भारत–पाकिस्तान युद्धविराम सहमति : सीमा वारपार ड्रोन हमला र गोलाबारी जारी रहेकाले कार्यान्वयनमा चुनौती

  • वैशाख २८, २०८२ | ४८८ पटक पढिएको | सीमा संदेश
alt

पहलगाम घटनालाई लिएर बुधबार बिहानदेखि एकअर्काविरुद्ध हमलामा उत्रिएका भारत र पाकिस्तान अन्ततः युद्धविराम गर्न सहमत भएका छन् । दुवै देशका सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) बीच शनिबार भएको टेलिफोन संवादपछि युद्ध रोक्ने सहमति भएको हो ।

भारतका विदेश सचिव विक्रम मिस्रीका अनुसार दुवै देशका सैन्य अधिकारीबीच शनिबार अपराह्न नेपाली समयअनुसार ३ बजेर ५० मिनेटमा कुराकानी भएको थियो । विदेश मन्त्रालयले साँझ ६ बजे गरेको पत्रकार सम्मेलनमा सचिव मिस्रीले दुवै पक्ष शनिबार साँझ ५ बजेबाट जमिन, आकाश र समुद्र सबैतिरको गोलीबारी र सैन्य कारबाही बन्द गर्न तथा कुनै तटस्थ भूमिमा वार्ता गर्न सहमति भएको जानकारी दिएका थिए । सैन्य कारबाही रोक्ने सहमतिलाई लागू गर्न दुवै पक्षले आफू मातहतलाई निर्देशन दिइसकेको उनले बताएका थिए । मिस्रीका अनुसार भारत र पाकिस्तानका डीजीएमओबीच अर्को वार्ता सोमबार १२ बजे हुनेछ ।

भारतका विदेशमन्त्री एस जयशंकरले पनि सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएको उल्लेख गरेका थिए । पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालबाटै त्यसलाई पुष्टि गरे । ‘पाकिस्तान र भारत तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छन् । पाकिस्तानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न प्रयास गर्दै आएको छ,’ उनले ‘एक्स’ मा लेखेका छन् ।

दक्षिण एसियाका दुई आणविक मुलुक भारत र पाकिस्तानबीच युद्धविराम गराउन अमेरिकाले मध्यस्थता गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले यसबारे सामाजिक सञ्जालबाटै खुलासा गरेका थिए । युद्धविराम पहिलो घोषणा नै अमेरिकी राष्ट्रपति ट्रम्पले गरेका थिए । उनले ‘ट्रुथ सोसल’ मा लेखेका थिए, ‘अमेरिकाको रातभरिको मध्यस्थतापछि म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान तत्काल लागू हुने गरी सम्पूर्ण रूपमा युद्धविराममा सहमत भएका छन् । विवेक र बुद्धिमानी देखाएकामा दुवै देशलाई बधार्ई ।’

अमेरिकी विदेशमन्त्री रुबियोले पनि अमेरिकाको गहन कूटनीतिक प्रयासपछि भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको सोसल मिडियामा लेखेका थिए । ‘पछिल्लो ४८ घण्टामा उपराष्ट्रपति जेडी भेन्स र मैले प्रधानमन्त्री नरेन्द्र मोदी र शाहबाज सरिफ, विदेशमन्त्री (भारत) जयशंकर, सेना प्रमुख असिम मुनिर (पाकिस्तान), राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल (भारत) र असिम मलिक (पाकिस्तान) लगायत वरिष्ठ भारतीय र पाकिस्तानी अधिकारीसँग छलफल गर्‍यौं,’ एक्समा उनले लेखेका थिए, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तानका सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन् ।’

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले युद्धविरामका लागि गरेको पहलप्रति अमेरिकी राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भेन्स र विदेशमन्त्री रुबियोलाई धन्यवाद दिएका छन् । उनले ‘एक्स’ मा लेखेका छन्, ‘यसलाई पाकिस्तानले क्षेत्रीय शान्ति र स्थायित्वको हितमा स्वीकार गरेको छ ।’

भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा २२ अप्रिलमा आतंकवादी समूहले गरेको हमलामा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । त्यस घटनालगत्तै भारतले पाकिस्तानीका लागि भिसा रद्द गरेको थियो भने सिन्धु जल सन्धिलाई निलम्बन गरेको थियो । दिल्लीमा रहेका पाकिस्तानी सुरक्षातर्फका कूटनीतिक अधिकारीलाई भारत छाड्न भनिएको थियो । जवाफमा पाकिस्तानले पनि भारतीय जहाजका लागि आफ्नो हवाई रुट बन्द गरेको थियो भने भारतीय कूटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएको थियो ।

पहलगाम घटनामा जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको भारतले बुधबार बिहान १ बजेर ५ मिनेटमा पाकिस्तानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको थियो । भारतले त्यसलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको थियो । यसबाट आतंककारी मारिएको दाबी गरिरहँदा पाकिस्तानले भारतको हमलामा सर्वसाधारणको मृत्यु भएको र त्यसमा महिला एवं बालबालिका पनि परेको दाबी गरेको थियो । भारतले पाकिस्तानको सार्वभौमसत्तामाथि धावा बोलेको भन्दै पाकिस्तानले आफ्ना सेनालाई भारतविरुद्ध कारबाहीमा उत्रिन आदेश दिएको थियो । पाकिस्तानी सेनाले गोलीबारी गर्दा भारततर्फ कम्तीमा १६ जनाको मृत्यु भएको थियो । पाकिस्तानले बिहीबार साँझ भारतका विभिन्न स्थानमा करिब ४ सय ड्रोन आक्रमण गरेको तर सबैलाई निस्तेज पारिएको भारतीय सैन्य अधिकारीहरूको दाबी थियो । पाकिस्तानले भने ड्रोन आक्रमण नगरेको दाबी गरेको थियो ।

पाकिस्तानले शनिबार बिहान १ बजेर ४० मिनेटमा पञ्जाबको सैन्य अड्डामा तीव्र गतिको मिसाइल प्रहार गरेको र त्यसलाई निष्क्रिय पारिएको भारतले शनिबार बिहानको ‘प्रेस ब्रिफिङ’मा दाबी गरेको थियो । पाकिस्तानका तर्फबाट २६ स्थानमा गरिएको हवाई घुसपैठलाई निस्तेज पारिएको पनि भारतीय कर्णेल सोफिया कुरैशीले दाबी गरेकी थिइन् । पाकिस्तानका तर्फबाट गरिएको गोलीबारीबाट शनिबार जम्मु–कश्मीर प्रशासनका एक सरकारी अधिकारीको मृत्यु भएको भारतीय पक्षले पुष्टि गरेको छ ।

अर्कातिर भारतीय सेनाले पाकिस्तानको सैन्य हवाई अड्डामा हमला गरेको पाकिस्तानी सेनाले दाबी गरेको थियो । भारतका तर्फबाट तीन सैन्य हवाई अड्डामा हमला गरिएको र त्यसलाई पाकिस्तानको हवाई प्रतिरक्षा प्रणालीले खसालेको पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले बताएका थिए । पाकिस्तानले शनिबार मात्रै ‘अपरेसन बुन्यान अल–मर्सुस’ घोषणा गरेको थियो । पाकिस्तानका तर्फबाट गरिएको गोलीबारीबाट शनिबार जम्मु–कश्मीर प्रशासनका एक सरकारी अधिकारीको मृत्यु भएको भारतीय पक्षले पुष्टि गरेको छ ।

दुवै मुलुकले युद्धविराममा सहमति भएको घोषणा गरे पनि शनिबार साँझ नै भारत प्रशासित श्रीनगरमा विस्फोट सुनिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हवाई आक्रमणको भिडियो जम्मु–कश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाह नै ‘एक्स’ मा राखेका थिए । विस्फोट हुन थालेलगत्तै सीमावर्ती भारतका केही स्थानमा ‘ब्ल्याकआउट’ गरिएको थियो । शनिबार राति दुवैतर्फ ड्रोन हमला र गोलाबारी चलेको सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँदिल्लीमा विदेश सचिव मिस्रीले राति ११ बजेपछि पत्रकार सम्मेलन गर्दै केही घण्टामै सहमति उल्लंघन गरिनुलाई गम्भीरतापूर्वक लिइएको जनाएका छन् । भारतीय सुरक्षा फौजले त्यसको उपयुक्त जवाफ दिइरहेको पनि उनले उल्लेख गरेका छन् । उनले पाकिस्तानलाई स्थितिलाई गम्भीरता र जिम्मेवारीका साथ सम्बोधन गर्न पनि आग्रह गरेका छन् ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब