प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भारतको औपचारिक भ्रमण गर्ने भएको छ । भारतीय सञ्चारमाध्यम आजतकले प्रधानमन्त्री साहको भारत भ्रमण नोभेम्बर २३ देखि २५ सम्म गर्ने गरी तयारी भइरहेको जनाएको छ ।
यद्यपि भ्रमणको मिति दुबै देशका तर्फबाट औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार प्रस्तावित भ्रमण प्रधानमन्त्री साहको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उनी अहिले अमेरिका भ्रमणमा रहेकाले अमेरिकाको भ्रमण उनको पहिलो विदेश भ्रमण भए पनि भारत भ्रमणलाई पहिलो औपचारिक द्विपक्षीय भ्रमणका रूपमा लिइएको छ ।
नेपाल सरकारले प्रधानमन्त्री साहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमण यसअघि नै स्वीकृत गरेको थियो । प्रधानमन्त्री साहलाई भारत सरकारले गत जुलाईमै भ्रमणका लागि औपचारिक निम्तो दिएको पुष्टि गरेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री साहलाई भारत भ्रमणको निम्तो दिइएको बताएका थिए । त्यसबेला भ्रमणको सम्भावित मिति भने सार्वजनिक गरिएको थिएन ।
अहिले आएर नोभेम्बरको अन्तिम साता भ्रमणको तयारी भइरहेको विवरण सार्वजनिक भएपछि काठमाण्डु–नयाँदिल्ली सम्बन्धमा प्रधानमन्त्री शाहको पहिलो औपचारिक भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । प्रस्तावित भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका आर्थिक तथा पूर्वाधारसँग सम्बन्धित विषय प्रमुख रूपमा उठ्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नेपाल–भारत कनेक्टिभिटी, उर्जा, व्यापार, पूर्वाधार तथा बाढीपछिको पुनर्निर्माणका विषयमा छलफल हुने बताइएको छ ।
भारत र नेपालबीच पछिल्ला महिनामा आर्थिक तथा ऊर्जा सहकार्यका विषयमा उच्चस्तरीय संवाद पनि जारी छ । रेल कनेक्टिभिटीतर्फ रक्सौल– काठमाण्डु ब्रोडगेज रेलमार्गको विषय महत्वपूर्ण बन्न सक्ने देखिन्छ । दुई देशका अधिकारीहरूबीच यस परियोजनाको अन्तिम लोकेसन सर्भे रिपोर्टलगायत विषयमा छलफल भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त् य स् त ै जनकपुरधाम– अयोध्या यात्रुवाहक रेल सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने विषय पनि भ्रमणका क्रममा उठ्न सक्ने जनाइएको छ।
उर्जा क्षेत्रमा नेपालले आगामी वर्षहरूमा ठूलो परिमाणमा जलविद्युत तथा स्वच्छ उर्जा उत्पादन र भारततर्फ निर्यात विस्तार गर्ने लक्ष्य राखेको छ । हालै भारत भ्रमण गरेका अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय पक्षबीच पनि आर्थिक विकास, स्वच्छ ऊर्जा, कनेक्टिभिटी तथा पूर्वाधार सहकार्यका विषयमा छलफल भएको थियो । प्रस्तावित भारत भ्रमणको अर्को महत्वपूर्ण विषय बाढी तथा प्राकृतिक विपत्तिपछिको पुनर्निर्माण हुन सक्ने जनाएको छ ।
नेपालमा आएको विपत्तिपछि भारतले मानवीय सहायता तथा उद्धार सामग्री उपलब्ध गराएको थियो । पछिल्लो समय दुबै देशबीच विपद् व्यवस्थापन, पुनर्निर्माण र पूर्वाधार सहयोगका विषयमा पनि संवाद भइरहेको छ । प्रधानमन्त्री साहको भ्रमणमा तत्कालीन राहतभन्दा दीर्घकालीन पुनर्निर्माण, सीमा क्षेत्रमा पूर्वाधार र विपद् प्रतिरोधी संरचनासम्बन्धी सहकार्यका विषयले समेत स्थान पाउन सक्ने सम्भावना छ । प्रधानमन्त्री साहको भारत भ्रमण टुंगो लाग्न ढिलाइ भइरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने भारत पुगेका थिए ।
लामिछाने भारतीय जनता पार्टी(भाजपा) को निमन्त्रणामा भारत पुगेका थिए । उनको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा अन्य भारतीय राजनीतिक नेतृत्वसँग भेटवार्ता भएको थियो । यसअघि नै प्रधानमन्त्री साहलाई भारत भ्रमणको निम्तो दिइसकिएको अवस्थामा सत्तारूढ दलका सभापति लामिछानेको भारत भ्रमण पहिले हुनु स्वाभाविक रूपमा राजनीतिक र कूटनीतिक चासोको विषय बनेको थियो । कतिपय भारतीय सञ्चारमाध्यम तथा विश्लेषणहरूले यसलाई नेपालसँग राजनीतिक सम्पर्क विस्तार गर्ने भारतको प्रयासका रूपमा व्याख्या गरेका छन् । हालै अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमण गरी भारतीय अर्थमन्त्री निर्मला सीतारमण तथा विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।
उक्त भेटमा आर्थिक विकास, उर्जा, कनेक्टिभिटी, लगानी तथा व्यापारलगायत विषयमा छलफल भएको थियो । अहिले प्रधानमन्त्री साह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका छन् । नेपाल सरकारले उनको नेतृत्वमा महासभा प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको थियो । अमेरिका भ्रमणपछि नोभेम्बरमा भारत जाने सम्भावित कार्यक्रम प्रधानमन्त्री साहको कूटनीतिक सक्रियताको अर्को महत्वपूर्ण चरण बन्नेछ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved