तस्करीको तीन किलो सुन लुटपाटमा सशस्त्रका डिएसपी र नेपाल प्रहरीका असइकै भूमिका शंकास्पद ३१ दिन प्रहरी हिरासतमा बसेर छुटेपछि भरिया सुन तस्कर समूहको अपहरणमा, २० लाख रुपैयाँको चेकमा हस्ताक्षर गरेपछि अपहरणमुक्त

  • मंसिर ४, २०८१ | ४५० पटक पढिएको | सीमा संदेश
alt

केरुङ नाकाबाट तस्करीको तीन किलो सुन कन्टेनरमा राखेर काठमाडौं आउँदै गरेका भरिया रामकृष्ण वाइबालाई गत २५ साउनमा धादिङको गल्छी–खानीखोलाआसपासमा चार हतियारधारीको समूहले लुटेको थियो । जसमा सशस्त्र प्रहरीका डिएसपी र नेपाल प्रहरीका असइको भूमिका नै शंकास्पद देखिएको छ । उनीहरूको भूमिकासहित घटनाको अनुसन्धान गर्न प्रहरीले एसएसपी ईश्वर कार्कीको नेतृत्वमा समिति नै गठन गरेको छ ।

लुटपाटमा सशस्त्र प्रहरीका डिएसपी योगेशचन्द्र बराल र नेपाल प्रहरीअन्तर्गत विशेष ब्युरोमा कार्यरत असइ (नाम खुल्न बाँकी)को शंकास्पद भूमिका देखिएको हो । त्यति वेला तस्कर समूहले भने लुटपाटमा संलग्न रहेको आशंकामा भरिया वाइबालाई नै अपहरण गरेको थियो । ‘लुटेको आशंकामा तस्करले सुन बोकेर आउने चालक वाइबालाई नै अपहरण गरेछन् । तर, खासमा सुन लुट्ने धन्दामा वाइबा नभई सशस्त्र प्रहरीका डिएसपी र नेपाल प्रहरीका असइको संलग्नतातिर अनुसन्धानको सुई सोझिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

घटनामा सशस्त्रका एक डिएसपी र नेपाल प्रहरीका एक असइको नाम पनि आएको छ  : एसपी काजीकुमार आचार्य, प्रवक्ता, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
अपहरणमा परेको भन्दै हामीकहाँ जाहेरी आयो । घटनाको अनुसन्धान भयो । चार अभियुक्त पक्राउ परे । सोधपुछका क्रममा घटना सुन तस्करी र लुटपाटसँग जोडिने देखियो । यस घटनामा सशस्त्रका एक डिएसपी र नेपाल प्रहरीका एक असइको नाम पनि आएको छ । घटना अनुसन्धान गर्न ‘हेडक्वार्टर’ले पहिले नै समिति गठन गरेको रहेछ । 

प्रहरीका अनुसार घटनामा मुछिएका सशस्त्रका डिएसपी बराल ललितपुरको हरिहर भवनस्थित राजस्व कार्यालयमा कार्यरत छन् । उनले सशस्त्रका पूर्वआइजिपी ठाकुरमोहन श्रेष्ठको सचिवालयमा रहेर पनि काम गरेका थिए । 

प्रहरीका अनुसार कन्टेनरचालक वाइबाले गत २४ साउनमा चालक सिटनजिकैको बत्ती जडान हुने ठाउँमा ‘कन्सिल’ गरी तीन किलो सुन केरुङ नाकाबाट ल्याएका थिए । यसका लागि तस्करले उनलाई एक लाख रुपैयाँ दिने प्रलोभन दिएका थिए । काठमाडौंमा सुन ‘रिसिभ’ गर्ने टोली आउने र सुन उसैलाई जिम्मा लगाउने निर्देशन पनि तस्करले वाइबालाई दिएका थिए । सोही निर्देशनअनुसार वाइबा सुन बोकेर रसुवाको बाटो हुँदै आउँदै थिए । तर, बाटोमै पुरानो योजना अन्तै मोडिएको अनुसन्धानमा खुलेको छ ।

वाइबा सुन बाटोमै लुकाएर काठमाडौं आए । काठमाडौं आउँदा–आउँदै मनमा डर पैदा भएपछि निकट सम्बन्ध रहेका मामाका छोरा निमा छिरिङलाई घटनाको विवरण सुनाए । प्रहरीले पक्राउ गरे थुनामा पर्ने, तर सूचना दिए कमिसन आउने भएपछि निमाको मनमा जुक्ति फुर्‍यो, ‘घटनाको सूचना प्रहरीलाई दिने ।’ उनले आफ्नो योजना वाइबालाई भने । वाइबा निमाको योजनामा सहमत भए । 

निमाको सम्पर्क नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत असइसँग थियो । उनले घटनाको विवरण असइलाई भने । उनले प्राप्त सूचना आफू कार्यरत संगठनमा भनेनन् । तर, हरिहर भवनस्थित राजस्वमा कार्यरत सशस्त्रका डिएसपी बराललाई भने । डिएसपी बरालले निमालाई तत्काल भेटे । उनलाई लिएर बालाजु औद्योगिक क्षेत्रस्थित सशस्त्रको ‘क्याम्प’ गए । 

कन्टेनरचालक वाइबाले बालाजुमा सुन लिएर आउने र सुन रिसिभ गर्न बसेका टोलीलाई त्यहीँ रंगेहात पक्राउ गर्ने योजना डिएसपी बरालले निमालाई बताए । निमा सोहीअनुसार बालाजुस्थित सशस्त्रकै ‘क्याम्प’मा बसे । उता कन्टेनरचालक वाइबालाई भने चार हतियारधारीको समूहले धादिङको खानीखोलामा रोक्योे । सुन लुकाइएको ठाउँ देखाउन कन्चटमा पेस्तोल राख्यो । डराएका वाइबाले सुन देखाए । हतियारधारी समूहले सुन लुटेर लग्यो । 

डराएका वाइबा कन्टेनर चलाउँदै बालाजु आइपुगे । त्यही क्रममा उनलाई सशस्त्रको टोलीले पक्राउ गर्‍यो । त्यसअघि सशस्त्रको टोलीले निमासहित सुन बुझ्न पर्खिबसेका अन्य दुई भाइलाई पक्राउ गरिसकेको थियो । ३१ दिनको हिरासत बसाइपछि वाइबा गत २६ भदौमा छुटे । तर, तस्करले वाइबालाई गत ४ असोजमा अपहरण गरे । अपहरणकारीले उनलाई बुढानीलकण्ठस्थित शैलजा रिसोर्टमा लगेर बन्धक बनाएका थिए । २० लाख रुपैयाँको चेकमा हस्ताक्षर गरेपछि मात्रै उनी अपहरणमुक्त भएका थिए । 

अपहरणमा संलग्न रसुवा गोसाइँकुण्ड गाउँपालिका– १ का ३१ वर्षीय बुद्धिबहादुर तामाङ, गोसाइँकुण्ड गाउँपालिका– ५ का ३८ वर्षीय नुर्पसिंगी तामाङ, गोसाइँकुण्ड गाउँपालिका– ६ का ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवा कालिका गाउँपालिका– १ का ४८ वर्षीय गोपाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले अपहरणमा संलग्न चार अभियुक्तको सम्बन्ध सुन तस्करीसँग रहेको देखिने बताए ।

उनले भने, ‘अपहरणमा परेको भन्दै हामीकहाँ जाहेरी आयो । घटनाको अनुसन्धान भयो । चार अभियुक्त पक्राउ परे । सोधपुछका क्रममा घटना सुन तस्करी र लुटपाटसँग जोडिने देखियो । यस घटनामा सशस्त्रका एक डिएसपी र नेपाल प्रहरीका एक असइको नाम पनि आएको छ । घटना अनुसन्धान गर्न ‘हेडक्वार्टर’ले पहिले नै समिति गठन गरेको रहेछ । बाँकी तथ्य भने उहाँहरूलाई नै थाहा होला ।’

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब