आजदेखि बजेट भुक्तानी र निकासा नहुने, राजस्व सङ्कलन १० खर्ब ७० करोड रुपैयाँ

  • असार २६, २०७९ | ५२१ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । आजदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले गएराति १२ बजेदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा रोक्न यसअघि नै सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाईहरुलाई निर्देशन दिएको थियो ।

प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार निर्देशन दिइएको महालेखा कार्यालयले जनाएको छ । महालेखा नियन्त्रक कार्यालयको निर्देशनअनुसार अस्ति शुक्रवार नै लेखा नियन्त्रक कार्यालय र इकाईहरुले आफ्नो प्रणाली बन्द गरिसकेका छन् । केही निश्चित प्रयोजनको बिल भने भुक्तानी हुने व्यवस्था नियमावलीमा छ । 

चालु आर्थिक वर्ष सकिन अब ७ दिन मात्रै बाँकी छ । सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म कुल १० खर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा कुल ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।

कार्यालयका अनुसार कुल लक्ष्यको ८४ दशमलव ७६ प्रतिशत बराबर राजस्व सङ्कलन भएको छ । त्यसमा कर राजस्व कुल ९ खर्ब २६ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबर सङ्कलन भएको छ । यो कुल लक्ष्यको ८६ दशमलव ७५ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षमा  १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ बराबर कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिए बराबर नै सङ्कलन हुने सरकारको विश्वास छ ।

कोभिड–१९ महामारी र प्रभावकाबीच पनि राजस्व सङ्कलन अवस्था सन्तोषजनक रहेको सरकारको दाबी छ । त्यस्तै गैरराजस्व १ खर्ब १२ अर्ब ६२ करोड ७९ लाख बराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा अहिलेसम्म ७४ अर्ब १९ करोड ७१ लाख बराबर सङ्कलन भएको छ । यो कुल लक्ष्यको ६५ दशमलव ८७ प्रतिशत बराबर हो ।

कार्यालयका अनुसार सरकारले ५९ अर्ब ९१ करोड ९९ लाख बराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकामा १३ अर्ब ८८ करोड ३३ लाख बराबर प्राप्त भएको छ । कुल लक्ष्यको २३ दशमलव १७ प्रतिशत बराबर हो । सबै विवरणका आधारमा हेर्दा सरकारले चालु आर्थिक वर्षको असार २५ गतेसम्म कुल लक्ष्यको ८५ दशमलव ३३ प्रतिशत बराबरको प्राप्त गरेको छ ।

त्यस्तै, सरकारको खर्चतर्फ कुल लक्ष्यको ७४ दशमलव ३३ प्रतिशत बराबर खर्च भएको छ । त्यसमा सबैभन्दा बढी खर्च चालु खर्च रहेको छ । चालु आर्थिक वर्षको कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ करोड रुपैयाँ बराबरको बजेट खर्च गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये अहिलेसम्म १२ खर्ब १२ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबर खर्च भएको छ । त्यसमा चालु खर्चतर्फ १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा ९ खर्ब ३८ अर्ब २० लाख बराबर खर्च भएको छ । यो भनेको कुल लक्ष्यको ८८ दशमलव ०५ प्रतिशत बराबर हो ।

यस्तै, पुँजीगत खर्च कुल लक्ष्यको ४६ दशमलव २२ प्रतिशत बराबर भएको छ । विकास निर्माणका काम प्रभावकारी बन्न नसकेका कारण पुँजीगत खर्चमा उल्लेख्य बढोत्तरी हुन नसकेको देखिन्छ । सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा अहिलेसम्म १ खर्ब ७४ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

यस्तै, सरकारले नियमितरूपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा र ब्याज भुक्तानीका लागि विनियोजन गरेको वित्तीय व्यवस्थातर्फ लक्ष्यको ५२ दशमलव ४५ प्रतिशत बराबर खर्च गरेको छ । चालु आर्थिक वर्षमा १ खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट वित्तीय व्यवस्थातर्फ गरेको छ । त्यसमध्ये अहिलेसम्म ९९ अर्ब ३५ करोड ९० लाख  रुपैयाँ बराबर भुक्तानी गरेको छ ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब