राकेश गुप्ता र महेश साह मध्ये कस्को पलरा भारी ?

  • कार्तिक २७, २०८३ | १८९ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार । आगामी मंसिर ४ गतेको लागि तय भएको गोलबजार व्यापार संघको निर्वाचनमा अध्यक्ष पदको लागि चार जनाले उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट राकेश गुप्ता र नेपाली कम्यूनिष्ट पार्टी (नकपा)लगायतको समर्थनमा अग्रज व्यवसायी महेश साह सुडी प्यानलले प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। 
राकेश गुप्ता यतिबेला चुनावी चर्चामा छन्। कार्तिक २५ गते उम्मेदवारी दर्ता गराएका गुप्तासहित अध्यक्ष पदमा चार जनाले प्रतिस्पर्धा गर्दैछन्।
लामो समयदेखि गोलबजारलाई आफ्नो कर्मथलो बनाएर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका गुप्ता व्यवसायी मात्र नभई उद्योग व्यापार संघको संगठनात्मक जिम्मेवारीसमेत सम्हालिसकेका व्यक्ति हुन्। उनले यसअघि संघको महासचिव पदमा निर्वाचित भएर काम गरिसकेका छन् भने वरिष्ठ उपाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।
गुप्ता गोलबजारमा मोटरसाइकल तथा लहानमा कार सोरुम र मोबाइल होलसेललगायतका व्यवसायमा संलग्न छन्। व्यवसायसँगै संघको गतिविधिमा सक्रिय रहँदै आएका उनी यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका हुन्।
को हुन् राकेश गुप्ता ?
२०४१ साल जेठ २३ गते सिरहाको गोलबजारमा जन्मिएका गुप्ताले गोलबजारलाई नै आफ्नो व्यावसायिक कर्मथलो बनाएका छन्। उनले २०५६ सालमा स्थानीय श्री जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि जनकपुरस्थित मोडेल कलेजबाट कक्षा १२ को अध्ययन पूरा गरेका हुन्। व्यवसायसँगै अध्ययनलाई पनि निरन्तरता दिएका गुप्ता भेटेरिनरी विषयमा समेत अध्ययन गरेका व्यक्ति हुन्। उनले काठमाडौंस्थित पूर्वाञ्चल विश्वविद्यालयबाट अध्ययन पूरा गरी नेपाल भेटेरिनरी काउन्सिलमा ५२५ नम्बरमा दर्ता भएका छन्।उनी भेटेरिनरिका चिकित्सक  हुन ।
बजार व्यवस्थापनदेखि व्यापारीका समस्यासम्म मुख्य एजेन्डा !
अध्यक्ष पदका उम्मेदवार गुप्ताले गोलबजारको अव्यवस्थित बजार व्यवस्थापन, पार्किङको अभाव, सार्वजनिक शौचालयको समस्या तथा व्यापारीहरूले भोग्दै आएका कठिनाइलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।उनका अनुसार गोलबजारमा वर्षौंदेखि सार्वजनिक शौचालय र व्यवस्थित पार्किङको अभाव छ। बजार व्यवस्थापन हुन नसक्दा व्यापारी, उपभोक्ता तथा सर्वसाधारणले समेत समस्या भोग्नुपरेको छ।
गुप्ताले आफू अध्यक्षमा निर्वाचित भएमा स्थानीय सरकार, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरेर यी समस्या समाधानका लागि पहल गर्ने बताएका छन्। ’व्यापार संघको एक्लो प्रयासले मात्रै सबै समस्या समाधान सम्भव छैन। स्थानीय सरकार, सुरक्षा निकाय र सम्बन्धित निकायसँग सहकार्य गरेर बजार व्यवस्थापन, पार्किङ र सार्वजनिक शौचालयको समस्या समाधानका लागि पहल गर्नेछु,’ उनले भने।
विगतमा पनि बजारका समस्या समाधानका लागि प्रयास भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनको भनाइ छ। यसपटक अध्यक्ष पदमा निर्वाचित भएमा ती विषयलाई प्राथमिकताका साथ अघि बढाउने उनको प्रतिबद्धता छ। व्यावसायिक अनुभव र संघको नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेका गुप्ताले यसपटक अध्यक्षको जिम्मेवारीका लागि प्रतिस्पर्धा गरिरहेका छन्। 
महेश साह
कुनै समय गोलबजारको सडकमा चटट्टि  ओछ्याएर धानको कारोबार गर्ने महेश साह अहिले मधेश प्रदेशका स्थापित उद्योगी तथा व्यवसायीमध्ये एकका रूपमा परिचित छन्। सामान्य व्यापारबाट सुरु भएको उनको व्यावसायिक यात्रा आज राइस मिल उद्योग सञ्चालन गर्दै देशका विभिन्न जिल्लामा चामलको बजार विस्तार गर्नेसम्म आइपुगेको छ। करिब चार दशक लामो व्यावसायिक अनुभव बोकेका उनै साह अहिले गोलबजार उद्योग व्यापार संघको अध्यक्ष पदका उम्मेदवार बनेका छन्।
सिरहाको अर्नमा गाउँपालिका–१ महनौरमा २०२७ सालमा जन्मिएका साहले २०४२ सालदेखि आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए। त्यतिबेला उनी महनौरदेखि गोलबजारसम्म चटट्टि ओछ्याएर धानको किनबेच गर्थे। व्यापारको सुरुवाती दिनमा आफैँ चटट्टि ओछ्याएर धानको कारोबार गर्ने साहले त्यही सामान्य व्यापारलाई आफ्नो भविष्य निर्माणको आधार बनाए। सानै उमेरदेखि व्यापारमा लागेका उनले निरन्तर मेहनत, अनुभव र लगनशीलताका बलमा आफ्नो व्यवसायलाई क्रमशः विस्तार गर्दै लगे।
व्यापारमा प्राप्त अनुभव र सम्भावनालाई उद्योगमा रूपान्तरण गर्ने उद्देश्यले उनले २०६० सालमा गोलबजार नगरपालिका–४ मा ‘जय माँ धमिनी लघु उद्योग राइस मिल’ स्थापना गरे। त्यसपछि उद्योग विस्तार गर्ने क्रममा २०७८ सालमा धनगढीमाई नगरपालिका–८ कसहामा ‘कौशल एग्रो राइस मिल’ समेत सञ्चालनमा ल्याए।
तर, व्यापारमा आएको मन्दी र आर्थिक संकटका कारण कौशल एग्रो राइस मिल लामो समय सञ्चालन गर्न सकेनन्। करिब तीन वर्ष सञ्चालन गरेपछि उक्त उद्योग बिक्री गर्नुपरेको साह बताउँछन्। त्यसपछि गोलबजारस्थित आफ्नै पुरानो राइस मिललाई मुख्य आधार बनाएर उनी व्यवसायमा निरन्तर सक्रिय छन्।हाल उनको उद्योगबाट उत्पादित चामल देशका ७७ जिल्लामध्ये करिब ५० जिल्लामा थोक रूपमा बिक्री तथा वितरण हुँदै आएको छ। कुनै समय सडकमा बोरा ओछ्याएर धानको कारोबार गर्ने साहले उद्योग स्थापना गर्दै देशका विभिन्न जिल्लासम्म आफ्नो व्यापार विस्तार गर्नु उनको चार दशक लामो व्यावसायिक यात्राको महत्वपूर्ण उपलब्धि हो।उनले आफ्नो उद्योग सञ्चालनमा स्थानीय कामदारलाई प्राथमिकता दिँदै आएका छन्। हाल उद्योगमा करिब एक सय जनाले रोजगारी पाएका छन्, जसमध्ये अधिकांश स्थानीय बासिन्दा रहेको साह बताउँछन्। यसरी उनको व्यवसायले व्यापारसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नसमेत योगदान पु¥याउँदै आएको छ।
उद्योगीको अनुभव बोकेर संघको नेतृत्वमा आउने तयारी !
व्यापार र उद्योगमा लामो समय बिताएका साह अब आफ्नो अनुभवलाई गोलबजारको समग्र विकासमा उपयोग गर्न चाहन्छन्। उनका अनुसार गोलबजारमा व्यापारको सम्भावना प्रशस्त भए पनि बजार व्यवस्थापन र व्यापारीका आधारभूत समस्या समाधानमा अपेक्षित काम हुन सकेको छैन। करिब ४० वर्षदेखि गोलबजारमा व्यापार गर्दै आएका उनले बजारको विकास र समस्यालाई नजिकबाट नियाल्दै आएका छन्। सार्वजनिक शौचालयको अभाव, अव्यवस्थित बजार, पार्किङको समस्या र सडकमा नै बजार सञ्चालन गर्नुपर्ने बाध्यतालाई उनले गोलबजारका प्रमुख समस्याका रूपमा औँल्याएका छन्।
मैले सानै उमेरदेखि गोलबजारमा बसेर व्यापार गर्दै आएको छु। गोलबजारलाई कसरी समृद्ध र व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा सधैँ सोच्दै आएको छु, साह भन्छन्,यहाँ व्यापार गर्ने ठूलो सम्भावना छ, तर व्यापारीका समस्या समाधान हुन सकेका छैनन्। बजारमा सार्वजनिक शौचालय छैन, पार्किङको व्यवस्था छैन, बजार व्यवस्थापन छैन। सडकमा नै बजार लाग्ने भएकाले दुर्घटनाको जोखिमसमेत उत्तिकै छ।
दुई पटक अरूलाई साथ दिए, यसपटक आफैँ चुनावी मैदानमा !
गोलबजार उद्योग व्यापार संघको नेतृत्वमा पुगेर बजारको अवस्था परिवर्तन गर्ने सोच साहले यसअघि पनि बनाएका थिए। तर, दुई पटकसम्म नयाँ तथा युवा साथीहरूलाई नेतृत्वमा पु¥याउन आफूले सहयोग गरेको उनी बताउँछन्।आफूले साथ दिएका उम्मेदवार नेतृत्वमा पुगे पनि बजारका समस्या अपेक्षाअनुसार समाधान हुन नसकेको महसुस भएपछि यसपटक भने उनी आफैँ अध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका हुन्।
आगामी मंसिर ४ गते हुने संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बनेका साहले आफ्नो उम्मेदवारी व्यक्तिगत स्वार्थका लागि नभई समग्र व्यापारी, व्यवसायी र समाजसेवीको हितका लागि भएको दाबी गरेका छन्।मेरो उम्मेदवारी व्यक्तिगत होइन, समग्र व्यापारी र समाजसेवीको हो। गोलबजारमा व्यापार गर्न थालेको करिब ४० वर्ष हुन लाग्यो। तर, बजारको प्रगति नहुनु र व्यापारीका समस्या समाधान नहुनुले दुःख लाग्छ,उनले भने।संघको नेतृत्वमा दुई कार्यकाल साथिहरुले बिताउदा पनि व्यापारीका आधारभूत समस्या समाधान हुन नसकेको उनको टिप्पणी छ। ‘दुई–दुई कार्यकाल नेतृत्वमा बस्दा पनि बजारका लागि के काम भयो त? व्यापारीका समस्या अझै ज्यूँका त्यूँ छन्। अब कुरा मात्रै होइन, परिणाम देखिने गरी काम गर्नुपर्छ,साहले भने।
बजारको मुहार फेर्ने दाबी, व्यापारीको विश्वास जित्ने चुनौती!
साहको मुख्य उद्देश्य गोलबजारलाई व्यवस्थित, सुरक्षित र व्यापारमैत्री बजारका रूपमा विकास गर्नु रहेको छ। सार्वजनिक शौचालय निर्माण, पार्किङ व्यवस्थापन, सडकमा हुने अव्यवस्थित व्यापार नियन्त्रण तथा व्यापारीका साझा समस्या समाधानलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्।
चार दशकसम्म व्यापारमै बिताएका साह अहिले उद्योगीका रूपमा स्थापित भइसकेका छन्। कुनै समय बोरा ओछ्याएर धानको कारोबार गर्दै व्यावसायिक यात्रा सुरु गरेका उनले आज आफ्नै उद्योगमार्फत देशका करिब ५० जिल्लामा चामल पु¥याइरहेका छन्। अब त्यही संघर्ष, अनुभव र व्यावसायिक यात्राबाट प्राप्त सिकाइलाई संघको नेतृत्वमार्फत व्यापारीको हित र गोलबजारको विकासमा लगाउने उनको चाहना देखिन्छ।
सामान्य व्यापारबाट उद्योगी बनेका साहका लागि यसपटकको निर्वाचन आफ्नो व्यावसायिक पहिचानलाई सामाजिक तथा संस्थागत नेतृत्वसँग जोड्ने अवसर पनि हो। तर, लामो व्यावसायिक अनुभव र परिवर्तनको प्रतिबद्धताले मात्रै नेतृत्व सुनिश्चित हुँदैन।त्यसका लागि उनले गोलबजारका व्यापारीको विश्वास जित्नुपर्नेछ।
मंसिर ४ गते हुने निर्वाचनले चार दशक लामो व्यापारिक अनुभव बोकेका साहलाई संघको नेतृत्वमा पु¥याउँछ वा प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारलाई व्यापारीले रोज्छन् भन्ने टुंगो लगाउनेछ।

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब