दस दिनदेखि ओछ्यानमै थिइन् तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४, साह टोलकी ५० वर्षीय कपुरदेवी साह । न खाना खान मन लाग्थ्यो, न कसैसँग बोल्न । आँखाअघि घुमिरहन्थ्यो त केवल छोरा सञ्जयको अनुहार । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि छोरा सम्पर्कविहीन हुँदा आमाको संसार नै अँध्यारो भएको थियो ।
तर शुक्रबार बिहान करिब १० बजे सम्पर्कविहीन भएको १० औँ दिन छोराको सकुशल उद्धार भएको खबरले दस दिनदेखिको त्यो अँध्यारो चिरिदियो । खबर सुन्नासाथ कपुरदेवी ओछ्यानबाट जुरुक्क उठ्नुभयो । आँसु झरे तर यस पटक ती आँसु पीडाका थिएनन् । उहाँले खाना खानुभयो, हिँड्न थाल्नुभयो । लामो समयदेखि शोकमा डुबेको घरमा एकाएक खुसी फर्कियो । “दस दिनदेखि छोरा सम्पर्कविहीन भएकाले शोकमा ओछ्यानमै थिएँ,” कपुरदेवीले भन्नुभयो, “आज छोराको सकुशल उद्धार भएको खबर आएपछि ओछ्यानबाट उठेँ र खाना खाएँ ।”
तिलाठी कोइलाडी गाउँपालिका–४ का ३२ वर्षीय सञ्जय साह रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा मेकानिकल फोरम्यान पदमा कार्यरत हुनुहुन्छ । भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण उहाँ आयोजनाको सुरुङभित्र सम्पर्कविहीन हुनुभएको थियो । उद्धारकर्ताले शुक्रबार बिहान उहाँलाई जीवितै उद्धार गरेका हुन् । सञ्जयसँग परिवारको अन्तिम सम्पर्क भदौ १० गते बिहान ७ बजेर ४५ मिनेटमा भएको थियो । भाइ सञ्जीव साहका अनुसार त्यस दिन दाजुसँग भिडियो कलमा कुरा भएको थियो तर फोनमा आवाज सुनिएन । त्यसपछि सञ्जयले मोबाइलको ब्याक क्यामेरा अन गरेर सुरुङभित्र रहेका मेसिन देखाउनुभएको थियो । “दाजुले सुरुङभित्रको मेसिन देखाउँदै हुनुहुन्थ्यो,” सञ्जीवले भन्नुभयो, “त्यसै क्रममा करिब पाँच सेकेन्डमै फोन काटियो । त्यसपछि दाजुसँग सम्पर्क हुन सकेन ।”
त्यसपछि सुरु भयो परिवारको प्रतीक्षा । हरेक क्षण सञ्जयको खबरको पर्खाइमा बित्न थाल्यो । दिन बित्दै जाँदा परिवारमा निराशा र चिन्ता दुवै बढ्दै गए ।
पछिल्लो पटक २०८३ असारमा १० दिनको घर बिदामा आएका सञ्जय असार २० गते आयोजनातर्फ फर्किनुभएको थियो । उहाँ करिब तीन वर्षदेखि त्यहीँ कार्यरत हुनुहुन्छ । छोराको अवस्थाबारे खबर नआएपछि आमा कपुरदेवी ओछ्यानमै थलिनुभयो । शुक्रबार आएको एउटा खबरले उहाँमा फेरि खुसी फर्कायो । कपुरदेवीका लागि सञ्जयको उद्धार केवल छोराको सकुशल फिर्तीको खबर मात्र होइन, भगवान्प्रतिको आस्था पनि बढाएको छ । सञ्जय श्रीमद्भागवत कथामा विशेष रुचि राख्ने र धार्मिक स्वभावका हुनुहुन्छ । कृष्णाष्टमीकै दिन छोराको जीवितै उद्धार भएकोमा आमा यसलाई भगवान् श्रीकृष्णको कृपा ठान्नुहुन्छ ।
“मेरो छोरा श्रीमद्भागवत कथामा बढी रुचि राख्थ्यो । धार्मिक प्रवृत्तिको पनि हो,” उहाँले भन्नुभयो, “कृष्णाष्टमीकै दिन भगवान् श्रीकृष्णले मेरो छोरालाई पुनर्जीवन प्रदान गर्नुभएको छ ।”
सञ्जयको सकुशल उद्धारको खबर पाएपछि उहाँका बुवा रामफल साह, श्रीमती लक्ष्मी साह र छोरी सुन्दिरा साह काठमाडौँ जानुभएको भाइ सञ्जीवले जानकारी दिनुभयो । सञ्जयकी सानीआमा पुनमकुमारी साहका अनुसार उद्धारको खबर गाउँमा फैलिएपछि बधाई, शुभकामना र आशीर्वाद दिन आफन्त तथा छिमेकीको शुक्रबार बिहानैदेखि घुइँचो लागेको छ ।
दस दिनसम्म सन्नाटामा डुबेको साह परिवारको आँगनमा शुक्रबार फेरि चहलपहल सुरु भएको छ भने सबैमा खुसियाली छाएको हो । दस दिनदेखि बन्द रहेको भान्साकोठामा चुलो बलेको छ । आफन्तका फोनमा अब चिन्ताका खबर होइन, बधाईका शब्द सुनिन थालेका छन् । दस दिनसम्म मृत्युको आशङ्कासँग लडेको परिवारका लागि सञ्जयको जीवित उद्धार एउटा चमत्कार जस्तै बनेको भन्दै कपुरदेवीले भन्नुभयो, “भगवान्ले मेरो छोरालाई पुनर्जीवन दिएको छ ।” यता सञ्जयको काठमाडौँमा नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार भइरहेको परिवारजनले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved