पाकिस्तानले ४ सय ड्रोन प्रहार गरेको भारतको दाबी, इस्लामाबादले गर्‍यो अस्वीकार

  • वैशाख २७, २०८२ | ५१८ पटक पढिएको | सीमा संदेश

भारत र पाकिस्तानबीचको तनाव शुक्रबार पनि कायमै रह्यो । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको तनाव उत्कर्षोन्मुख छ  ।

कश्मीरमा २६ पर्यटकको ज्यान लिने गरी भएको आक्रमणको जवाफमा भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तान नियन्त्रित कश्मीर र भित्री पाकिस्तानसमेत सुरु गरेको हो । जवाफमा पाकिस्तानले पनि बिहीबार साँझ भारतका विभिन्न स्थानमा ३ सयदेखि ४ सय ड्रोन आक्रमण गरेको भारतीय सैन्य अधिकारीहरूले दाबी गरेका छन् ।

भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ पछि त्यस हमलामा महिला र बालबालिकासहित ३१ जना निर्दोष नागरिक मारिएको प्रतिक्रिया दिँदै पाकिस्तानले पनि जवाफी कारबाही गरेको बताएको छ । भारत र पाकिस्तानबीच दशकौंपछि द्वन्द्व चरमोत्कर्षमा पुगेसँगै विवादित कश्मीरका सीमामा दुवैतर्फ आक्रमणमा परी सर्वसाधारणहरू हताहत भइरहेका छन् ।

भारतीय विदेश मन्त्रालयले बिहीबार राति पाकिस्तानले ३/४ सयवटा ड्रोन आक्रमण गरेको जनाएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरैसीले बिहीबार राति भारतका विभिन्न ३६ स्थानमा पाकिस्तानले ड्रोन आक्रमण गरेको जानकारी दिएकी हुन् ।

‘लेहदेखि सरक्रिकसम्म ३६ ठाउँमा ३/४ सय ड्रोनका माध्यमबाट घूसपैठको प्रयास भयो । भारतीय सुरक्षा बलले काइनेटिक र ननकाइनेटिक उपकरण प्रयोग गरी थुप्रै ड्रोन खसाले,’ कर्नेल कुरैसीले ब्रिफिङमा भनिन् । पाकिस्तानले भने भारतीय पक्षले लगाएको आरोप खण्डन गर्दै आएको छ ।

बिहीबार राति पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले बीबीसीसँगको कुराकानीमा ड्रोन आक्रमण नगरेको दाबी गरेका थिए । ‘हामीले अहिलेसम्म केही गरेका छैनौं,’ उनले भनेका थिए, ‘जब पाकिस्तानले आक्रमण गर्नेछ, सबैलाई थाहा हुनेछ ।’ कर्नेल कुरैसीका अनुसार पाकिस्तानले टर्किएमा बनेका ड्रोनबाट आक्रमण प्रयास गरेको हो । त्यस्तै उनले सीमा क्षेत्रमा पाकिस्तानले भीषण गोलाबारी गरेको पनि बताएकी छन् । सीमापारबाट भएको आक्रमणमा केही मानवीय क्षति भएको बताए पनि त्यसको संख्याबारे भने उनले केही खुलाइनन् ।

भारत र पाकिस्तानबीचको पछिल्लो द्वन्द्वले युद्धको रूप लिन थालेसँगै त्यसलाई कम गर्न कूटनीतिक प्रयासहरू सुरु भए पनि हाललाई त्यो कम हुने संकेत देखिएको छैन । दुवै देशले पछिल्लो तनावका बीच एकअर्काको सीमापार हमला गर्नका लागि मानवरहित ड्रोनहरूको प्रयोगलाई व्यापकता दिएका छन् । बुधबारदेखि भारतले पाकिस्तानमा सुरु गरेको हमलामा मुख्य गरेर ड्रोनहरू नै प्रयोग गरेको बताएको छ । यस्तै, बिहीबार र शुक्रबार पनि भारतले ड्रोनमार्फत पाकिस्तानका रावलपिण्डी, लाहोर र कश्मीरका विभिन्न स्थानमा आक्रमण गरेको बताइएको छ ।

दुई छिमेकी राष्ट्रबीच चर्किएको युद्धका कारण दुवै देशका सीमामा बस्ने सर्वसाधारणहरू त्रसित छन् । दुवै देशका सीमा क्षेत्रमा रातको समयमा ‘ब्ल्याक आउट’ गर्ने गरिएको छ । भारत र पाकिस्तानका नियन्त्रण रेखा नजिकै कुनै समय व्यस्त रहने सहर र गाउँहरूका बजार, विद्यालय र सडकहरू अहिले सुनसान हुन थालेका छन् ।

भारतीय सेनाले पाकिस्तान माथि सुरु गरेको कारबाहीलाई थप सशक्त बनाउनका लागि आफ्ना रिजर्भ फोर्सलाई पनि तैनाथ गर्न सुरु गरेको छ ।

पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई निसाना बनाएको भारतले जनाएको छ । ती सहरमा गरिएका हमलालाई हवाई प्रतिरक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको दाबी भारतीय रक्षा मन्त्रालयले गरेको छ । लगत्तै भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ‘निष्क्रिय’ पारिदिएको भारतको दाबी छ ।

बुधबारयता २५ वटा भारतीय ड्रोन खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये ३ ड्रोन रावलपिन्डीमा खसालेको दाबी छ । पाकिस्तानका कराँचीलगायतका केही सहरमा ड्रोनका कारण क्षति पुगेका तस्बिर सार्वजनिक भएका छन् ।

पाकिस्तानले भारत प्रशासित जम्मु सहरमा बिहीबार साँझ हमला सुरू गरेसँगै क्रिकेट शृंखला आईपीएलअन्तर्गत हिमाञ्चलको धर्मशालामा बिहीबार साँझ भइरहेको पञ्जाब र दिल्लीबीचको खेल पनि पहिलो इनिङ्सको ११ औं ओभरमा रोकिएको थियो । भारतको पञ्जाब प्रान्तको पठानकोट सहरमा पनि विस्फोट सुनिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ ।

पाकिस्तानले जम्मु–कश्मीरमा गरेको आक्रमणमा ज्यान गुमाउनेको संख्या १६ पुगेको भारतीय विदेश सचिव विक्रम मिस्रीले पुष्टि गरेका छन् । उनका अनुसार ५९ जना घाइते छन् । ‘पाकिस्तानले सर्वसाधारणमाथि आक्रमण गरेको छ, पहलगाममा २२ अप्रिलमा भएको आक्रमणमा पाकिस्तान जिम्मेवार छ भन्ने फेरि पुष्टि भएको छ,’ प्रेस ब्रिफिङमा मिस्रीले भने ।

भारतसँग तनाव बढेपछि पाकिस्तानको पञ्जाब प्रान्तका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । पञ्जाब सरकारले शुक्रबार र शनिबार सबै विद्यालय बन्द राख्न आदेश दिएको हो । ओ–लेभल र ए–लेभलका परीक्षा भने तोकिएकै तालिकाअनुसार जारी रहने जनाइएको छ । भारतको पञ्जाब प्रान्तमा पनि तीन दिन विद्यालय बन्द गरिएको छ ।

पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । दूतावासले वेबसाइटमा सूचना जारी गर्दै लाहोरको मुख्य विमानस्थल वरपरको क्षेत्र खाली गर्ने पाकिस्तानी अधिकारीको तयारी रहेको पनि जानकारी दिएको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब