सिरहा, २२ बैशाख । आज शुक्रवार बुद्ध जयन्ती अर्थात् अहिंसा र शान्तिका अग्रदूत गौतम बुद्धलाई स्मरण गर्ने दिन । तर, सिरहा जिल्लामा एक यस्तो ठाउँ छ, जहाँ बुद्ध जयन्तीकै दिन हजारौं पशुपंक्षीलाई बली दिइन्छ र रगतको खोलो बगाइन्छ ।
हो, सिरहाको लहान नगरपालिका–१५ ढोढना स्थित राजदेवी मन्दिरमा बुद्ध जयन्तीकै दिन बली दिइन्छ । लहान बजारदेखि करिब ७ किलोमिटर उत्तरमा राजदेवीको मन्दिर छ । यो मन्दिरमा प्रत्येक वर्ष बुद्ध जयन्तीकै दिन बोका, कुखुरा, हाँस, परेवासहित हजारौं पशुपंक्षीहरुको बली दिएर पूजा गरिन्छ ।
बुद्ध जयन्तीका दिन राजदेवी मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । श्रद्धालुहरुको अत्यधिक चापका कारण यस दिन हिँडडुल गर्नसमेत समस्या हुन्छ ।
एकदिन अगाबै देखी मन्दिर परिसरमा भक्तजनको घुइचो लागेको थियो । शुक्रबार विहानैदेखि बली चढाउन सुरु भएको छ । यसवर्ष २० हजार भन्दा बढी चढ्ने अनुमान गरिएको छ । ‘हामीले केही दिन पहिले देखि रसिद कटाउन सुरु गरेका थियौँ,’ मन्दिर समितिका सचिव विरेन्द्र चौधरीले भने,‘हाल सम्म १६ हजार भन्दा बढीले त बोका बली दिनको लागि मात्रै अग्रिम नै रसिद कटाएको छ । मेलाको दिन पनि विहानैदेखि रसिद कटाउन र बली प्रदान सुरु भएको छ ।’ २० हजार भन्दा बढी बली चढने उनले सुनाए । कोरोनाका कारण केही वर्ष राम्रो पुँजा नभएका कारण यसवर्ष झन भाकल गर्नेहरुको घुइचो लागेको उनले बताए ।
मेलालाई व्यस्थित गर्न ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक र स्थानीय स्वयंसेवक परिचालन भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख भोलाकुमार भट्टले बताए । स्थानीय ४ सय स्वयंसेवकलाई नगरपालिकाबाट टिसर्ट सहयोग गरिएको मेयर महेश चौधरीले बताए ।
विभिन्न ठाउँमा क्लब तथा संघ संस्थाले निःशुल्क खानेपानीको व्यवस्था पनि गरेको छ ।
यस्तो छ किम्बदन्ती
यो मन्दिरमा बुद्ध जयन्तीकै दिन बली चढाउने चलन नयाँ होइन् । यहाँ १२५ वर्ष अघिदेखि नै बली चढाइँदै आएको स्थानीय जानकारहरु बताउँछन् । यहाँ गरिने हरेक भाकल पूरा हुने विश्वास गरिन्छ । भाकल पूरा भएको भन्दै श्रद्धालुहरु पशुको बली दिएर पूजा गर्छन् ।
मन्दिरमा अहिले पाँचौ पुस्ताका पूजारी छन् । यो मन्दिरप्रति श्रद्धालुहरुको विश्वास बढ्दै गएको छ । राजदेवी माताले वैशाख पूर्णिमाका दिन आफ्नो मन्दिरमा बली चढाएमा सबैको फलिफाप हुने भनी सपनामा बताएपछि बली प्रथा शुरु भएको इतिहास सुनाउँछन् यहाँका स्थानीयहरु ।
अहिले मन्दिर भएको ठाउँमा १२५ वर्ष अगाडि घनघोर जंगल र चरण क्षेत्र थियो । जंगलभन्दा केही टाढा चौधरी र भट्टहरुको परिवार बसोबास गर्दथे । उनीहरुले त्यो जंगलमा गाईबस्तुहरु चराउन लग्थे ।
तर प्रत्येक दिन एक–एक गाई हराउन थालेपछि गाउँलेहरु ठूला धामीको रुपमा रहेका दिलाराम भट्टकहाँ पुगे । ‘भट्टले त्यस स्थानमा गई तन्त्रसाधना गरेपछि राति सपनामा देवीले दर्शन दिई वैशाख पूर्णिमाकै दिनमा बली चढाएर भाकल गरी पूजा गर्ने हो भने सबै समस्या टर्ने बताएका थिए । देवीले सपनामा दिएको दर्शन र उनको भनाई अनुसार स्थानीयले बलीप्रथा सुरु गरे ।
अहिले राजदेवी मन्दिरमा सिरहासहित नेपालकै अन्य जिल्ला तथा छिमेकी देश भारतबाट समेत बली चढाउन आउनेहरु बढ्दै गएका छन् । दर्शनार्थीहरुले पशु बलीदेखि सुन, चाँदीका धातुसमेत मन्दिरमा चढाउने पूजारी बताउँछन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved