कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्तीमा जोखिम

  • असोज ११, २०८३ | ३९ पटक पढिएको | सीमा संदेश
alt

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरीलगायत जिल्लाका नदी तथा खोलानालामा पानीको सतह बढ्दा तटीय तथा होचा भू– भागमा डुबानको जोखिम बढेको छ ।

कोशी नदीमा आएको बाढीका कारण सप्तरीमा मात्रै १ सय ५७ घर डुबानमा परेका छन् । बाढीका कारण एक बालकको मृत्यु भएको छ भने प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ घरमा कोशी नदीको बाढी पसेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१२ को कोशी तटीय क्षेत्रमा ८० र वडा नम्बर १३ को गोबरगाढामा ६० घर डुबानमा परेका छन् । घरमा पानी पसेपछि खाद्यान्नमा क्षति पुगेको छ भने स्थानीयलाई खाना पकाउन र बस्न समस्या भएको छ ।

वृद्धवृद्धा तथा बालबालिकालाई कोशीको पश्चिमी तटबन्ध तथा अन्य सुरक्षित स्थानमा सारिएको छ । गोबरगाढामा बाढीमा डुबेर पाँच वर्षीय विवेक यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बाढीले जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । लगातारको वर्षासँगै मधेशका कोशी, बलान, कमला, रातु लगायतका नदी तथा खोलामा पानीको बहाव बढेको छ । नदी आसपासका बस्तीमा स्थानीय प्रशासन र सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् । होचा तथा तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानतर्फ जान भनिएको छ । बाढीका कारण कतिपय स्थानमा सडक तथा ग्रामीण आवागमनसमेत प्रभावित भएको छ ।

स्थानीय तहले प्रभावित क्षेत्रको निरीक्षण गर्दै सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न तथा अन्य राहत सामग्रीको व्यवस्थापनमा जुटेको जनाएका छन् । भोटेकोशी र त्रिशूली नदीको बाढीबाट विस्थापित भएर नुवाकोट र रसुवाका विभिन्न अस्थायी शिविर तथा त्रिपालमा बसिरहेका परिवारलाई निरन्तरको वर्षाले थप समस्यामा पारेको छ । त्रिपाल चुहिने, भुइँ हिलाम्मे हुने र लुगा तथा ओछ्यान नभिजाउन कठिन भएपछि बालबालिका, सुत्केरी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । नुवाकोटको पिपलटार, ढुंगे, गेर्खु, भैँसे तथा त्रिशूली बजार आसपासका शिविरमा पानी पस्दा विस्थापित परिवारलाई रात बिताउनसमेत कठिन भएको छ । कतिपयले दोहोरो त्रिपाल टाँगेर ओत लाग्ने प्रयास गरेका छन् ।

प्रशासनले वैकल्पिक व्यवस्था नभएसम्म तोकिएका होल्डिङ सेन्टरमै बस्न आग्रह गरेको छ । रसुवा र नुवाकोटमा विस्थापितको स्थायी पुनः स्थापनाका लागि सुरक्षित जग्गा पहिचान गरी प्रक्रिया अघि बढाइएको जनाइएको छ । लगातारको वर्षाले गोरखाको चुमनुव्री–३ पैयुमा पहिरो खसेपछि लार्के सडक अवरुद्ध भएको छ । ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि आवागमन रोकिएको छ । पाँचथर–धनकुटा सीमास्थित नावा खोलामा पानीको बहाव घटेपछि तमोर करिडोरमा ठूला सवारीसाधन सञ्चालनमा आएका छन् ।

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड पनि पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ । तर फिदिम–फालौट र जोरपोखरी–एकतिन सडक अझै अवरुद्ध छन् । प्रशासनले मुख्य तथा सहायक सडकमा रातिको समयमा सवारी सञ्चालनमा लगाएको रोकसमेत कायम राखेको छ । त्यस्तै कर्णाली प्रदेशमा पनि वर्षाका कारण ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । लगातारको वर्षापछि नारायणी नदीमा पानीको बहाव उच्च हुँदा पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएका छन् । नारायणीको बाढीले कावासोती–१७ अमलटारी, गैँडाकोट–२ तथा पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा डुबानमा परेको छ ।

सुस्ता गाउँपालिका–५ मा बाढीमा फसेका २९ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। सो क्षेत्रमा दुई सयभन्दा बढी घर डुबानमा परेको बताइएको छ । पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । देवघाट जलमापन केन्द्रमा नारायणीको जलसतह ९ मिटर बढी भएपछि खतराको चेतावनी दिएको छ । यससँगै नारायणी तटीय क्षेत्रका बासिन्दामा जोखिम थपिएको छ । वर्षा जारी रहेकाले नदी तटीय, पहिरोको जोखिम भएका क्षेत्र तथा अस्थायी शिविरमा बसिरहेका नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले तोकेका सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब