हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ–१, इन्द्रुङमा राम्रोसँग बोल्न नसक्ने पिछडिएको एक चेपाङ दम्पतीमाथि चरम अत्याचार भएको छ । जंगलनजिक एकान्तमा रहेको सानो छाप्रोमा खुशी र भविष्य खोजिरहेको दम्पतीमाथि अत्याचार भएको समाचार ढिलोगरी बाहिर आएको हो ।
भदौ २६ गते राति यस्तो घटना भएको खबर आएको राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहले बताए । उनले भने, ‘भोलिपल्ट खबर आएपछि जाहेर गरेका थियौँ, जेन्जी आन्दोलनका कारण तत्काल गाउँमा जाने अवस्था नबन्दा आइतबार मात्रै वडा नम्बर १ मा पुगेर आरोपीलाई समातेकाे उनले बताए ।
मकवानपुर १ का दम्पती नै राम्रो बोल्न पनि सक्दैनन् । उनीहरुको आफ्नै घर पनि छैन । काम पनि नपाएपछि पत्नी र उनी भोकै रहेको खबरपछि भदौ ३ गते राक्सिराङ गाउँपालिकाले केही मद्त गरेको थियो ।
मल्लले विषम परिस्थितिका कारण प्रहरी गाउँ जान नसक्दा घटनाका आरोपी गाउँमा बसिरहेको खबर आएपछि वडाध्यक्षमार्फत जानकारी लिएको र जिल्ला प्रहरीमा भनेर अभियुक्त समात्न प्रहरी पठाइएको बताए ।
‘डाँडा वारि–पारीकै अभियुक्तले यो कुकर्म गरेको भनेर खबर आएको छ, ४२ वर्षीय अन्तरे थिङले नै बलात्कार गरेको भनिएकाले नियन्त्रणमा लिन प्रहरी परिचालन भएको छ,’ राक्सिराङ प्रहरी चौकीका इन्चार्ज सिंहले भने, ‘रुखमा बाँधेर पत्नीमाथि कुकर्म गरिरहँदा अभियुक्तले उल्टै मकवानपुर १ लाई कोही आएको छ कि छैन हेर भनेर काम अह्राएको मकवानपुर १ ले वडाध्यक्षसँग भनेका रहेछन् ।’
आरोपी पक्राउ
बलात्कार आरोपी पक्राउ परेका छन् । राक्सिराङ प्रहरी चौकीले स्थानीय ४२ वर्षीय अन्तरे थिङलाई पक्राउ गरेको हो । उनलाई आइतबार साँझ नै मनहरी इलाका प्रहरी कार्यालय पठाइएको राक्सिराङ चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सिंहले बताए ।
‘पीडित चेपाङ परिवारले उनीबाटै यो कुकर्म भएका बताएपछि १ नम्बर वडा कार्यालयको संयोजनमा उनलाई पक्रेर मनहरी इलाकामा पठाएका छौँ,’ सिंहले भने, ‘घटनामा अरु पनि संलग्न छन् कि भन्ने देखिएको छ, अनुसन्धानबाट खुल्नेछ ।’
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि उनलाई हेटौँडा ल्याएर प्रहरी अनुसन्धान गरेपछि अरुको संलग्नता भए नभएको खुल्ने बताए । उनले आन्दोलनका मौका पारेर गाउँमा प्रहरी जान नसक्ने अवस्थामा भएको घटनामा संलग्न भाग्न नभ्याएको बताए ।
मुख्यमन्त्रीले घर बनाइदिँदै थिए
परिवारमा सन्तान लाभ र स्थानीय सरकारको केही राहतले खुशी हुन खोजेका मकवानपुर १ माथि प्रदेश सरकारको पनि नजर पुगेको थियो । खोरियाको डिलमा फरियाको छानो भएको छाप्रोमा जीवन बिताइरहेका मकवानपुर १ को घर बन्ने तयारी थियो ।
भदौ ११ गते बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले दशैँअघि नै व्यक्तिगत रुपमै घर बनाइदिने प्रतिवद्धता जनाएपछि मकवानपुर १ को जिन्दगीमा उज्यालो छाउने कल्पना थियो । मुख्यमन्त्री बानियाँले आफ्नै तलब भत्ताकै रकमबाट घर बनाइदिने बताएपछि आफ्नो पालिकाका नागरिकले केही राहत पाउने महसुस गरेका अध्यक्ष राजकुमार मल्लले भने, ‘समाजमा अराजकता बढ्यो, जघन्य अपराध भयो, एउटा परिवारमाथि परेको वज्रपात महसुस मात्र गर्न सकिन्छ ।’
मुख्यमन्त्री बानियाँले दुई कोठा, एउटा भान्सासहित शौचालय र बाथरुम सहितको घर दशैँअघि नै निर्माण गर्न निर्देशन दिएका थिए । यस्ता विपन्न, राम्ररी बोल्न नसक्ने परिवारमाथि वज्रपात परेको खबरले अहिले सिंगो राक्सिराङ मर्माहत भएको छ ।
(पीडितकाे गाेपनियताकाे लागि नाम परिवर्तन गरिएकाे )
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved