युद्धमा भारत-पाकिस्तान : : यी हुन् पछिल्ला घटनाक्रम र दाबीहरू

  • वैशाख २६, २०८२ | ३९६ पटक पढिएको | सीमा संदेश

कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलाले अन्ततः भारत र पाकिस्तानलाई युद्धमै डोर्‍याएको छ । सन् १९४७ मा विभाजनयता सन् १९६५, १९७१ र १९९१ मा युद्ध लडेका दुई देश हवाई तथा स्थल युद्धमा होमिएपछि विश्वभर चिन्ता छाएको छ ।

‘अपरेसन सिन्दूर’ घोषणा गरेको भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको थियो । उता पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको थियो ।

पाकिस्तानले बिहीबार अपराह्न उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा लक्ष्य गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतको दाबी छ । पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई निसाना बनाएको भारतले जनाएको छ ।

ती सहरमा गरिएका हमलालाई हवाई प्रतिरक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको दाबी भारतीय रक्षा मन्त्रालयले गरेको छ । लगत्तै भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ‘निष्क्रिय’ पारिदिएको भारतको दाबी छ ।

बुधबारयता २५ वटा भारतीय ड्रोन खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये ३ ड्रोन रावलपिन्डीमा खसालेको दाबी छ । पाकिस्तानका कराँचीलगायतका केही सहरमा ड्रोनका कारण क्षति पुगेका तस्बिर सार्वजनिक भएका छन् ।

पाकिस्तानले भारत प्रशासित जम्मु सहरमा बिहीबार साँझ हमला गरेको छ । समाचार एजेन्सीका अनुसार जम्मुस्थित विमानस्थलमा विस्फोट भएको छ । ‘गोलाबारी वा क्षेप्यास्त्र हमलाको आशंका गरिएको छ,’ जम्मु–कश्मीर प्रहरीका पूर्वमहानिर्देशक शेष पल वैदले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाल त्यहाँ ब्ल्याकआउट छ ।’

लगत्तै क्रिकेट शृंखला आईपीएलअन्तर्गत हिमाञ्चलको धर्मशालामा बिहीबार साँझ भइरहेको पञ्जाब र दिल्लीबीचको खेल पनि पहिलो इनिङ्सको ११ औं ओभरमा रोकिएको थियो । भारतको पञ्जाब प्रान्तको पठानकोट सहरमा पनि विस्फोट सुनिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ ।

पाकिस्तानले जम्मु–कश्मीरमा गरेको आक्रमणमा ज्यान गुमाउनेको संख्या १६ पुगेको भारतीय विदेश सचिव विक्रम मिस्रीले पुष्टि गरेका छन् । उनका अनुसार ५९ जना घाइते छन् । ‘पाकिस्तानले सर्वसाधारणमाथि आक्रमण गरेको छ, पहलगाममा २२ अप्रिलमा भएको आक्रमणमा पाकिस्तान जिम्मेवार छ भन्ने फेरि पुष्टि भएको छ,’ प्रेस ब्रिफिङमा मिस्रीले भने ।

उता, भारतीय हवाई हमलाले नीलम–झेलम बाँधमा क्षति पुगेको पाकिस्तानले जनाएको छ । भारतले भने त्यसको खण्डन गरेको छ । ‘नीलम–झेलम बाँधमा क्षति पुगेको भन्ने पाकिस्तानको दाबी सरासर झूट हो,’ विदेश सचिव मिस्रीले भने, ‘भारतले आतंकवादीका पूर्वाधारमा मात्रै हवाई आक्रमण गरेको छ ।’

नीलम–झेलम बाँध पाकिस्तान प्रशासित कश्मीरमा रहेको जलविद्युत् परियोजनाको एक हिस्सा हो । बाँधले नीलम नदीको पानीलाई झेलम नदीमा रहेको विद्युत् केन्द्रमा मोड्छ । ९ सय ६९ मेगावाट क्षमताको उक्त विद्युत् केन्द्र मुजफ्फराबादबाट ४२ किलोमिटर दक्षिणमा छ ।

भारतसँग तनाव बढेपछि पाकिस्तानको पञ्जाब प्रान्तका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । पञ्जाब सरकारले शुक्रबार र शनिबार सबै विद्यालय बन्द राख्न आदेश दिएको हो । ओ–लेभल र ए–लेभलका परीक्षा भने तोकिएकै तालिकाअनुसार जारी रहने जनाइएको छ । भारतको पञ्जाब प्रान्तमा पनि तीन दिन विद्यालय बन्द गरिएको छ ।

पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । दूतावासले वेबसाइटमा सूचना जारी गर्दै लाहोरको मुख्य विमानस्थल वरपरको क्षेत्र खाली गर्ने पाकिस्तानी अधिकारीको तयारी रहेको पनि जानकारी दिएको छ ।

 भारत र पाकिस्तानबीचको तनाव चुलिँदै जाँदा, नियन्त्रण रेखाको दुवै पक्षमा गलत सूचना र पुष्टि नभएका हल्लाहरू फैलिरहेका छन्। अलजजिरा लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा यहाँ पछिल्ला मुख्य घटनाहरूको सारांश प्रस्तुत गरिएको छ:

  • पाकिस्तानी सेनाको दाबी: पाकिस्तानले बिहीबार भारतले आक्रमणकारी ड्रोनहरू पठाएको र तिनले कम्तीमा दुई पाकिस्तानी सर्वसाधारणको ज्यान लिएको दाबी गरेको छ। पाकिस्तानी सेनाले आफ्नो आकाशमा भारतका २५ ड्रोन खसालेको पनि दाबी गरेको छ।

  • भारतको आरोप: भारतले पाकिस्तानले जम्मुस्थित अखनूर, साम्बा, कठुआ लगायत थुप्रै स्थानमा आक्रमण गरेको आरोप लगाएको छ।

  • भारतको थप दाबी: पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरका सैन्य केन्द्रहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको भारतको भनाइ छ। यी स्थानहरू दुवै देशको सिमानासँग निकट छन्।

  • पाकिस्तानी पाइलट पक्राउ ? : भारतीय मिडियाले एक पाकिस्तानी लडाकु विमानका पाइलट जैसलमेर नजिक विमानबाट इजेक्ट भएपछि भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको रिपोर्ट गरेको छ।

  • पाकिस्तानको खण्डन: पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तारडले बिहीबार जम्मु–काश्मीरमा पाकिस्तानले कुनै आक्रमण नगरेको दाबी गरेका छन्। उनले पाकिस्तानी सेनाले ‘अन्तर्राष्ट्रिय सीमा पार गरेर गोली नचलाएको’ र पाकिस्तानी पाइलट पक्राउ परेको दाबी पनि अस्वीकार गरेका छन्।

  • अमेरिकाको चिन्ता: अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भारत र पाकिस्तान दुबैका नेताहरूसँग फोन वार्ता गर्दै ‘तात्कालिक तनाव कम गर्ने आवश्यकतामा जोड’ दिएका अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टैमी ब्रूसले बताएकी छन्।

    • अमेरिकास्थित पाकिस्तानी दूतको खुलासा : अमेरिकास्थित पाकिस्तानका राजदूत रिजवान सईद शेखले भारत र पाकिस्तानबीच राष्ट्रिय सुरक्षा तहमा सम्पर्क भएको पुष्टि गरेका छन्। तर उनले हालका घटनाक्रम र दुवैतर्फबाट आइरहेका उत्तेजनात्मक अभिव्यक्तिहरूको बीचमा तत्काल तनाव कम गर्न आग्रह गरेका छन्। सीएनएनसँगको अन्तर्वार्तामा शेखले भने, ‘अब तनाव न्यूनीकरणको जिम्मेवारी भारतको काँधमा छ, तर संयमित रहने कुरामा पनि केही सीमाहरू छन्। पाकिस्तानसँग जवाफ दिने अधिकार सुरक्षित छ। हाम्रो आम जनमत सरकारमाथि प्रतिक्रिया जनाउन दवाब दिइरहेको छ।’

    • पीएसएलका बाँकी खेल युएई सार्ने निर्णय : भारतसँगको चुलिंदो तनाव र बढ्दो सुरक्षा चिन्ताका कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी आठ खेल युनाइटेड अरेब इमिरेट्स (यूएई) सार्ने निर्णय गरेको छ।

    पीसीबीका अध्यक्ष तथा पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नकवीले खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन्। ‘पीसीबीको सधैंको धारणा रहँदै आएको छ कि राजनीति र खेललाई अलग राखिनुपर्छ,’ नकवीले बताएका छन्।

  • उनले थपे, ‘तर, भारतको रङ्गशालालाई लक्षित आक्रमण जस्तो निकै गैरजिम्मेवार र खतरनाक कदमलाई ध्यानमा राख्दै पीसीबीले यो निर्णय गर्नुपरेको हो ।’ पीसीबीद्वारा जारी विज्ञप्तिमा नकवीलाई उद्धृत गर्दै उल्लेख गरिएको छ।

    • टर्कीका प्रधानमन्त्रीको प्रतिक्रियाः टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले भारत र पाकिस्तानबी चलिरहेको तनावमाथि सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिएका छन् ।

    इर्दोगानले लेखेका छन्, ‘मिसाइल आक्रमणमा धेरै निर्दोष सर्वसाधारणको मृत्यु भएको खबरले हामी चिन्तित छौं कि भारत र पाकिस्तानबीचको यो तनाव अब गम्भीर संघर्षमा परिणत हुन सक्छ।’

  • इर्दोआनले एक दिनअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग फोनमा कुराकानी गरेका थिए।
  • आईपीएल र पीएसएल प्रभावित

    भारत–पाकिस्तानबीच तनाव बढेपछि दुवै मुलुकमा भइरहेका क्रिकेट लिग प्रभावित भएका छन् । भारतको उत्तरी सहर धर्मशालामा बिहीबार साँझ पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल चल्दाचल्दै स्थगन गरिएको छ ।

    पञ्जाब किंग्सले १०.१ ओभरमा १ विकेटको क्षतिमा १२२ रन बनाएको अवस्थामा खेल रोकिएको हो । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले रंगशालामा ‘गम्भीर प्राविधिक समस्या’ भएकाले खेल रोक्नुपरेको जनाएको छ । तर, पाकिस्तानले जम्मु सहरमा आक्रमण गरेपछि विद्युत् आपूर्तिमा अवरोध र सुरक्षा चुनौतीले खेल रोकिएको अधिकारीहरूले जनाएका छन् ।

    धर्मशालामा आइतबार हुने भनिएको आईपीएलको खेल यसअघि नै गुजरातको अहमदाबाद सहरमा सारिएको छ । गुजरात क्रिकेट संघका सचिव अनिल पटेलले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार धर्मशालामा हुने भनिएको पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबीचको खेल अहमदाबादमा हुनेछ ।

    यस्तै, पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा बिहीबार साँझका लागि निर्धारित पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको खेल रद्द गरिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अधिकारीले पीएसएलका बाँकी सबै खेल कराँची, दोहा र दुबईमा सार्न सुझाव दिएका छन् । पीसीबीले बुधबार भारतीय आक्रमण र दुई मुलुकबीच बढ्दो तनावका बाबजुद पीएसएल निर्धारित योजनाअनुसार नै अगाडि बढ्ने बताएको थियो । पीएसएल मे १८ मा समाप्त हुने तालिका छ, अन्तिम खेल लाहोरमा हुने तय छ ।

    आतंकवादविरुद्धको लडाइँमा सबैलाई साथ : नेपाल

    भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाइँमा सबैको साथमा रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैसँग साथमै उभिएको जनाएको हो ।

    भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकवादी हमलापछि दुई देशबीच तनाव बढेको हो । पहलगाम घटनामा १ नेपाली नागरिकसहित २६ जनाले ज्यान गुमाएका थिए । ‘उक्त दुःखद घटना र साझा पीडामा नेपाल र भारत एक ठाउँमा उभिएका थिए,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘उक्त आततायी आतंकवादी हमलाको नेपालले तुरुन्तै स्पष्ट रूपमा भर्त्सना गरेको स्मरणीय छ । नेपालको आतंकवादविरुद्धको अडान दृढ छ ।’

    भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपालले चिन्ता व्यक्त गरेको छ । साथै, आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता नेपालले जनाएको छ । भारत र पाकिस्तानबीचको द्वन्द्व कम हुने अपेक्षा गर्दै नेपालले यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने आशा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब