पाँचथर । पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो ।
गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त थिए । सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो ।
मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उनकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरिरहेका थिए ।
फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ । मकरबहादुरले फाल्गुनन्दका इन्द्रनारायण आङदेम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा खेती लगाउने गरेको बताए । गत मङ्सिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको थाहा पाएका थिए ।
“वडाध्यक्षले खबर गरेपछि गत मङ्सिर १३ गते गाउँपालिकामा गएर एक सय ८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ”, मकरबहादुरले भने। विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उनको भनाइ छ ।
“विसं २०५६ मा म सगोलको परिवारबाट छुट्टिँदा निकै दुःख पाएँ, दुई पाथी धान लुकाएँ । त्यतिबेला मेरो पाँचजनाको परिवार थियो”, उनले भने, “मेरो नाममा दुई रोपनी जग्गा छ । यसको उब्जनीले नपुगेपछि पाँचजनाको जग्गामा खेती गर्दै आएका छौँ । ३० मुरीभन्दा कम धान फल्ने कुनै खेत छैन ।” मकरबहादुरले ती खेत बन्धकी, कुत र अधियाँमा लिएको हो । उनले मकैका लागि पाखो बारी अधियाँमा लिएका छन् ।
किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले धानका खलाखलामै कर्मचारीलाई बोलाएका थिए । तर सबै धान भेला पारेर जोख्न मन लागेपछि घर छेउको खेतको खलामा सबै धान जम्मा गरे । “धान जम्मा गर्न सात हजार खर्च भयो । धान झारे पनि पराल दाइँ गर्न भ्याएकै छैन्”, उनले भने । बम्जन दम्पतीका तीन छोरा झापाको दमकमा बसोबास गर्छन् भने तीन छोरी विवाह गरेर गइसकेका छन् । तर धान फलाउन बम्जन दम्पतीले छरछिमेकीको साथ पाइरहेका छन् ।
“दुःख नभई सुख हुँदैन रहेछ । साथीभाइले मैले भनेको टार्दैनन्, नाइँ भन्दैनन्”, मकरबहादुरले भने । विसं २०६० देखि धान खेतीमा लागिपरेको उहाँ बताउँछन् । पाखा खेतमा पानीको समस्या भए पनि निबु खोलाको बेँसीमा समस्या नरहेको उनले बताए । मकरबहादुर गाउँपालिकाले रु ५० हजार पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने सोचमा छन् । “गाउँपालिकाले दिएको रकमले एउटा माउ भैँसी किन्ने योजना छ”, उनले भने । बम्जन दम्पतीले लामो समयदेखि बर्षेनि एक सय मुरीभन्दा बढी धान फलाउँदै आएको स्थानीयवासीको भनाइ छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved