सिरहा । सिराहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
अर्नामा गाउँपालिका– ५ कृष्णपुरको बेलदरी टोलकी ५४ वर्षीया सीतादेवी राउतका मृत्यु भएको हो । टाउकोमा चोट लागेर अचेत भएकी राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिराहामा राखिएको छ ।
आरसिसी सडक ढलानको विषयमा विवादमा स्थानीय सीताराम राउत, बुधेश्वर राउत, बालदेव साहलगायतले सीतादेवी राउतको घरमै पुगेर कुटपिट गरेका थिए । कुटपिटबाट विन्देश्वरदेवी राउत, नागेन्द्रकुमार राउत, पूजाकुमारीदेवी राउत, रोहितकुमर राउत घाइते भएका छन् ।
के कारणले भयो झडप ?
अर्नामा गाउँपालिकाले आरसिसी सडक निर्माण गर्न आठ लाख रुपैयाँ दिएको थियो । उक्त सडक निर्माणमा करिब दुई लाख रुपैयाँ बचेको थियो । त्यही बाँडफाँडको विषयमा उपभोक्ता समितिका अध्यक्ष बुधेश्वर राउत र कोषाध्यक्ष पूजादेवी राउतबीच विवाद भएको थियो ।
मृतक सीतादेवी सडक ढलान समितिका कोषाध्यक्ष पूजादेवीकी सासू हुन् । बालदेव साह, सीताराम राउत र बुधेश्वर राउत मिलेर काकीलाई कुटपिट गरी हत्या गरेको रोहितकुमार राउतले बताए । कुटपिट घटनामा संलग्न रहेको भन्दै प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाबाट गएको प्रहरीको टोलीले कुटपिटमा संलग्न स्थानीय बालदेव साह, कमलेश राउत, लीलादेवी राउत र सुलेखा देवी राउतलाई पक्राउ गरेको प्रहरी प्रवक्ता विनोद घिमिरेले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved