दोस्रो विश्वयुद्धमा मच्चिएको विध्वंसमा करोडौं मानिसले आफ्नो ज्यान गुमाएका थिए । त्यसैले जब तेस्रो विश्वयुद्धको चर्चा चल्दछ, तब सबैजनालाई डर लाग्दछ । अहिलेको परमाणु हतियारको युगमा आफैंसमेत नासिने विश्व युद्धका लागि कुनै पनि देश तयार होलान् जस्तो लाग्दैन । तर, भविष्यको कुरा कसलाई के थाहा ? क्षेत्रीय युद्ध तथा तनावहरु बढ्दै जाँदा त्यसले विश्वव्यापी रुपमा नलेला भन्न सकिन्न । त्यसैले वैज्ञानिकहरुले तेस्रो युद्ध भएमा मानिसको अवस्था के होला भन्ने अनुमान पनि गर्न भ्याइसकेका छन् ।
वैज्ञानिकहरुका अनुसार तेस्रो विश्वयुद्ध भैहालेमा त्यसपछि मानिसहरु कुनै हलिउड फिल्मको सुपरहिरो जस्तै बन्नेछन् । मानिसहरुको छाला बुलेटप्रुफ हुने र मानिसमा जन्मजात नै असाधारण सीप हुने दाबी वैज्ञानिकहरुको छ ।
रोयल सोसाइटीबाट सम्मानित एक प्रतिष्ठित जीव वैज्ञानिक अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक टिम काल्सनका अनुसार परमाणु युद्धले यस्तो क्रमविकास पैदा गर्नसक्छ, जसपछि मानिसलाई चिन्नै मुस्किल पर्नेछ।
उनका अनुसार विश्वव्यापी परमाणु युद्धपछि मानिसमा आनुवांशिक परिवर्तन हुनसक्छ । यसले सुपरह्युमन पैदा गर्नसक्छ जुन अहिलेको तुलनामा बलियो, तन्दुरुस्त तथा लडाकु हुनेछ । क्रूर वातावरणबाट बँच्ने, आश्रय तयार गर्ने तथा हराएका प्रविधि र विज्ञानलाई एकसाथ जोडेर मानिसले हाइपर इन्टेलिजेन्स अर्थात् चरम बुद्दिमत्ता हासिल गर्न सक्छ । उनको दाबी छ कि मानिसको शरीरको आकार संकुचित हुनसक्छ र मानिसमा चमेरोको जस्तै उड्नका लागि पखेटा पलाउन सक्दछन् ।
द युरोपियन पत्रिकामा प्रकाशित आलेखमा उनले मानव स्वरुपमा ठूलो परिवर्तन आउनका लागि लाखौं वर्ष लाग्ने भएपनि तेस्रो विश्वयुद्ध उक्त परिवर्तनको सुरुवातको रुपमा रहन सक्ने बताउँछन् ।
उनी भन्छन् : भविष्यमा मानिस अत्यधिक बुद्धिमान बन्नका लागि विकसित हुनसक्छ र ऊसँग अविश्वसनीय शक्ति प्राप्त हुनसक्छ । मानिससँग चमेरोको जस्तै उड्ने क्षमता आउन सक्दछ ।
उनी अगाडि लेख्छन्-यो निकै दूरको कुरा हुनसक्छ । तर, के कसैले सोंचेको थियो कि आधा अर्ब वर्षअघिको एउटा सानो जेलिफिस जस्तो जीवबाटै मानिसको विकाश हुनेछ ?
क्रमविकास त्यस्तो प्रक्रिया हो जसका माध्यमबाट मानिससहित अन्य जीवहरु आनुवंशिक भिन्नता र प्राकृतिक छनोटका माध्यमबाट समयसँगै परिवर्तित हुन्छन् । जीवहरुमा यस्ता चिजको विकास हुन्छ जसबाट जिवित रहने तथा प्रजननमा सुधार गर्ने लक्षण बढ्दछन् । यद्यपि पर्यावरणीय विपत्ति, रोग तथा जलवायु परिवर्तन जस्ता घटनाहरुले क्रमविकासको दिशामा परिवर्तन ल्याउन सक्दछन् । यसले विकासको प्रक्रियामा तीव्रता ल्याउन सक्दछ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved