको विदेश मन्त्रालयका अनुसार नेपालमा कम्तीमा तीन बेल्जियन यात्रुसँग सम्पर्क हुन सकेको छैन। सरकारले आवश्यक कदम चालिरहेको र बेपत्ता नागरिकका परिवारसँग सम्पर्कमा रहेको जनाएको छ।
अस्ट्रेलिया: अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजका अनुसार नेपालमा कम्तीमा ३४ अस्ट्रेलियाली नागरिक बेपत्ता छन्। अस्ट्रेलियाली अधिकारीहरूले प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिइरहेको उनले बताएका छन्।
बेलायत: नेपालमा बेलायतका ३३ जना नागरिक पनि बेपत्ता भएको बताइएको छ।
नेपाल र चीनमा आएको विनाशकारी बाढी तथा पहिरोपछि विभिन्न देशका नेताले सहयोग र समवेदना व्यक्त गरेका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा पहिरोका कारण भएको जनधनको क्षतिपछि बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाउन निर्देशन दिएका छन्। उनले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न र घाइतेलाई समयमै उपचार उपलब्ध गराउन पनि आग्रह गरेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री बालेन्द्र शाहप्रति समवेदना व्यक्त गर्दै भारत नेपाललाई मानवीय सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन्। ‘हाम्रा टोलीहरूले उद्धार र राहत प्रयासमा नजिकबाट समन्वय गरिरहेका छन्,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोप सहयोगका लागि तयार रहेको बताएकी छन्। उनले प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै युरोपेली संघको कोपर्निकस उपग्रह सेवा नेपालका प्रभावित क्षेत्रको नक्सांकन तथा उद्धार र राहत कार्यमा सहयोग गर्न सक्रिय गरिएको बताएकी छन्।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नेपालमा आएको बाढीलाई अत्यन्त विनाशकारी भन्दै प्रभावितप्रति समवेदना व्यक्त गरेका छन्। उनले नेपालमा रहेका क्यानडाली नागरिकलाई आवश्यक आपत्कालीन सूचनाका लागि सरकारको सेवामा दर्ता हुन आग्रह गरेका छन्।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बतमा आएको बाढीबाट प्रभावितप्रति समवेदना व्यक्त गरेका छन्। उनले प्रभावित क्षेत्रमा रहेका अस्ट्रेलियाली नागरिकको अवस्था बुझ्न आफ्ना अधिकारीले काम गरिरहेको बताएका छन्।
बेलायतका विदेश सचिव एड मिलिब्यान्डले नेपालमा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै नेपाली अधिकारीलाई खोजी तथा उद्धारलगायतका काममा सहयोग गर्न बेलायत तयार रहेको बताएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि नेपालमा आएको विनाशकारी बाढी र डुबानप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्। सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै रुबियोले विपद्को यस घडीमा अमेरिका नेपालको साथमा रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघका टोली र मानवीय साझेदारले प्रभावित समुदायलाई सहयोग गर्न आवश्यक सामग्री र कर्मचारी परिचालन गरिरहेको उनले बताएका छन्। एजेन्सीको सहयोगमा
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved