भारत–पाकिस्तानबीच तनाव, सीमामा गोली हानाहान

  • वैशाख १३, २०८२ | ३७८ पटक पढिएको | सीमा संदेश
alt

भारतीय सेनाले कश्मीर उपत्यकाभर व्यापक रूपमा आतंकवादीहरू ‘खोज र नष्ट अभियान’ सुरु गरेको छ । त्यसका लागि निगरानी ड्रोनहरू तैनाथ गरिएको छ । र, सैनिक संख्यालाई बढाइएको छ । यो खोज अभियानले तीन संदिग्धहरूको खोजी गरिरहेको छ । तीनमध्ये एक भारतीय नागरिक र दुई पाकिस्तानी छन् ।

शुक्रबार बिहान, कश्मीरका अधिकारीहरूले दुई संदिग्ध उग्रवादीका घर भत्काइदिएका छन् । जसमध्ये एक मंगलबारको आक्रमणमा आरोपी रहेको एक अधिकारीले बताएका छन् ।

दुई देशहरूबीच तनाव बढ्दै जाँदा, संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई संयम अपनाउन आग्रह गरेको छ । दुई देशबीचको सम्बन्ध वर्षौंपछिको सबैभन्दा निम्न स्तरमा झरेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।

भारत पाकिस्तान सीमाक्षेत्रमा बिहीबार राति गोली हानाहान भएको छ । भारतीय सेनाका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले लेखेको समाचारअनुसार बिहीबार राति पाकिस्तानी सैनिकले कश्मीरमा रहेको भारतीय चेकपोस्टमा साना हतियारबाट गोली प्रहार गरेका छन् । भारत र पाकिस्तानका सुरक्षाफौजबीच दुई देशलाई छुट्याउने नियन्त्रण रेखा (एलओसी) मा गोली हानाहान भएको अलजजिराले जनाएको छ ।

मंगलबार पहलगामनजिकैको ‘मिनी स्विट्जरल्यान्ड’ का रूपमा परिचित बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा केही विदेशीसहित २७ जनाको ज्यान गएपछि भारत–पाकिस्तानबीचको सम्बन्ध अहिले तनावपूर्ण बनेको छ । पहलगाममा भएको आतंकवादी हमलामा परेर बुटवलका सुदीप न्यौपानेको पनि ज्यान गएको थियो । घटनामा १७ जना घाइते भएका छन् । यस्तोमा दुई देशका सीमामा तैनाथ सैनिकबीच गोली हानाहान भएको समाचारले विश्वलाई नै चिन्तित बनाएको छ ।

गोली हानाहानको घटनामा भारतीय सेनाले पनि जवाफी प्रहार गरेको एपीले उल्लेख गरेको छ । तर यो घटनाबारे पाकिस्तानले भने कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । ‘म सेनाका तर्फबाट औपचारिक पुष्टि नभएसम्म कुनै टिप्पणी गर्न चाहन्नँ,’ पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता शफकत अली खानले पत्रकार सम्मेलनमा भने ।

हिन्दुस्तान टाइम्सले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता उद्धृत गर्दै भारतले चालेका कदमले दुवै छिमेकी देशबीच युद्ध हुन सक्ने खतरा उत्पन्न गराएको उल्लेख गरेको छ । भारतले इस्लामाबादमाथि ‘सीमापारि आतंकवाद’ लाई समर्थन गरेको आरोप लगाउँदै बुधबार कूटनीतिक सम्बन्ध तोडेको छ । तर पाकिस्तानले पहलगाम आक्रमणमा आफ्नो कुनै भूमिका नरहेको र उक्त आक्रमण भारतको घरेलु समस्या रहेको बताएको छ ।

सिन्धु जल सन्धि निलम्बन गर्ने भारतको निर्णयले दुई छिमेकी देशहरूले आगामी दिनमा साझा स्रोतको व्यवस्थापन कसरी गर्छन् भन्ने महत्त्वपूर्ण प्रश्न खडा गरेको छ । पाकिस्तानले पानीको प्रवाह रोक्ने वा डाइभर्ट गर्ने भारतीय प्रयासलाई ‘युद्धको कार्य’ का रूपमा मान्ने र सोहीअनुसार प्रतिकार गर्ने चेतावनी दिएको छ । यसका साथै भारतले पाकिस्तानमा रहेका आफ्ना कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको संख्या घटाउँदै भारतीयलाई पाकिस्तान जान रोक लगाएको छ भने भारतमा रहेका सबै पाकिस्तानीलाई पनि देश छोड्न आदेश दिएको छ ।

पाकिस्तानले भारतको कदमलाई ‘गैरजिम्मेवार’ भन्दै भारतीय नागरिकको भिसा रद्द गरेको छ । साथै भारतसँगको सम्पूर्ण व्यापार तेस्रो मुलुकहरूमार्फत पनि निलम्बन गर्दै भारतीय विमानहरूलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न रोक लगाएको छ । यसैबीच, इस्लामाबादले सिमला सम्झौता निलम्बन गर्न सक्ने चेतावनी दिएको छ, जुन १९७१ को भारत–पाकिस्तान युद्धपछि बंगलादेश पाकिस्तानबाट अलग भएपछि हस्ताक्षर भएको महत्त्वपूर्ण शान्ति सन्धि हो ।

यस सम्झौताअनुसार, भारत र पाकिस्तानले नियन्त्रण रेखा स्थापना गरेका छन् । जसलाई पहिले ‘युद्धविराम रेखा’ भनिन्थ्यो, यो अत्यधिक सैन्यीकृत सीमा हो जसले विवादित कश्मीरलाई दुई देशहरूबीच विभाजन गर्छ ।

आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी विद्रोही समूह लस्कर–ए–तैयबा (एलईटी) को छाया संगठन ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले लिएको छ । मुस्लिम समुदायको बाहुल्य भएको जम्मु–कश्मीर क्षेत्रमा साढे तीन दशकदेखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्षमा आक्रमणका घटनामा केही कमी आएको थियो । जम्मु–कश्मीर क्षेत्रमा साढे तीन दशकसम्म चलेको द्वन्द्वका क्रममा पनि पर्यटकमाथि यस्तो ठूलो आक्रमण विरलै भएका थिए ।

–एजेन्सीको सहयोगमा

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब