सिरहा प्रहरीका गोप्य अपरेशनमा धमाधम लागुऔषध कारोवारीहरु पक्राउ पर्न थालेका छन् । गोप्य रुपमा चलाएको सर्च अपरेशनपछि जिल्लाको विभिन्न स्थानबाट दिनप्रतिदिन लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन् । विगित केही महिनादेखि सिरहामा लागुऔषध कारोवारीमा दर्जनौ जना गिरफ्तार भएका छन् ।
सोही क्रममा शुक्रबार लागुऔषध कारोबार तथा प्रयोग नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय गोलबजारले पछिल्ला तीन दिनमा तीन फरक स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँच युवा र एक नाबालक रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हिरोइन, गाँजा सेवनका उपकरण, धारिलो हतियारसमेत फेला परेको छ। गोलबजार नगरपालिका–४ स्थित क्याम्पस चौक नजिकै शंकास्पद रूपमा हिँडिरहेका अर्नमा गाउँपालिका–३ निवासी २० वर्षीय राकेश कुमार महतोको शरीर खानतलासी गर्दा दाहिने हातमा दुई साना प्लास्टिकका पोकामा ४४० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही ठाउँमा रहेको एक घरमा गोप्य सूचनाका आधारमा छापा मार्दा थप तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा अर्नमा गाउँपालिका–३ का अभिषेक कुमार महतो ९२००, धनगढीमाई नगरपालिका–८ का सन्तोष कुमार महतो ९२२० र औरही गाउँपालिका–१ का प्रदीप कुमार यादव ९१८० रहेका छन्। उनीहरूको कोठाबाट दुई पोका खैरो हिरोइन ९०।९७० मिलिग्राम०, धारिलो चक्कु तथा वाटर गञ्ज समेत फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, गोलबजार–५ स्थित डम्बर बहादुर मगरको खेतमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले २२ वर्षीय दिपेन कुमार साह र एक नाबालकलाई पक्राउ गरेको हो।
दिपेनको साथबाट १ ग्राम ८६० मिलिग्राम लागुऔषध बरामद गरिएको छ। पक्राउ परेकाले उक्त लागुऔषध बिमल कुमार महतोबाट बिक्रीका लागि पाएको स्वीकार गरेपछि बिमलको घरमा गरिएको खानतलासीमा जुत्ता–चप्पल राख्ने दराजमा लुकाइएको तीन पोका ९४०० मिलिग्राम० लागुऔषध फेला पारिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गोलबजारले लागुऔषधमा संलग्नहरूलाई नियन्त्रणमा लिन गस्ती, निगरानी र छापा अभियानलाई अझ तीव्र बनाइएको जनाएको छ। पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved