हत्या गरी लुटपाट गर्ने गिरोह पक्राउ, पोल खुल्ने डरले हत्या गरेको बयान

  • साउन २०, २०८२ | ६६६ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी सुरुङ्गा नगरपालिका-८ मलहनमा करिब दुई महिनाअघि भएको हत्या र डाँका घटनाका ९ संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ ।

करिब दुई महिनाको लामो अनुसन्धानपछि सप्तरी प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । मलहनटोलका घरधनी ५० वर्षीय कन्तलाल चौधरीको हत्यापछि लुटपाट गरेर फरार भएको डाँका समूह दुई महिनापछि पक्राउ परेको छ ।

पक्राउ पर्नेहरूमा सुरुङ्गा-८ कै २७ वर्षीय राजेशकुमार मरिक, सोही ठाउँका २८ वर्षीय सञ्जय मरिक, बोदेबर्साइन नगरपालिका-२ का २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका-११ का ३४ वर्षीय हरिकिसनु मरिक, शम्भुनाथ नगरपालिका-८ का २४ वर्षीय दीपक मरिक, उदयपुरको बेलका नगरपालिका-१ का २८ वर्षीय चन्दर मरिक, सुरुङ्गा नगरपालिका-७ का ३३ वर्षीय राजकुमार विक, लहान नगरपालिका-६ का ५२ वर्षीय महेन्द्र गोड्से र लहान-८ का ३८ वर्षीय उमेश साह सोनार छन् ।

यो समूहले कन्तलालको हत्या गर्दै २३ जेठ राति १ बजेतिर लुटपाट गरेको थियो । उनको घरबाट सुनचाँदीका गरगहना लुटिएको थियो ।

डाँका गर्न आएपछि कन्तलालले थाहा पाएका थिए । त्यसपछि धारिलो हतियार प्रहार गरी घाइते बनाएर गोली हानी उनको हत्या गरिएको थियो ।

दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आएका थिए । उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेको थियो ।

त्यसपछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र नगदसमेत लुटपाट गरी फरार भएको थियो ।

डाँका समूहले आक्रमण गरेको जानकारी प्रहरी चौकी धातीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा एक टोली घटनास्थल पुगेको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको कमान्डमा ९ जनाको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । तर लामो समयसम्म हत्यारा र लुटेरा पहिचान भएको थिएन ।

लामो अनुसन्धानपछि सबुदसहित ९ जनालाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता तथा डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।

त्यतिबेला घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउन्ड गोलीको खोकासमेत फेला पारेको थियो ।

पोल खुल्ने डरले हत्या

कन्तलालको हत्या पोल खुल्ने डरले लुटेरा समूहले गरेको पाइएको डीएसपी बस्नेतले बताए । उनका अनुसार मृतक कन्तलाल र डकैती गर्न आएका केही व्यक्ति भने वरपरका चिनजानकै मान्छे थिए ।

नकावसहित डाँका गर्न आएको समूहलाई कन्तलालले चिनेको र यसबारे प्रहरीलाई खबर गरिदिने समेत बताएको प्रहरी अधिकारी बताउँछन् । यो सबै कुरा उनकी श्रीमतीले पनि सुनेपछि डाँका समूहले कन्तलालको हत्या गरेको डीएसपी बस्नेतको भनाइ छ ।

‘चिनेकै समूह डाँका गर्न गएको रहेछ । घरधनीले चिनेपछि पोल खुल्ने डरले हत्या भएको देखिन्छ,’ बस्नेतले भने।

पक्राउ गरेर छाडिएका व्यक्ति नै अभियुक्त

यो घटनामा प्रहरीले यसअघि पक्राउ गरेर छाडेका व्यक्ति नै अभियुक्त रहेको पाइएको छ । प्रहरीले यसअघि राजेशकुमार मरिकलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर उनी छाडिए । अहिले भने उनै मरिकसहित ९ जना पक्राउ परेका छन् ।

‘त्यतिबेला केही शंका लागेर सोधपुछका लागि पक्राउ गरेका थियौं । तर हामीसँग प्रमाण केही थिएन । त्यसपछि उनलाई छाड्यौं । अहिले भने उनी स्वयं घटनामा संलग्न रहेको पाइएपछि पक्राउ गरेका छौं,’ डीएसपी बस्नेतले अनलाइनखबरसँग भने ।

हत्यापछि यो समूह प्रहरीले थाहा पाउला भनेर झनै कतै नभागी घरमै बसेको पाइएको छ । राजेश कुमार पनि घरमै थिए । अन्य व्यक्ति अहिले सप्तरीमै रहेको अवस्थामा पक्राउ परेका हुन् ।

अनि खुल्यो पोल…

हत्या र डाँकाको अनुसन्धानमा खटिएको प्रहरीले एउटा सूचना पायो- सुरुङ्गाको पोखरिया बसनपट्टी बस्ने राजुकुमार विश्वकर्माले डाँका तथा चोरीका सरसामानहरू किनेर बेच्ने काम गर्छन् । त्यसपछि उनीमाथि प्रहरीले विशेष निगरानी बढाएको थियो ।

१६ साउन दिउँसो प्रहरीले सोधपुछका लागि भन्दै राजुकुमारलाई नियन्त्रणमा लियो । उनको घर-कोठा खानतलासी गर्दा प्रहरीले पूर्वसूचना पाएजस्तै सुन चाँदीका गरगहना, भारतीय र नेपाली नोटहरू फेला परे ।

पक्राउ परेकाहरूको साथबाट बरामद गरिएको कटुवा र गोली।

यस विषयमा थप सोधपुछ गर्दै अनुसन्धान गर्ने क्रममा डाँका र हत्या घटनामा संलग्नहरूको पहिचान हुन सफल भएको एक अनुसन्धान अधिकृतले बताए ।

विश्वकर्माले यी गरगहना अहिले पक्राउ परेका व्यक्तिहरूबाट खरिद गरेको बयान दिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

राजुकुमारको कोठाबाट बरामद भएका गरगहनाहरू कन्तलालकी श्रीमती लराइन देवी र छोरा नन्द किशोरले आफूहरूको हो भन्दै सनाखत गरेपछि प्रहरी झनै ढुक्क भएको थियो ।

आफूले लिएका गरगहनामध्ये केही भने लहानमा रहेको महेन्द्र गोड्सेले सञ्चालन गरको ऋधा सुनचाँदी पसलमा लगेर गलाउन दिएको बताएका थिए । त्यसपछि प्रहरीले गोड्सेलाई पनि पक्राउ गरेको हो ।

यसरी गलाइसकेपछि उक्त सामान लहानमै उमेश साह सोनारले सञ्चालन गरेको ओम ज्वेलर्समा लगेर बेचेको पाएपछि उमेश साहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

डाँका गरेर लगिएका गरगहनासहित प्रहरीले यो समूहबाट कटुवा पेस्तोल, गोली २ राउन्ड र खुकुरीसमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानका साँथै डाँकाको कसुरमा पनि अनुसन्धान अघि बढाइएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब