काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो समय अवैध तरिकाले ‘भिजिट भिसा’मा विदेश पठाउनेहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । गएको असोज १९ देखि कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थी नेतृत्वको अनुसन्धान टोली नै बनाएर अपरेसन थालेको हो ।
जसमध्ये हालसम्म पक्राउ पर्नेको संख्या ३२ पुगेको छ । बिचौलियामार्फत् नक्कली कागजातका आधारमा ‘भिजिट भिसा’मा विदेश जान खोज्ने एक हजार पाँच सय १३ जनालाई रोकेको छ । पक्राउ पर्नेमा म्यानपावर व्यवसायी, ट्राभलका सञ्चालक, प्रहरीदेखि विमानस्थलस्थित अध्यागमन विमागका कर्मचारीहरू र एयरलाइन्सका कर्मचारीसमेत छन् ।
भिजिट भिसामा ‘सेटिङ’ मिलाएर विदेश पठाएको आरोपमा अध्यागमनका कर्मचारी पक्राउ परेका थिए । अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति विमानस्थलस्थित अध्यागमनका अधिकृत नरबिर खड्कालाई पक्राउ गरेको हो ।
उनीबाहेक नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अरबिन यादवलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । उनीहरुले विभिन्न व्यक्तिको नक्कली कागजात रहेको जानकारी हुँदासमेत सेटिङमा पठाउने गरेको खुलेको हो ।
पक्राउ परेकालाई प्रहरीले कीर्ते तथा संगठित अपराधको मुद्दा चलाएको छ । यसअघि नक्कली कागजात भएकाहरुलाई विदेश पठाउन भूमिका खेलेको आरोपमा प्रहरीले विमानस्थलको सुरक्षाका लागि खटिएका प्रहरी जवान आशिष श्रेष्ठ र जीवनराज तामाङलाई पक्राउ गरेको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved