१६ दिने सुत्केरी हत्या प्रकरण : भात र पैसाको निहुँमा देवरले च्यापे मुख, लुटे गहना

  • असार ८, २०८२ | ४७३ पटक पढिएको | सीमा संदेश
alt

कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा एउटा सानो कच्ची घर छ। त्यही घरमा १९ वर्षीया तुलसी नाथले आजभन्दा १९ दिनअघि मात्रै एउटा शिशुलाई जन्म दिएकी थिइन्। घरमा खुसी छाएको थियो, तर त्यो खुसी लामो समय टिक्न सकेन। 

३ दिनअघि बिहानै तुलसी घरनजिकैको नालीमा मृत फेला परिन्। उनको मृत्यु सुरुमा रहस्यमय देखिए पनि प्रहरी अनुसन्धानले एउटा डरलाग्दो पारिवारिक अपराधको पर्दा उठाएको छ। आफ्नै २० वर्षीय देवर नवीन नाथ हत्याराको रूपमा पक्राउ परेका छन्।

घटना भएको दिन बिहान सामान्य नै थियो। तुलसी आफ्नो १६ दिने शिशुलाई खोप लगाउन स्वास्थ्य चौकी लगिन्। घर फर्किँदा दिउँसो भइसकेको थियो। सबैले खाना खाइसकेका थिए। आफ्नो लागि भाग लगाएको भात थोरै देखेपछि उनले सामान्य गुनासो गरिन्, ‘मलाई भात कम राख्यौ।’ यही सानो कुराले घरमा हल्का मनमुटावको जस्तो भयो।

साँझ देवर नवीनले नै खाना पकाए। कटहरको तरकारी र भात तयार भयो। भाउजू तुलसी, नन्द हेमा र देवर नवीनले सँगै बसेर खाना खाए। तर, नवीनकी श्रीमती तुलसीकी (देउरानी)ले बिरामी भएको बहानामा खाना खाइनन्।

खाना खाइसकेपछि, करिब साढे सात बजेतिर, नवीनले बिरामी श्रीमतीलाई धामी झाँक्रीकहाँ लगे। पौने नौ बजेतिर उनीहरू घर फर्के। घर फर्केपछि सबै आ–आफ्नो कोठातिर लागे। सुत्केरी भएकोले तुलसी आफ्नो शिशुसँग एउटा कोठामा एक्लै सुत्थिन् भने देवर नवीन, उनकी श्रीमती र नन्द अर्को कोठामा सुत्थे।

भोलिपल्ट बिहानै नन्द हेमा मर्निङ स्कुल जानका लागि उठिन्। घरको सानो बाँसको गेटबाट बाहिर निस्किँदा उनले जे देखिन्। त्यसले उनको होस उडायो। घरसँगै जोडिएको नालीमा भाउजू तुलसीको शव घोप्टो परेको अवस्थामा थियो।

उनले तुरुन्तै दाजु नवीनलाई खबर गरिन्। होहल्ला भयो। उनीहरूले तुलसीको शवलाई नालीबाट निकालेर घरको अगाडी राखे र प्रहरीलाई खबर गरे।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दको टोली घटनास्थल पुग्दा शव बार्दलीमा सारिएको थियो। पहिलो नजरमा मृत्युको कारण स्पष्ट थिएन। तर, जब परिवारका सदस्यले तुलसीले लगाएका गरगहना हराएको बताए घटनाले नयाँ मोड लियो।

तुलसीले कानमा ८ वटा सुनका रिङ र खुट्टाको औँलामा चाँदीको औँठी लगाउने गर्थिन्। जुन उनको शवसँग थिएन। प्रहरीले पुराना तस्बिर र टिकटक भिडियो हेर्दा पनि उनले गहना लगाएको पुष्टि भयो। ‘यदि बाहिरी मान्छेले लुटेको भए कानमा चोटपटक हुन्थ्यो, तर त्यस्तो केही थिएन। गहना निकै चलाखीपूर्वक निकालिएको देखिन्थ्यो,’ डीएसपी चन्दले भने।

प्रहरीले आत्महत्या, सर्पले टोकेको वा अन्य कुनै कोणबाट पनि अनुसन्धान गर्‍यो, तर कुनै प्रमाण भेटिएन। शरीरमा चोटपटक छैन, तर सुन हराएको छ। यो रहस्यले प्रहरीलाई घरभित्रै शंका गर्न बाध्य बनायो।

नवीन र उनका दाजु (तुलसीका श्रीमान्) पहिले भारतमा सँगै काम गर्थे। दाजुले कमाएको पैसा सिधै श्रीमती तुलसीको खातामा पठाउँथे। घरको आर्थिक व्यवहार तुलसीले नै हेर्ने गर्थिन्। नवीनलाई पैसा चाहियो भने भाउजुसँग माग्नुपथ्र्यो। यही कारण उनी भाउजुसँग असन्तुष्ट थिए।

‘भाउजुले आफन्तसँग मेरो बारेमा कुरा लगाउँथिन्। केही काम गर्दैन, हामीले नै पाल्नुपर्छ’ भन्थिन्। यसले मेरो इज्जतमा धक्का लाग्थ्यो,’ नवीनले प्रहरीसमक्ष बयान दिएका छन्।

घटनाको दिन भात कम भएको निहुँमा भएको विवाद र पैसाको अभावले उनको मनमा रिसको आगो सल्काएको थियो। नवीनका बुवाआमा जो अछामबाट घटनापछि कैलाली आइपुगेका छन्।

‘मान्छे त गइहाली, तर सुन कहाँ गयो ? सुन भेटिनुपर्छ,’ भन्दै बुवालाई छोरा नवीनसँग सोधपुछ गर्न लगाइयो।

बुवाको दबाबपछि नवीनले लुकाएर राखेको सुन निकालेर दिए। घरबाहिर गिट्टी थुपारेको ठाउँमा लुकाइएको सुन भेटिएपछि नै हत्याको सबै रहस्य खुल्यो।

नवीनले प्रहरीसमक्ष सबै अपराध स्वीकारे। उनका अनुसार राति सबै सुतिसकेपछि उनी भाउजू सुतेको कोठामा गए। टिनको छानो भएको घरमा पंखा चल्दा आवाज आउँथ्यो। त्यही आवाजको फाइदा उठाउँदै उनले निदाइरहेकी भाउजूको मुख च्यापेर हत्या गरे।

त्यसपछि उनले भाउजुले लगाएका सुनका रिङ र खुट्टाको औँठी निकाले। शवलाई बच्चा बोके जसरी बोकेर बाहिर लगे र नालीमा फालिदिए।

‘घटनामा अन्य कसैको संलग्नता छ कि छैन भन्ने विषयमा पनि थप अनुसन्धान भइरहेको छ,’ डीएसपी चन्दले भने। ’प्रारम्भिक अनुसन्धानमा देवरको एक्लैको संलग्नता देखिएको छ। तुलसीको शवको पोस्टमार्टम हुन बाँकी छ। घरायसी मनमुटावक कारण १६ दिनको नाबालक शिशुले आमा गुमाए।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब